Skip This
भ्रष्टाचारका अरू फाइल पनि छिट्टै खुल्छन् : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Friday, 26 July, 2024
२o८o असोज ३० मंगलबार o८:५५:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

भ्रष्टाचारका अरू फाइल पनि छिट्टै खुल्छन् : प्रधानमन्त्री

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार o८:५५:oo

सुदूरपश्चिममा समाजवादी मोर्चाको सन्देश सभा

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचार काण्डका अरू फाइल पनि खोल्न लागेको बताएका छन् । समाजवादी मोर्चाले आइतबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभामा उनले भ्रष्टाचारविरुद्ध एकपछि अर्को कदम चाल्दै सरकार सुशासनको पक्षमा अगाडि बढिरहेको बताए ।

‘हामीले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको गम्भीररूपमा अनुसन्धान गर्‍यौँ र त्यो प्रक्रिया अझै टुंगिएको छैन । निर्दोष नपरून्, दोषी उम्कन नपाओस् भनेर ललितानिवास जग्गा प्रकरणबारेमा पनि नयाँ शिराबाट अध्ययन गर्‍यौँ । सुन तस्करीका बारेमा तपाईंहरूले देख्नुभएकै छ,’ प्रचण्डले ‘मैले यहाँ धेरै भन्न मिल्दैन, अरू पनि केही फाइल छिट्टै खुल्दै छन् ।’ सरकारले थालेको सुशासनको पक्षमा र भ्रष्टाचारविरोधी अभियान नरोकिने पनि उनले बताए । 

रोजगारका लागि विदेश गएका लाखौँ नेपाली र उनीहरूको सन्ततिको भविष्य सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षा कोषको घोषणा गरेर कार्यान्वयन थालेको उनले बताए । सामाजिक सुरक्षाको क्षेत्रमा सरकारले चालेको यो महत्वपूर्ण कदम भएको उनले दाबी गरे । स्वदेशमा अनौपचारिक र स्वरोजगारका क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा सरकारले गरेको उनले बताए । कोषमा अहिले विदेशमा रहेका झन्डै चार लाख नेपाली आबद्ध भइसकेका जानकारी दिँदै उनले एक महिनाभित्र ३० लाख नेपाली आबद्ध हुने विश्वास व्यक्त गरे । ‘समाजवादको आधार तयार पार्ने, धनीलाई धेरै धनी बन्न नदिने र गरिबलाई धेरै गरिब बन्न नदिने काम हो यो,’ प्रचण्डले भने । 

जनताका पक्षमा समस्या देखापर्नेबित्तिकै तुरुन्तै पहल लिने जमर्को सरकारले गरेको प्रधानमन्त्रीको दाबी छ । बझाङमा भूकम्प जाँदा आफैँ त्यहाँ पुगेर पीडितलाई राहत र क्षतिग्रस्त संरचना पुनर्निर्माणको घोषणा गरेको उनले बताए । त्यस्तै, इजरायलबाट नेपाली नागरिक फिर्ता ल्याउने काममा पनि सरकारले तत्कालै तदारुकता देखाएको उनले बताए । ‘इजरायलमा सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० जना होनाहार युवा विद्यार्थीको हत्या भयो । हत्या अरू देशका नागरिकको पनि भएको छ, तर आफ्नै जहाज पठाएर नेपाली नागरिक फिर्ता ल्याउने नेपाल पहिलो देश हो,’ उनले भने ।

सुशासन, भ्रष्टाचारविरोधी, सामाजिक न्याय र जनताको पक्षमा सरकारले महत्वपूर्ण काम गर्दा प्रतिपक्षी एमाले आत्तिएर गठबन्धन भत्काउने कोसिसमा लागेको प्रचण्डको आरोप छ । ‘सरकारले सुशासन र सामाजिक न्यायको क्षेत्रमा काम गरेको छ । जनतामा समस्या पर्दा तत्कालै जमर्को लिने पहल गरेको छ,’ उनले भने, ‘यद्यपि अराजकतावादी र स्वेच्छाचारीले सरकारले केही गरेर भन्न छोडेनन् । तिनीहरूलाई सरकारले राम्रो काम गरेको डाह भएको छ । त्यसकारण जसरी पनि गठबन्धन भत्काउनै पर्छ भनेर लागेका छन् । किनकि हिजो अर्बौँ भ्रष्टाचार गर्ने मान्छे त्यहीँ छन् । ७० करोड, ओम्नी, यती सबैलाई थाहै छ ।’

अझै धेरै गर्नुपर्ने भन्दै उनले सरकारका कामप्रति आफू सन्तुष्ट भने नरहेको बताए । सरकारले केही दूरगामी परिवर्तन गरेको, तर कर्मचारीतन्त्र, संरचना, काम गर्ने तरिका, पुरानै नीति–नियमले काम गर्न समस्या भइरहेको उनको भनाइ थियो । ‘कर्मचारीहरू अलिकति पनि जोखिम उठाउन तयार छैनन्, थोरै जोखिम उठायो भने कतिवेला कसको जागिर जाने हो, को गिरप्तार हुने हो भन्ने आतंक छ,’ उनले भने ।

गठबन्धनको सरकार भएकाले काम गर्न आफूलाई केही सीमा रहेको र सरकारको नेतृत्व गर्न सहज नरहेको पनि उनले प्रस्ट्याए । ‘तीन पार्टी जोड्दा पनि सदनमा ५४ हो हामी । कांग्रेस एक्लै झन्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । अनि साथीहरूले ठोक्नोस्, बेस्सरी ठोक्नोस् भन्नुहुन्छ,’ प्रचण्डले भने, ‘परिस्थिति त्यस्तो छ । मिलाएर ठोकिएन भने आफैँ ठोकिइन्छ । त्यसमाथि ठूला पार्टीको ‘डाइनामिक’ आफ्नै छ । एमालेमा पहिलोपटक ठुल्ठूलो चिरा परेको छ । कांग्रेस त पार्टीको हो कि मञ्च हो कि मोर्चा हो, अस्ति कोशीमा देखिहाल्नुभयो ।’ अहिलेको गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका उनले कोशीमा सहमतिविपरीत एमालेबाट मन्त्री बनाइएकोप्रति भने असन्तुष्टि व्यक्त गरे । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रा वामपन्थी शक्तिले मात्र अघि बढाउन सक्ने दाबी गरे । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा गरिबी र बेरोजगारी अन्त्य गरेर समाजवादको यात्रामा अघि बढ्न मोर्चा गठन गरिएको उनले प्रस्ट्याए । ‘कृषि, शिक्षा, स्वास्थ्यको विकासमा हामी केन्द्रित हुन्छौँ,’ उनले भने, ‘बेरोजगारी, गरिबी, अभाव, पछौटेपनबाट नागरिकलाई मुक्त गर्न मोर्चा गठन गरिएको हो ।’ चार दल मिलेर मोर्चा गठन भएपछि एमाले आत्तिएको उनले दाबी गरे । ‘चार दलको मोर्चा बनेपछि कसैको सातो गएको छ,’ उनले भने, ‘सातो नगए हुन्छ, किनकि मोर्चा कुनै पार्टीविरुद्ध लक्षित छैन ।’ 

जसपा अध्यक्ष उपेन्द्र यादवले ऐन, कानुन नबन्दा संघीयता संस्थागत गर्न चुनौती देखिएको बताए । ‘प्रदेशको आफ्नो प्रहरी छैन, कर्मचारी छैन । यस्तो पनि सरकार हुन्छ ?’ उनले भने, ‘यही अवस्था कायम रहे संघीय गणतन्त्र सिद्धिन सक्छ ।’ उनले नेपालमा लोकतन्त्रविरोधी शासन ल्याउने प्रयत्न भइरहेको दाबी गरे । ‘परिवर्तनलाई संस्थागत गर्ने, सामाजिक, आर्थिक रूपान्तरण गर्ने वेला यही हो,’ उनले भने, ‘यही समयमा मुलुक अगाडि बढ्न सकेन र मोर्चाले गर्न सकेन भने पछि यी काम हुँदैनन् ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेक्रविक्रम चन्दले भूमण्डलीकरणको प्रभावले नेपालमा वैदेशिक चलखेल बढेको दाबी गरे । विश्वको भूराजनीतिक धु्रवीकरण र त्यसले पारेको प्रभावका कारण मुलुक इतिहासकै सर्वाधिक राजनीतिक जटिल मोडमा पुगेको बताए । ‘भूमण्डलीकृत अन्तरविरोधले समाजमा अन्योल बढाएको छ । क्रान्तिका नायकहरूप्रति हमला गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘त्यसका विरुद्ध मोर्चा एक भएर लाग्छ ।’