
बाँकेको कोहलपुरमा आउँदो बुधबारदेखि मुख्यमन्त्री गोल्डकप फुटबल सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कोहलपुर नगरपालिका– २ स्थित तेह्र बिघा मैदानमा ‘मुख्यमन्त्री गोल्डकप फुटबल खेलकुद प्रतियोगिता २०८०’ सुरु हुने भएको आयोजकले जनाएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित यो वर्षको साताव्यापी खेलकुद प्रतियोगिता हुने कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए। उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको छ । अध्यक्ष क्षेत्रीले गोल्डकप विजेता टोलीले रु. आठ लाख र तथा उपविजेताले रु. चार लाख प्राप्त गर्ने बताए।
‘नकआउट’बमोजिम खेलाइने उक्त प्रतियोगितामा आयोजक टोलीसहित स्वदेशी र विदेशी गरी आठ टोली सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए।
खेल हेर्न आउने दर्शकसँग केही शुल्क लिने आयोजकले जनाएको छ । आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नेछन्।
अध्यक्ष क्षेत्रीका अनुसार गोल्डकप सञ्चालन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, नेपाल टेलिकमलगायतले सहकार्य गरेका छन्। प्रतियोगिता सञ्चालन गर्न स्थानीयस्तरबाट पनि सहयोग प्राप्त भएको आयोजकको भनाइ छ।