
कप्तान लियोनल मेसीको दुई गोल मद्दतमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोट प्रतियोगितामा पेरूलाई हराएको छ ।
दुवै गोल पहिलो हाफमै सम्भव भएको थियो । ३२औँ मिनेटमा निकोलस गोन्जालेजको पासमा मेसीले बललाई जाली चुमाएका थिए ।
यस्तै, ४२औँ मिनेटमा एन्जो फर्नान्डेजको पासमा अल्भारेजले चलाखीपूर्ण रूपमा छाडिदिएको बलमा मेसीले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । उनले ५७औँ मिनेटमा प्रहार गरेको बलले पनि जाली चुमेको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई गोल दिएनन् ।
लामो समयपछि सुरुवाती ११ मा रहेर खेलेका मेसीले अर्जेन्टिनाका लागि गोलसंख्या एक सय ६ पुर्याएका छन् ।
आजको जितपछि चार खेलमा सबै जित निकाली १२ अंक जोडेको अर्जेन्टिना टेबलको शीर्ष स्थानमा छ । आजै बिहान भएको खेलमा ब्राजिललाई पराजित गर्दै उरुग्वे सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।
चार खेलबाट सात अंक नै रहेको ब्राजिल गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । चार खेलबाट सात अंक नै जोडेको भेनेजुएला चौथो स्थानमा छ ।