१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १३ सोमबार १४:४४:oo
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

ढोरपाटन : पर्यटनको गज्जब गन्तव्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार १४:४४:oo

बागलुङको बुर्तिबाङ बजारदेखि ३६ किलाेमिटरको कच्ची सडक, सुन्दर बोबाङ गाउँ हुँदै बिस्तारै उकालो लागेपछि ढोरपाटन छिर्ने नाकाको रूपमा रहेको देउराली पुगिन्छ । देउराली डाँडामा नाउर र झारलको स्तम्भ छ । त्यहाँबाट तलतिर हेर्दा मनोरम समथर ढोरपाटन देखिन्छ। ढोरपाटन पुगेपछि पर्यटकको सबै थकान यहाँको प्राकृतिक मनोरम दृश्यले नै मेटाइदिन्छ ।

ढोरपाटन पर्यटनको गज्जब गन्तव्यको रूपमा विकास भएको छ । त्यहाँ पुगेपछि सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडीले पर्यटकको मन लोभ्याउँछ । यसका साथै सिकार आरक्षमा वर्षको दुईपटक आउने सिकारको मौसम यहाँको अर्को विशेषता हो । नेपालको एक मात्र सिकार आरक्षको रूपमा रहेको ढोरपाटन क्षेत्रमा रहेका उत्तरगंगा, ढोरबराह र यहाँको प्राकृतिक सौन्दर्यका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ।  वर्षमा दुई सिजन सिकार खेल्न विदेशी पर्यटक यहाँ आउने गर्छन्। पछिल्ला दिनमा आन्तरिक पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ।

दसैँ बिदाको फुर्सदमा देशका विभिन्न जिल्लाबाट दैनिक करिब तीन सय आन्तरिक पर्यटक ढोरपाटन भ्रमणमा आएका ढोरपाटन सिकार आरक्षका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । यहाँ आउने पर्यटकको पहिलो रोजाइ आरक्ष कार्यालयमा रहेको सूचना केन्द्र र संग्रहालय रहेको उनले बताए । ‘आरक्षमा आएपछि पर्यटकहरू पहिला संग्रहालय आउने गरेका छन्,’ कँडेलले भने।

संग्रहालय बिदाको दिन तथा बिहान र साँझमा पनि खुला रहन्छ। संग्रहालयमा आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत राखिएको छ । ढोरपाटन छिर्नका निम्ति नेपाली पर्यटकलाई सय रुपैयाँ, सार्क राष्ट्रका विदेशी पर्यटकलाई एक हजार पाँच सय र अन्य राष्ट्रका विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

धार्मिक रूपमा पनि महत्वपूर्ण
पर्यटकीय गन्तव्यसँगै धार्मिक रूपमा पनि परिचित ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन्। जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ।

ढोरपाटन आरक्षको हेटक्वार्टरबाट तीन किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो। तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने गन्तव्य हो।

यसैगरी, यहाँ आउने अधिकांश पर्यटकको रोजाइमा घोडचडी पनि पर्छ। उपत्यका क्षेत्रमा घोडामा घुमेको प्रतिव्यक्ति दुई सय रुपैयाँ तिर्नुपर्दछ । अहिले पर्यटकको संख्या बढेसँगै व्यावसायिक रूपमा घोडापालन गर्नेको पनि राम्रै आम्दानी भएको छ । दैनिक २०–२२ जनालाई घुमाउने गरेको घोडाचालक रामचन्द्र रसाइली बताउँछन्।

गुर्जाघाट, जलजला र बुकी पुग्छन पर्यटक
उपत्यका क्षेत्रमा पर्यटक पुरानो हवाईमैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन्। त्यसका साथै गुर्जाघाट, जलजला र माथिल्लो भागमा बुकीलगायतका बस्ती यहाँका अन्य रमणीय स्थान हुन्। विगतमा ढोरपाटन पुगेपछि उपत्यका मात्र घुमेर फर्किने पर्यटक यस वर्ष आरक्षभित्रकै क्षेत्र गुर्जाघाट, जलजला र बुकीसमेत पुगेका छन्।

‘मैले सुनेको ढोरपाटन त उपत्यका मात्रै भन्ने थाहा थियो । गुर्जाघाट, जलजला र बुकी झनै रमणीय रहेछन्। हामी जलजलासम्म पुग्यौँ,’ काठमाडौंबाट मोटरसाइकलमार्फत ढोरपाटन घुम्न आएका सुजित श्रेष्ठले भने, ‘बुकी पुग्न धेरै समय लाग्ने हुँदा त्यहाँ पुग्न सकिएन। गुर्जाघाट र जलजला पुगियो, धौलागिरि, गुर्जालगायतका दर्जनौँ हिमाल देख्न पाइयो।’ उत्तरगंगा नदी र अन्य खोलामा मोटरसाइकल तार्न कठिनाइहरू भए पनि ती क्षण यादगार बनेको उनले बताए।

ढोरपाटन क्षेत्रको जलजला बुकी क्षेत्र गाईवस्तुको चरण क्षेत्रको रूपमा पनि परिचित छ । यहाँ परम्परागत रूपमा बनेका गाईगोठ छन्। ढोरपाटनका गोठालाहरू वर्षायाम सुरु हुनुअघि नै गाईवस्तु धपाउँदै लेकतर्फ उक्लन्छन् । यसैलाई रैथाने भाषामा ‘बुकी उक्लनु’ भनिन्छ।  वैशाखमा लेकतिर उक्लिएका गोठालाहरू असोजमा मात्र ढोरपाटन फर्कन्छन् । यहाँ पुग्दा पुरानो परम्परालाई नजिकबाट नियाल्न पाइने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत कल्याण बताउँछन्।

कसरी पुग्ने ढोरपाटन ?
रुकुम पूर्व, म्याग्दी र बागलुङ गरी तीन जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन नगरपालिका– ९ मा छ। पोखराबाट मध्यपहाडी लोकमार्ग पछ्याउँदै बस, गाडी वा बाइकमा बागलुङ सदरमुकाम हुँदै झन्डै पाँच घन्टामा बुर्तिबाङ पुगिन्छ। बुर्तिबाङबाट लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप, बाइक वा बसमार्फत दुई घन्टामै ढोरपाटन उपत्यका पुगिन्छ।

ढोरपाटन पुगेपछि गुर्जाघाट हुँदै जलजला पुग्न थप २२ किलाेमिटरको कच्ची सडक छ। उत्तरगंगा नदी किनार हुँदै जलजला पुगेपछि नजिकबाट दर्जनौँ हिमशृंखला नियाल्न सकिन्छ ।  बुकी पुग्न भने थप एक दिनको पैदल यात्रा गर्नुपर्छ।

समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइमा रहेको यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन्। दुर्लभ एवं संरक्षित पक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरसहित एक सय ६४ प्रजातिका चरा पाइने यस क्षेत्रमा पुथा, चुरेन र गुर्जा हिमाल पनि रहेका छन्।