१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ८ बुधबार
  • Monday, 15 July, 2024
सिजन दाहाल
२o८o कार्तिक ८ बुधबार ११:५o:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
ब्लग डिजिटल संस्करण

भष्मे डन : ‘हाफ लाइट, हाफ डार्क’

Read Time : > 5 मिनेट
सिजन दाहाल
नयाँ पत्रिका
२o८o कार्तिक ८ बुधबार ११:५o:oo

सात वर्षमा बागमतीमा पानी धेरै बगिसकेको छ । आर्यघाटमा लासहरू धेरै जलिसकेका छन् । पशुपतिपरिसरमा धेरैले गुजारा चलाइसकेका छन् । भुइँचालोको असर सेलाउन नपाउँदै कोरोना आयो । लकडाउन भयो । लकडाउनको असर अझै छ । 

तर, भष्मेको स्वर फेरिएको छैन । आवाज भने फेरिएको छ । बानी फरक हुन थालेको छ । सम्बन्धहरू फरक छन् । आज ‘पशुपतिप्रसाद २ भष्मे डन’ हेरिसकेपछि फेरि एकपटक टाइपराइटर बनुँ–बनुँ लागेको छ । यसको मतलब यो होइन कि सिनेमा कहाँ हो कहाँ बबाल बनेको छ । र, यसको मतलब यो पनि होइन कि जस्तो बन्नुपर्थ्याे त्यस्तो बनेन । 

यसको मतलब केही छैन । मलाई विशुद्ध रूपमा लेख्न मन लागेको हो । केही मन परेका कुरा केही मन नपरेका कुरा । केही अलि यस्तो गरेको भए हुन्थ्यो भन्ने कुरा । केही ‘वाह ! गज्जब’ भन्न मन लागेका कुरा । 

पशुपतिप्रसाद मैले प्रिमियर शाे हेर्न पाएको थिएँ । खगेन्द्र लामिछानेको लेखनको एउटा स्वाद हामी धेरैले चाखेका थियौँ । तर, लेखनमा, अझ भन्नु पर्दा स्क्रिप्टको स्ट्रक्चरमा नै ‘पशुपति प्रसाद’ फरक थियो, त्यति वेला । मैले बुझेसम्म रिलिज भएको दिनभन्दा अगाडि बढ्दै जाँदा पशुपति प्रसादको शोहरू र दर्शकहरूको भिड बढ्दै गएको थियो । ‘माउथ पब्लिसिटी’ गज्जबै बनेको थियो । नेपाली फिल्महरूमा टर्निङ प्वाइन्ट रूपमा लिइने नामहरू कागबेनी, लुट, कबड्डी, सेतो सूर्यलगायत नामहरू लिँदा पशुपतिप्रसाद छुटेको छैन । 

सायद लेखक र निर्देशकलाई पनि लामो समयसम्म पशुपतिप्रसादको सिक्वेल बन्छ वा एक दिन बन्नेछ भन्ने थाहा थिएन । सिक्वेल बन्नुको वा भनौँ बनाउनुको मुख्य मोटिभेसन पैसाको वरिपरि हुन्छ । मलाई यस्तो लाग्छ । तर, दर्शकहरूले क्यारेक्टरहरू, विषयवस्तुलगायतका कुराहरूसँग सम्बन्ध बनाइसकेका हुन्छन् र सिक्वेल बन्ने भन्नेबित्तिकै दर्शकहरूको अपेक्षा एकदमै धेरै हुन्छ । (सिक्वेल बन्नु ठीक–बेठीकसँग मेरो केही फरक धारणा छैन ।) तर, सिक्वेल च्यालेन्ज हो । 

पार्ट २ को कथा लेख्दालेख्दै दर्शकहरूले के भन्छन् ? के खोज्छन् ? भनेर अलि धेरै नै बाँधिएर लेख्नुपर्छ । पुरानो साख जोगाउन पनि भरपूर प्रयास गर्नुपर्छ । आर्थिक रूपमा मजबुत हुन पनि काम गर्नुपर्ने हुन्छ । तर, पशुपतिप्रसाद २ भष्मे डनका लागि दर्शकहरू र आम्दानी झट्ट सोच्दा केही आफ्नो पक्षमा थियो भनेर अनुमान लगाउन सकिन्छ । (अरू धेरै नयाँ चुनौतीहरूचाहिँ थिए ।) यी केही सहजताको फाइदा लिन पाएरै पनि लेखक–निर्माता र निर्देशकले दिल खोलेरै कलात्मक काम गरेका छन् । केही दृश्यहरू हेर्दै गर्दा दिल खोलेर सिट्ठी बजाउन मन लाग्छ ।

कथा पशुपतिप्रसादको फोटोमा माला लगाएरै सुरु हुन्छ । तर, यहाँ म दुर्गामाताको अनुहारको मेकअपबाट सुरु गर्छु । ‘हाफ लाइट, हाफ डार्क ।’ लेखक चरित्रहरूसँग जसरी कठोर भएका छन्, त्यही तरिकाले मैले पनि कठोर भएर भन्नुपर्दा सिनेमामा कथा छैन । पात्रहरूको रहर ‘इन्ट्रेस्ट’मा काम गरिएको छ । जुन कथा भन्न खोजिएको हो, त्यो मजाले प्रोजेक्ट भएको छैन । 

भष्मे डनको टु साइड
कालीप्रसादको टु साइड
मित बा (भष्मेको बा) को टु साइड
दुर्गामाताको टु साइड 
हनुमानको टु साइड
सिलाजित बेच्नेको टु साइड

प्रायः सबैको ‘इनर र वाउटर क्यारेक्टर’ प्रस्तुत गरिएको छ । सिनेमामा पनि दर्शकहरू कन्फ्युज हुने कुरा के हो भने कथा पनि दुईवटा भनिएको छ । निर्देशकले भन्न खोजेको कथा र लेखकले भन्न खोजेको कथाबीच तालमेल मिलेन । 

भष्मे डन ‘क्यान्डिक्रस’ खेल्न छोडेर पब्जी खेल्न थालेको हुन्छ । ग्याङमा सुन चोरेर भाग्ने शंकरेको पनि उपस्थिति दरै भइसकेको छ । मित बा ‘बा’ भइसकेका छन् । हनुमान छैन पशुपतिपरिसरमा । पशुपति क्षेत्र अरू धेरैजनाको जीविकोपार्जन गर्ने ठाउँ बनिसको छ । मुगुबाट आएको सिलाजित बेच्ने होस् या दुर्गामाता बनेर बस्ने युवती, हात हेर्ने ज्योतिष, सुन खोज्न प्रयासरत केही युवा, पेन्टिङ बनाएर बस्ने, काठ बेच्ने वा ठेक्का लगाउने, पार्किङको पैसा उठाउनेलगायतका यस्ता धेरै काम गरेर जीवन सहज बनाउन, पशुपति क्षेत्र सजीव बनाउन र भष्मे डन सिनेमा सुन्दर बनाउन यी चरित्रहरू बलिया छन् । 

सबै कुरा सहज तरिकाले नै चलिरहेको छ भनौँ, नयाँ कथाको मुख्य समस्याचाहिँ के हो त ? कन्फ्लिक्ट के हो ? कसरी कथा अगाडि बढ्छ ? 

मलाई लेखक खगेन्द्र लामिछानेको लेखनमा मन पर्ने भनेकै उनी आफ्ना चरित्रहरूसँग नजिकको सम्बन्ध राख्छन् । आफूले लेखेका चरित्रबारे उनमा कुनै पनि कन्फ्युजन हुँदैन । तर, उनका सिनेमामा प्रोजेक्ट हुने वेलामा मलाई खड्किने कुरा के हो भने चरित्रहरू वेलावे लेखक खगेन्द्र लामिछाने जस्तै देख्छु । (यो मैले लेखकसँग संगत गरेको भएर महसुस भएको हो ।) जे होस्, पशुपतिप्रसाद २ भष्मे डनमा भष्मे डनको आनीबानी परिवर्तन भएको छ । सम्बन्धहरूमा पनि परिवर्तन आएको छ । यो मलाई लजिकल लाग्यो । भष्मेलाई ठेकेदार बन्न मन छ । (सायद ठेकेदार बन्न मन हुनु भष्मेको रहर हो । भष्मेको लक्ष्य भएको भए म ‘भष्मेलाई ठेकेदार बन्नु छ ।’ भनेर लेख्थेँ होला ।) ठेकेदार बन्न उसलाई नागरिकता चाहिन्छ । नागरिकता बनाउन बाउआमा चाहिन्छ । ‘बाउआमाविना मान्छे जन्मिँदैन ।’ 

यो कुरा सिनेमामा यति सुन्दर तरिकाले प्रस्तुत गरिएको छ कि जो कसैलाई चार्ज हान्छ यो संवादले । तर, भष्मेको बाउआमा कहाँ छन् यो कुरा थाहा छैन । पछि कालीप्रसाद (सौगात मल्ल)को इन्ट्री हुन्छ । सौगात मल्लको अभिनय लाउड हुन्छ भन्ने दर्शकहरूको धारणा ठ्याक्कै उल्टो भएर आउँछ । बरु सौगात मल्ललाई वेलावेला लाउड देखाउन निर्देशक जोसिएको प्रस्टै थाहा हुन्छ । यस्तो प्रयास निर्देशकले किन गरेको ? मैले एकपटक सिनेमा हेरेर बुझ्न सक्दिनँ होला । सिनेमाको अन्त्यमा कालीप्रसादको चरित्रलाई फर्केर हेर्दा मेरो ठम्याइ के हो भने, लेखकले चिनेको कालीप्रसाद र निर्देशकले चिनेको कालीप्रसादमा भिन्नता छ । यसको असर कलाकार सौगात मल्ललाई परेको देखेँ मैले । जे होस् आफ्नो अत्यन्तै कठोर समस्या (नेपाली समाजको डार्क पार्ट)बाट छुटकारा पाउन कालीप्रसाद पनि पशुपतिपरिसरकै शरणमा आउँछन् । त्यसपछि भष्मे डनको फेरिएको आनीबानी बुझ्न दर्शकलाई झनै सहज हुन्छ ।

भष्मे डन सिनेमामा सबैभन्दा धेरै ट्राजिडी बोकेर बाँच्ने चरित्र मित बा छन् । उनले पनि लास पोल्न छोडेका छन्, तर रक्सी खान छोडेका छैनन् । उनले आफ्ना धेरै ट्राजिडीहरू आफैँभित्र लुकाएका छन् । हनुमानको चरित्रलाई पशुपतिप्रसादमा जसरी प्रस्तुत गरिएको थियो झन्डै ‘सब्स्टिच्युड’ क्यारेक्टरमा देवीमाता (स्वस्तिमा खड्का)लाई प्रस्तुत गरिएको छ । तर, साह्रै सुन्दर ढंगले उनको कथा भनिएको छ । केही ठाउँमा त स्वस्तिमा खड्काको अभिनयले हुरुक्कै भएँ म । माताको अनुहारमा थिमेटिक मेकअप छ । हाफसाइड लाइट, हाफसाइड डार्क । सिनेमा सबै चरित्रहरू ठ्याक्कै माताको अनुहारको मेकअपजस्तै छन् । सबै चरित्रहरू फेक बाँचिरहेका छन् । (भष्मे केही कम) जसरी हामी मान्छे फेक बाँच्दाबाँच्दै पनि आफ्नो जीवनशैली रियल बनाउने प्रयास गर्छौँ नि, हो त्यस्तै छन् यस सिनेमाका चरित्रहरू । यसमा लेखक पूर्ण रूपले सफल भएको भान हुन्छ । 

मान्छे पाप गर्छ अनि क्षमा माग्न पशुपति जान्छ । जसरी पशुपति जाँदा हामी मान्छे फेक हुन्छौँ, त्यस्तै फेक क्यारेक्टरहरू छन् पशुपतिप्रसाद २ भष्मे डनमा । (मैले पशुपति मन्दिर जाँदा फेक भन्न खोजेको हो पशुपति आर्यघाट जाँदा फेक हुन्छ भनेको होइन ।) आर्यघाट र कात्रोलाई सिनेमाको एउटा दृश्यमा भष्मे डन र वैकुण्ठले कालीप्रसादसँग वार्ताको प्रस्ताव लिएर जाँदाको क्षणमा घत लाग्ने गरी प्रयोग गरेको छ ।

यस सिनेमाका लेखकको अर्को गज्जबको विशेषता के हो भने, उनले कथामा आएका–जन्मेका कुनै पनि चरित्रलाई यति मजाले बुन्छन् कि जो कोही विनाकारण कथामा झुल्केकै हुँदैन । उसको महत्त्व अत्यन्तै विशेष हुन्छ । यस सिनेमामा हरेक चरित्रको उत्तिकै महत्व छ । कथा त भष्मे डनकै हो । त्यसमा शंकै छैन । तर, अरू ‘क्याटालिस्टिक क्यारेक्टर’हरू सबैको कथा प्रस्ट भनिएको छ । सबैको महत्व बेजोड छ । 

पशुपतिप्रसादमा जस्तै, भष्मे डनमा पनि दर्शक सस्पेन्समा रहँदैनन्, तर क्यारेक्टरहरू भने सस्पेन्समा छन् । यही कारणले सिनेको क्लाइमेक्सले दर्शकहरूको घाँटी च्याप्पै समातिदिन्छ । यो लेखनको बेग्लै प्रकारको सुन्दरता हो भन्ने लाग्छ मलाई । 

निर्देशकको मात्र काम महसुस गर्दा राम्रो लाग्यो सिनेमा । लेखकको मात्रै काम महसुस गर्दा राम्रो लाग्यो सिनेमा । तर, यस सिनेमाका लागि लेखक र निर्देशकले अरू धेरै कप कफी खानुपर्थ्याे जस्तो महसुस भयो मलाई । क्लाइमेक्ससम्म आइपुग्दा एउटा लेखक कसरी यति क्रूर हुन सक्छ ? कालीप्रसादको आवश्यकतालाई यति जटिल बनाइएको छ कि साँच्चै कठोर र नमिठो अन्त्य भएको छ । उसको ट्राजिडी नेपाली समाजको डार्क साइड त हो, तर यो सिनेमामा उसको समस्या रुपैयाँ १५ लाखलाई जुन हदसम्मको भुमरीमा पारिएको छ त्यति जरुरी थिएन भन्ने भान हुन्छ । कि त उसको कथालाई र्‍यापअप गर्ने वेलामा अर्थोकै केही सोच्नुपर्थ्याे । भष्मेको सात वर्षको बर्त यति छिटो परिवर्तन हुन्छ कि विश्वास गर्न खोज्दाखोज्दै कथा सकिन्छ । ऊ अचानक छुरा हान्ने बन्छ । त्यो पनि मान्छे मार्ने नियतले । त्यो विश्वास गर्न लायक लागेन मलाई । हनुमानको कथा गज्जबको छ । त्यही चरित्रको कारणले सिनेमाको क्लाइमेक्स अझ सुन्दर बनेको छ । क्लाइमेक्सले दर्शकलाई पशुपतिप्रसाद ३ पनि आउने संकेत छोडेको छ । 

यो विशुद्ध कमर्सियल सिनेमा हो । तर, यस सिनेमा (भष्मे डन) को अस्तित्व र ‘पशुपतिप्रसाद’को गरिमा बेग्लै छ । जसरी नेपालमा पशुपतिको गरिमा बेग्लै छ, त्यसरी नै नेपाली सिनेमा उद्योगमा पशुपतिप्रसादको गरिमा बेग्लै छ । चलचित्रले संकेत गरेको पशुपतिप्रसाद–३ बन्ने भयो भने चलचित्र केका लागि बनाउने हो मेकर स्पष्ट हुन जरुरी छ । 

(रंगकर्मी दाहाल कदम थिएटरका कला निर्देशक हुन् ।)

ad
ad
ad
ad