१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

माछापुच्छ्रे गाउँपालिकामा आन्तरिक पर्यटकले शुल्क तिर्नुपर्ने

पालिकाभित्रको पदमार्गमा बाह्य पर्यटकलाई तीन थरी शुल्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:o७:oo

कास्कीको माछापुच्छ्रे गाउँपालिका जाने आन्तरिक पर्यटकले अब पर्यटन शुल्क बुझाउनुपर्ने भएको छ। पालिकाले शुक्रबार एक सूचना जारी गर्दै पालिकाभित्रका पर्यटकीय पदमार्गको भ्रमणमा आउने आन्तरिक पर्यटकसँग एक सय र बाह्य पर्यटकसँग पाँच सय रुपैयाँ शुल्क लिने जनाएको हो।

गाउँपालिकाका प्रवक्ता गणेश आचार्यका अनुसार शुल्क लिने निर्णय गत असारमा सम्पन्न गाउँसभाले गरेको थियो। यही ३ कात्तिकमा बसेको कार्यपालिका बैठकले गाउँसभाको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको उनले जानकारी दिए।

शुक्रबार सूचना जारी भए पनि एक हप्ताभित्रमा शुल्क लिन सुरु गर्ने उनले बताए। गाउँसभाले निर्णय गरेपछि सरोकारवालाको राय सल्लाह लिएर यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको उनको भनाइ छ।

पालिकाले शुल्क लिने निर्णय गरेसँगै पालिकाभित्रका पदमार्गमा यात्राका लागि जाने बाह्य पर्यटकहरूले अब तीन थरी शुल्क बुझाउनुपर्ने भएको छ। पालिका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्दछ।

यसअघि पालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग एक हजार र सार्क राष्ट्रबाहिरकासँग तीन हजार प्रवेश शुल्क एक्यापले लिँदै आएको थियो। यसैगरी, पदयात्रा सूचना प्रणाली (टिम्स)बापत पर्यटन विभाग, पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त रूपमा सार्क राष्ट्रका पर्यटकसँग एक हजार र सार्क राष्ट्रबाहिरका पर्यटकसँग दुई हजार शुल्क लिँदै आएको छ।

यसअघि लिँदै आएको दुई थरी शुल्कसँगै पालिकाले लिने शुल्क थप भएपछि अब बाह्य पर्यटकहरूले तीन थरी शुल्क तिर्नुपर्ने भएको छ। पालिकाभित्र रहेका माछापुच्छ्रे मोडल ट्रेक, मार्दी हिमाल पदमार्ग, ग्रेट माछापुच्छ्रे ट्रेक, घलेखर्क ताराहिल ट्रेक पदयात्राका लागि चर्चित छन्।

प्रवक्ता आचार्यका अनुसार शुल्क पालिकाको १, ८ र ९ नम्बर गरी तीनवटा वडाबाट उठाउनेछ। पर्यटकबाट उठाएको शुल्क पदमार्गमा आवश्यक पूर्वाधारहरू निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहोरमैला व्यवस्थापन, मौसमी सूचना जानकारीको लागि आवश्यक उपकरण खरिद, पर्यटकको सुरक्षालगायतका काममा खर्च गर्ने जानकारी दिए।

पालिकाले यसलाई पाइलट प्रोजेक्टको रूपमा लिएको भन्दै आचार्यले शुल्कको विरोध भएमा सुधार गर्दै अघि बढ्ने बताए।

ad
ad