१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

युक्रेन युद्धपछि बनेको शक्तिराष्ट्रका गुट गाजा आक्रमणमा थप बलियो बन्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o२:oo

हमासविरुद्धको इजरायली युद्धले युक्रेनमाथि रुसको आक्रमणले निर्माण गरेको अन्तर्राष्ट्रिय विभाजनलाई थप गहिरो बनाइदिएको छ । युक्रेनमा जारी युद्ध ८८औँ हप्तामा चलिरहँदा यस युद्धका पक्ष र विपक्षी मुलुकले तिनको गुटलाई थप सबल बनाउने प्रयास जारी राखेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमाससँग तुलना गर्ने प्रयास गरेर अमेरिका नेतृत्वको पश्चिमी गुटलाई युक्रेनयुद्ध र इजरायल–हमास युद्धमा एकसाथ उभ्याउने प्रयास गरे । अक्टोबर १८ मा इजरायल भ्रमणका क्रममा उनले हमास र पुटिनबीच उलेख्य समानता भएको दाबी नै गरे । 

‘हमास र पुटिनले भिन्न खालको खतराको प्रतिनिधित्व गर्छन्, तथापि उनीहरूबीच एउटा समानता छ– उनीहरू दुवै छिमेकी लोकततान्त्रिक मुलुकलाई पूर्ण रूपमा नष्ट गर्न चाहन्छन्,’ बाइडेनले ह्वाइट हाउसस्थित ओभल अफिसबाट गरेको प्राइमटाइम सम्बोधनमा भने । त्यस सम्बोधनलाई झन्डै दुई करोड मानिसले अवलोकन गरेका छन् । वासिंटनको युरोपेली सहयोगी मुलुकका नेतामध्ये धेरैले इजरायलप्रति ऐक्यबद्धता देखाउन इजरायलको भ्रमण गरे । यस भ्रमणले ती मुलुक युक्रेनका अतिरिक्त इजरायल–गाजा युद्धमा पनि वासिंटनकै अडानका साथमा रहेको थप प्रस्ट्यायो । 

बाइडेनले युक्रेनका अतिरिक्त अब इजरायललाई पनि उसले लडिरहेको युद्धमा सघाउने हेतुले आर्थिक सहयोग दिलाउने प्रयास सुरु गरेका छन् । उनले गत साता अमेरिकी कंग्रेसमा एक विधेयक पेस गरेर इजरायल र युक्रेनका लागि कुल १०५ अर्ब डलरको सहायता माग गरेका छन् । उनले यो सहायता रकमले ‘पुस्तौँपुस्ताका अमेरिकीका लागि सुरक्षा दिने स्मार्ट लगानीको काम गर्ने’ दाबी गरे । बाइडेनको उल्लिखित प्रस्तावलाई औँल्याउँदै रुसी विदेश मन्त्रालयकी प्रवक्ता मरिया जाखारोभाले समाजिक सञ्जाल टेलिग्राममा लेखिन्, ‘तिनले युक्रेन युद्धलाई ‘स्वतन्त्रता र लोकतन्त्रका लागि संघर्ष भन्ने गर्थे । तर, अहिले त्यो दाउपेच मात्र साबित भएको छ ।’

रुसको कूटनीतिमा तीव्रता
उता इजरायलको गाजामाथिको बमबारीका बीच चीन र रुस थप नजिकिएका छन् । तिनले मध्यपूर्वको समस्या समाधान हेतु चालिने प्रयासमा ‘निकट समन्वयमा’ केन्द्रित हुने बताएका छन् । रुसका उपविदेशमन्त्री मिखाइल बोगदानोभले अक्टोबर २० मा मध्यपूर्वका लागि चीनका विशेष दूत झाई जुनसँग दोहामा भेट गरे । इजरायलको कट्टर विरोधी समूह हेजबुल्लालाई सघाइरहेको इरानसँग पनि रुसले सम्बन्ध प्रगाढ बनाउने प्रयास गरिरहेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभारोभले अक्टोबर २४ मा इरान पुगेर त्यहाँका राष्ट्रपति इब्राहिम रैसीसँग भेट गरे । भेटमा दुईजनाले ‘बहुपक्षीय’ साझोदारीलाई ‘थप विकास’ गर्ने समझदारी भएको मंगलबार रुसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । 

इरानले युक्रेनयुद्धमा रुसलाई साहिद ड्रोन सहयोग गरेर महत्वपूर्ण सहयोग गरेको छ । लक्ष्यमा गएर विस्फोट हुने यी ड्रोन अहिले रुसले देशभित्रै बनाउन सुरु गरेको छ । रुसी समाचार स्रोतका अनुसार रुसले अक्टोबर २३ मा नयाँ खालको इरानी ड्रोन ‘इतल्मास’ प्रयोगमा ल्याउनेछ । इतल्मासले थप परसम्मको उडान भर्न सक्ने र तिनलाई पहिचान गर्न कठिन हुने ती समाचारमा दाबी गरिएको छ । 

पश्चिमको युक्रेनलाई थप शक्तिशाली हतियार सहयोग 
कूटनीति, सैन्य प्रविधि र धन एक–अर्कासँग बलियो गरी जोडिएका हुन्छन् । युक्रेन रुससँग लड्न पश्चिममाथि अत्यधिक निर्भर छ । ‘काउन्सिल अन फरेन रिलेसन’ नामक थिंक ट्यांकका अनुसार गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएदेखि यो वर्षको जुलाई ३१ सम्म अमेरिकाले युक्रेनलाई ७७ अर्ब डलरको सहयोग दिइसकेको छ । बाइडेनले कंग्रेसबाट थप ६० अर्ब डलरको सहयोग निकासा गर्न चाहेका छन् । उता युरोपेली संघले यो युद्ध सुरु भएदेखि हालसम्म ८६.७ अर्ब डलर खर्च गरिसक्यो । 

पश्चिमले युक्रेनलाई दिएको सहयोगमा अत्याधुनिक सैन्य सामग्रीसमेत सामेल छन् । ती हतियारले युक्रेनले युद्धमैदानमा रुसलाई रोक्न महत्वपूर्ण भूमिका निभाइरहेका छन् । पश्चिमी अत्याधुनिक शस्त्रको बलमा युक्रेनी फौजले केही स्थानमा रुसी फौजलाई माथसमेत दिएका छन् । जस्तो– यही महिना युक्रेनले अमेरिकी अत्याधुनिक अस्त्र ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम(एटाक्मस)’ प्रयोगमा ल्यायो । एटाक्मसमार्फत युक्रेनले लुहान्स्क सहरमा पाँच रुसी हेलिकोप्टर खसाल्यो भने नियन्त्रित बरडियान्स्क सहरमा रहेको रुसी हवाई अड्डामा पनि क्षति पुर्‍याउन सफल भयो । पुटिनले यस्ता अत्याधुनिक हतियारले ‘युद्धका पीडालाई लम्ब्याउने काम मात्र’ गर्ने टिप्प्णी गरेका छन् । 

उता युद्ध लम्बिएसँगै पुटिनका वित्तीय कठिनाइ बढ्न थालेका छन् । सोमबार ब्रिटिस सैन्य गुप्चतर संस्थाले सार्वजनिक गरेको एक तथ्यांकअनुसार रुसले आगामी वर्षको रक्षाखर्च ६८ प्रतिशतले बढाएर ८२ अर्ब डलर पुर्‍याउँदै छ । सो रकम रुसको कुल ग्रर्हस्थ उत्पादन(जिडिपी)को ६ प्रतिशत हो । यस वृद्धिमा युद्धमा घाइते रुसी सेनाको उच्च चिकित्सा खर्चको पनि योगदान रहेको आशंका छ । गत साता, इस्टोनियाको सैन्य गुप्तचर प्रमुखले रुसी अस्त्र भण्डार खस्किएकाले आगामी वर्ष युद्धमा ‘न्यून तीव्रता’ आएको बताएका छन् । रुसले अहिले प्रतिदिन १० हजारदेखि १६ हजार सेल प्रहार गरिरहेको छ, जबकि गत वर्ष यो संख्या औसतमा २५ हजारदेखि ८० हजारबीचमा रहेको गुप्तचर प्रमुख यान्ट्स किभिसेल्गले भने । 

युरोपेली संघका सदस्य राष्ट्रमध्ये हालसम्म हंगेरीले मात्र रुसको साथ दिएको छ । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान यही महिना चीनमा आयोजना भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ(बिआरआई)’को १०औँ वार्षिकोत्सव मनाउन बेइजिङ पुगेका थिए । त्यस भ्रमणका क्रममा उनले बेइजिङमै रहेका रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरे ।

भेटमा उनले रुस र हंगेरीबीचको सम्बन्ध थप घनिष्ठ बनाउने प्रण गरे । देश फर्किएपछि ओर्बानले युरोपेली संघलाई सोभियत अतिक्रमणसँग तुलना गर्दै ब्रसेल्सको ‘उदार लोकतन्त्र’को मोडेल हंगेरीको लागि उपयुक्त नहुने बताए । युक्रेनमा रुसी आक्रमणपछि रुसी तेलको आयात परित्याग गर्न सबैभन्दा अनिच्छुक युरोपेली मुलुक पनि हंगेरी नै थियो । 
अल जजिराका लागि जोन प्सारोपोलस
 

ad
ad