Skip This
यसरी बनाउन सकिन्छ सी–बाइडेन वार्ता अर्थपूर्ण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Saturday, 27 July, 2024
स्टेफेन एस रोच
२o८o कार्तिक १४ मंगलबार ११:१३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यसरी बनाउन सकिन्छ सी–बाइडेन वार्ता अर्थपूर्ण

Read Time : > 2 मिनेट
स्टेफेन एस रोच
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार ११:१३:oo

आगामी ११ देखि १७ नोभेम्बरसम्म सान फ्रान्सिस्कोमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) नेतृत्वको बैठकमा सबैको ध्यान केन्द्रित छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेट हुने सम्भावना भएकाले पनि बैठकमा सबैको ध्यान विशेष रूपमा केन्द्रित छ । यसअघि दुवै राष्ट्रपतिको गत वर्ष इन्डोनेसियाको बालीमा सम्पन्न वार्षिक जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा भेट भएको थियो ।

राष्ट्रपतिद्वयको बाली भेटघाटले अमेरिका–चीनबीचको खस्कँदो सम्बन्धलाई स्थिरता दिन ‘भुइँ’को सिर्जना गरे पनि स्थिरताले भने भुइँ टेक्न भने सकेन । सम्मेलनपछि अमेरिकाले जासुसीको आरोप लगाउँदै चिनियाँ बेलुन खसाल्यो र कूटनीतिक गतिरोध निम्तियो । नतिजा चिनियाँ प्रविधिमा प्रतिबन्ध लाग्यो र झन्डै–झन्डै सैन्य तनावको अवस्था सिर्जना भयो । अमेरिकी कांग्रेसले ताइवानमा निकै जोड दियो र प्रतिक्रियास्वरूप सीले अमेरिकालाई व्यापक नियन्त्रण गर्न खोजेको आरोप लगाए । 

बाइडेन–सीको आगामी भेटको ठूलो महत्व छ । गत वर्षको वार्ता खासै सफल नदेखिए पनि यो वर्ष सान फ्रान्सिस्कोको एपेक सम्मेलनमा दुई नेताबीचको वार्ता सफल हुने देखिन्छ । तनावपूर्ण अमेरिका–चीन सम्बन्ध र विश्वव्यापी युद्धको अराजकताबीच तीन प्रमुख लक्ष्यले सम्भावित वार्तालाई मार्गदर्शन गर्नुपर्छ ।

पहिलो मार्गनिर्देशन भने मूर्त परिणाम हुनुपर्छ । संलग्नताबाट जोगिन र विगतलाई द्वन्द्वको कारण मान्ने अमेरिकी झुकावका बाबजुद रचनात्मक संवादका लागि साझा आधार स्थापना गर्नु महत्वपूर्ण छ । ‘भुइँ’ वा ‘जोखिम निवारण’जस्ता नाराको साटो हासिल गर्न सकिने उद्देश्यमा केन्द्रित हुनुपर्छ । चेंग्दु र ह्युस्टनका बन्द वाणिज्य दूतावास पुनः खोल्ने, भिसा प्रतिबन्ध खुकुलो पार्ने, हवाई यात्रा विस्तार गर्ने र ‘फुलब्राइट’जस्ता शैक्षिक आदानप्रदानलाई पुनरुत्थान गर्ने काम केही उद्देश्य हुन सक्छन् ।

यदि राष्ट्रपतिद्वयले साँच्चै पुनर्संलग्नता चाहेका हुन् भने जनताबीचको सम्बन्ध विस्तार गर्नुपर्छ । र, यसले राजनीतिक तनाव कम गर्न सक्छ । एनजिओमा लागेका प्रतिबन्ध सहज बनाउने वा ‘फेन्टेनिल’ संकटलाई संयुक्त रूपमा सम्बोधन गर्नेजस्ता सरल मुद्दाबाट सुरु गरेर बाइडेन र सीले थप चुनौतीपूर्ण विषयमा छलफलका लागि मार्ग प्रशस्त गर्न सक्छन् ।

राष्ट्रपतिद्वय बाइडेन र सीले साँच्चै पुनर्संलग्नता चाहेका हुन् भने जनताबीचको सम्बन्ध विस्तारमा जोड दिनुपर्छ 

अगस्ट २०२२ को न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले बन्द गरेको नियमित सैन्य सञ्चारलाई सुचारु गर्नु तात्कालिक एवं महत्वपूर्ण प्राथमिकता हो । फेबु्रअरीमा भएको बेलुन घटना र ताइवान स्ट्रेट र साउथ चाइना सीमा युद्धपोत र लडाकु विमानबीच झन्डै भएका मुठभेडले सैन्य सम्पर्कको अनुपस्थितिलाई स्पष्ट गरेको थियो । बढ्दो तनाव र अनुत्तरदायी सैन्य सञ्चारका कारण दुई महाशक्तिबीच आकस्मिक द्वन्द्वको जोखिम उल्लेखनीय ढंगले बढेको छ ।

दोस्रो, महत्वाकांक्षी लक्ष्य व्यक्त गर्न आवश्यक छ । बाइडेन र सीको संयुक्त वक्तव्यले जलवायु परिवर्तन र विश्वव्यापी स्वास्थ्यजस्ता महत्वपूर्ण चुनौतीको साझा मान्यतामा जोड दिनुपर्छ । जलवायुका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत जोन केरी र वरिष्ठ चिनियाँ अधिकारीबीच धेरै भेटघाट भए पनि राष्ट्रिय सुरक्षा चिन्ताका कारण स्वच्छ ऊर्जामा सहकार्य हुन सकेको छैन । यसबाहेक कोभिड–१९ को उत्पत्तिलाई लिएर भइरहेको राजनीतिक तनावले विश्वव्यापी स्वास्थ्य प्रयासमा अवरोध पु¥याएको छ ।

बाइडेन–सीको वार्ताले यी महत्वपूर्ण मुद्दाको समाधान नगर्न सक्छ, तर यी मुद्दालाई स्वीकार गर्नु नै अस्थिर विश्वमा एक प्रतिबद्धताको प्रतीक हो । इजरायल–हमास द्वन्द्वले महत्वपूर्ण क्षेत्रीय संकटमा विस्तार हुने सम्भावना छ र यो सम्भावना युक्रेन युद्धको एक महत्वपूर्ण चरणका वेला देखिएको छ । अमेरिका र चीनले दुवै द्वन्द्वमा शान्ति सम्झौताको मध्यस्थता गरेर महत्वपूर्ण योगदान गर्न सक्छन् ।

अन्त्यमा, अमेरिका र चीनबीचको सम्बन्धमा राष्ट्रपतिद्वयको संलग्नतालाई लिएर नयाँ दृष्टिकोण आवश्यक छ । उसो त सान फ्रान्सिस्कोमा बाइडेन–सी वार्ता लाभदायक नै हुनेछ, तर यी दुई प्रमुख शक्तिबीच अन्तर्निहित विवाद समाधान गर्न वार्षिक शिखर सम्मेलनमा मात्र भर पर्नु अपर्याप्त हुन्छ । म नेतादेखि नेतामा सीमित हुने कूटनीतिबाट निरन्तर संस्थागत संलग्नता मोडेलमा जानुपर्छ भन्ने मान्यता राख्छु । यस मोडेलले चलिरहेको समस्या निवारण र द्वन्द्व समाधानका लागि स्थायी संरचना प्रदान गर्ने लक्ष्य राख्छ ।

अमेरिका–चीन सचिवालयको मेरो प्रस्ताव यस्तै एक सम्भावना हो । चीन र एसियाका अन्य ठाउँमा यस्तो विचारलाई सामान्यतया स्वागत गरिए पनि अमेरिकी नीति–निर्माताले भने चासो देखाएका छैनन् । वास्तवमा अमेरिकी कांग्रेस प्रतिनिधि माइक ग्यालाघरले ‘जोम्बी संलग्नता’को हौवा फैलाइरहेका छन्, अर्थात् उनले चिनियाँसँग पुनः सम्बन्ध प्रयासले अमेरिकाको अवसान हुन सक्ने चेतावनी दिएका छन् । 

यति भन्दै गर्दा चारवटा अमेरिका–चीन कार्य समूहको स्थापनाले म उत्साहित भएको छु । तर, यी कार्य समूह अपर्याप्त छन् किनभने कुनै वेला वाणिज्य एवं व्यापारको संयुक्त आयोगको तत्वावधानमा रहेका १६ कार्य समूह थिए । यी कार्य समूहलाई सन् २०१७ मा तत्कालीन ट्रम्प प्रशासनमा निष्क्रिय पारिएको थियो । 

ठूला नेताको वार्ता मिडिया समारोहभन्दा बढी देखिँदैन । दुर्भाग्य, गत वर्षको बाली सम्मेलनको वार्ता यस्तै मिडिया समारोहमा मात्रै परिणत भएका थिए । अमेरिका, चीन र विश्वले यस वर्ष सान फ्रान्सिस्कोमा शून्य नतिजा वहन गर्न सक्दैन । सामूहिक कार्य अपरिहार्य बनिसकेको छ । बाइडेन र सीका लागि हासिल गर्न सकिने उद्देश्य र महत्वाकांक्षी लक्ष्य तय गर्ने मौका छ । र, यो मौका खेर जान दिनुहुँदैन ।
(रोच येल विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट