रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका– ७ भुँजीको पहिरोले यहाँका स्थानीयवासी सधैँ त्रासमा जीवन जिउन बाध्य छन्।
०७२ को भूकम्प जाँदा यहाँ थोरै पहिरो गएको भए पनि त्यस वर्षको वर्षादेखि लगातार पहिरो जान थालेका कारण बस्ती र जमिन नै बगिरहेको स्थानीयवासी भीमबहादुर नेवारले बताए।
उनका अनुसार निरन्तर पहिरो झर्ने भएका कारण बर्खामा बढी र हिउँदमा केही कम जोखिम हुने गरेको छ। बर्खाको वेला निरन्तर पहिरो झर्ने गरेका कारण विद्यालय जाने आउने बालबालिकालाई निक्कै समस्या हुने गरेको छ।
जोखिमका कारण विद्यालयका बालबालिकालाई बर्खाको समयभर वडा कार्यालयमै वडाको व्यवस्थापनमा राखेर पढ्ने–पठाउने गरिएको छ। पहिरोका कारण भुँजीको ठिन्केपु पिपलडाँडा, सारिटोल, कोकर्सी गाउँको नेवारी समुदाय, सुनुवार समुदाय र दलित समुदाय गरी करिब ८० घरपरिवार विस्थापित भएको मावि भुँजीका निवर्तमान प्रधानाध्यापक तथा उमाकुण्ड गाउँपालिकाका वर्तमान कार्यपालिका सदस्य हेमन्त सुनुवारले बताए।
पिपलडाँडाबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारलगायत दलित घरपरिवारका २५ घरपरिवार पहिरोकै कारण अन्यत्र बसाइँसराइ गरिसकेका छन्।
पहिरोका कारण स्थानीय ठिन्केपु आधारभूत विद्यालयलाई समेत यसको असर परेको छ। नेपाल सरकारले यस ठाउँको बस्ती स्तानान्तरणको कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम प्रभावकारी ढंगबाट कार्यान्वयन हुन नसकेको स्थानीय दशराम सुनुवारले बताए।
रुना, ठिन्केपु, पिपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न संघीय सरकारमार्फत मुहान खोलामा झोलुंगे पुलको योजना परेको, पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रु. १० लाखको योजना परेको भए पनि त्यसले मात्र पर्याप्त नभएको पनि उनले बताए। उनका अनुसार उक्त जोखिमका कारण पोल्दिममा भएको स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीको संख्या पनि घटेको छ।
स्वास्थ्य ल्याबलगायतका अन्य उपकरण व्यवस्था गर्न सके र उक्त पहिरोे नियन्त्रणका लागि केही पहल गर्न सके स्वास्थ्यउपचार गर्न आउनेको संख्यासमेत बढ्ने सुनुवारको भनाइ छ।