
पश्चिमी भारतको महाराष्ट्र राज्यमा आज प्रशिक्षण विमान दुर्घटना हुँदा एकजना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन् ।
महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँनजिकैको निजी उड्डयन एकेडेमीको प्रशिक्षण विमान दुर्घटना भएको हो ।
‘रेडबर्ड फ्लाइट ट्रेनिङ एकेडेमीसँग सम्बन्धित प्रशिक्षण विमान आज गोजुबावी गाउँनजिकै दुर्घटनाग्रस्त भयो । दुर्घटनामा, एकजना प्रशिक्षार्थी चालक र अर्का प्रशिक्षक घाइते भए,’ प्रहरी अधिकारीले बताएका छन् ।
उनीहरू दुवैलाई नजिकैको अस्पतालमा लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । बिहीबार पनि सोही तालिम एकेडेमीको अर्को प्रशिक्षण विमान पुणेको कटफल गाउँनजिकै यस्तै प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो ।