
बझाङमा जिप दुर्घटनामा हुँदा एकजनाको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन्।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– ७ खोरीमा भएको जिप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार)को मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप ब्रेक फेल भएर खोरी र नौराको बीचसडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए।
गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक शाहले जानकारी दिए।
उनका अनुसार महतको उनको टाउको र कम्मरमा चोट लागेको थियो। दुर्घटनामा परी घाइते हुने एकै गाउँ बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी रहेका छन्।
त्यस्तै, वर्ष २२ वर्षीय प्रकाश धामीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
गाडीमा चालक विनोद धामीसहित नौजना सवार थिए। चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख शाहले जानकारी दिए। रासस