१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ३ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक ३ शुक्रबार १९:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रकृति संरक्षण गर्न लगानी जरुरी छ : सभापति राणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक ३ शुक्रबार १९:३५:oo

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले प्रकृति संरक्षण गर्न लगानी आवश्यक रहेको बताएकी छिन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण सम्मान समारोहलाई शुक्रबार सम्बोधन गर्दै सभापति राणाले समसामयिक वातावरण र विकासका चुनौतीहरू र तिनका समाधानको उपायबारे धारणा राखेकी थिइन् । 

प्राकृतिक सम्पदामा नेपाल धनी भए पनि जलवायु परिवर्तन र बढ्दो तापक्रमले नेपालको प्राकृतिक पारिस्थितिक प्रणाली र जैविक विविधता कमजोर हुँदै गइरहेको भन्दै सभापति राणाले अनुसन्धान र संरक्षणमा लगानी गरेर अघि बढ्नुपर्ने बताइन् । 

‘पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन हाम्रो जैविक विविधता सम्पदाका लागि ठूलो खतरा भएको छ । नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा छ । जलवायु परिवर्तनका कारण हाम्रो वन जैविक विविधता, जलविद्युत, कृषि, जलस्रोत र स्वास्थ्य क्षेत्र सबैभन्दा बढी जोखिममा छन् । बढ्दो तापक्रम र भीषण वर्षाले प्रकृतिको पुनर्जीवित गर्ने क्षमतालाई कमजोर बनाउँदै छ,’ उनले भनिन् । 

यी चुनौतीहरू सामना गर्न राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उनको भनाइ थियो । यसैगरी वन, जमिन, जल र वायु तथा समावेशी हरित क्षेत्रलाई प्राथमिकता दिनुपर्ने राणाले औँल्याइन् ।

‘नेपालले आफ्नो र अरूबाट सिकेर अनुसन्धानमा लगानी गर्नुपर्छ । हामीले दिगो विकासका लागि स्वच्छ प्रविधिलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनले भनिन् । 

जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूविरुद्ध लड्न नेपालको समृद्ध जैविक विविधता र प्राकृतिक इकोसिस्टमलाई उपयोग गर्न सकिने राणाले उल्लेख गरिन् । 

‘जैविक विविधता र इकोसिस्टम सेवाहरू जस्तै संरक्षित नदी, वन र सिमसारहरूले हामीलाई जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न मात्र नभई दिगो जीविकोपार्जन गर्न पनि मद्दत गर्न सक्छन्,’ उनले भनिन्, ‘त्यसैले राम्रोसँग संरक्षित प्रकृतिले हाम्रा गरिब र जोखिममा परेका मानिसहरू विशेषगरी महिला र आदिवासी समुदायहरूमा जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूलाई कम गर्न र हाम्रो पूर्वाधारलाई दिगो बनाउनका लागि हाम्रो प्रयासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’ 

प्रकृतिसँग काम गर्नाले दिगो विकास लक्ष्यहरू हासिल गर्न सफल जलवायु परिवर्तन अनुकूलन, न्यूनीकरण, गरिबी न्यूनीकरण र प्रकोप जोखिम न्यूनीकरणलगायतका धेरै फाइदाहरू ल्याउन सक्ने राणाको भनाइ थियो । 

सभापति राणाले प्रकृति संरक्षण र बिग्रिएको इकोसिस्टमको पुनर्स्थापनाका लागि राष्ट्रिय मात्र नभई विश्वव्यापी राजनीतिक इच्छाशक्ति र प्रकृति संरक्षणका लागि लगानी आवश्यक रहेको दोहोर्‍याइन् ।

प्रकृति संरक्षण कोषलाई प्रकृति संरक्षण र इकोसिस्टम पुनर्स्थापनामा आफ्नो काम दोब्बर गर्न आग्रह गरिन् । कोषको कामले जलवायु परिवर्तनको समाधानका लागि नेपालको विश्वव्यापी प्रतिबद्धताहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले विश्वास गरिन् । 

सभापति राणाले प्रकृति संरक्षण र विकासका लागि एकीकृत, समावेशी र समन्वयात्मक दृष्टिकोण अपनाउन सरकारलाई आग्रह गरिन् ।

ad
ad
ad
ad