Skip This
पाटन चरेका भेडा बिक्रीका लागि सहर झरे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २ बिहीबार १४:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाटन चरेका भेडा बिक्रीका लागि सहर झरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १४:o१:oo

हिन्दूहरूको महान् पर्व दसैँ घरघरमा भित्रिसकेको छ। विशेष गरेर दसैँमा नयाँ कपडा लगाउने र मिठो भोजनलाई महत्वका साथ हेरिन्छ। 

दसैँका लागि भनेर पाटन चरेका भेडा बिक्री गर्न कालीकोट, जुम्ला र दैलेखका भेडापालक किसान यति वेला सहर झरेका छन्। 

बाबुबाजेको पालादेखि भेडापालन व्यवसायलाई मुख्य पेसा बनाएका कालीकोट तिलागुफा नगरपालिकाका पदमलाल कोइराला, अहिले पाँच सय भेडाको बथान ल्याएर बिक्री गर्दै दैलेख सदरमुकाम झरेका छन्।

उनीसँग केही आफैँले पालेका भेडा छन् भने केही खरिद गरेर ल्याएका छन्। हरेक वर्ष भेडापालन र खरिद–बिक्री गरेर उनले २० लाखभन्दा बढी आम्दानी हुने बताए। 

गाउँघरमा दुःख गरेका किसानलाई सरकारले हेरिदिनुपर्ने, किसानको आवश्यकता परेका वेलामा औषधि उपचार, बिमा, गोठ निर्माणमा सहयोग गर्नुपर्ने पदमलाल कोइरालाको भनाइ छ। 

उनी मात्र हाेइन, दैलेखको नारायण नगरपालिका– १० भवानीका खमा बस्नेत पनि अहिले सामूहिक रूपमा भेडा बिक्री गर्न सदरमुकाम झरेका छन्।

भवानीका १० जना किसानले एक हजार भेडा पालन गरेका छन्। दसैँलगायतका विशेष पर्वमा पाटन चरेर झारेका भेडाको मासु मिठो हुने भन्दै बिक्री हुने भएपछि भेडापालक किसान भेडा बिक्री गर्न सहरी क्षेत्र झर्ने गर्दछन्, दैलेख सदरमुकाम हुँदै सुर्खेत र काठमाडौंसम्म भेडा बिक्री हुने गरेको किसान बताउँछन्।  

तीनै तहका सरकारले भेडापालक किसानलाई महत्वका साथ हेर्नुपर्ने किसानको माग छ। हामीलाई चाहिएको वेलामा औषधि, भेडीगोठ निर्माण गरिदिएको भए अझै भेडापालनमा सहजता हुने बस्नेतको भनाइ छ।

मिहिनेत गर्न सके गाउँमै राम्रो आम्दानी हुने भन्दै विदेश नजाने अठोट गरेर भेडापालनमा लागेका नरेन्द्र दमाईंले गाउँमै मिहिनेत गर्न युवाहरूलाई आग्रह गरेका छन्। 

उनले भने, ‘बाध्यताले आकाशमा उडेर विदेश जानुपर्छ, कतिपय युवा अकालमै मृत्यु भएर बाकसमा आउनुपर्ने बाध्यता छ।’  सरकारले युवाहरूका लागि आवश्यकताको आधारमा भूगोलअनुसारको कृषि, पशुपालनलगायतका काम लगाउनुपर्ने नरेन्द्रले सुझाव दिएका छन्। 

मिहिनेत गर्ने किसानलाई सरकारले अझै व्यवसाय प्रवर्द्धनका लागि सहयोग गरिदिन सकेको खण्डमा कर्णालीका हिमाली भूभागमा भेडापालन व्यवसाय निकै प्रभावकारी बन्न सक्ने देखिन्छ।