मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २९ सोमबार
  • Tuesday, 17 December, 2024
२o८o असोज २९ सोमबार o८:२९:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

यसपालि पनि बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना अधुरै

आयात गर्नेबारे बंगलादेशले विद्युत् प्राधिकरणलाई दिएको छैन कुनै जवाफ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार o८:२९:oo

मनसुन (बर्खा) सकिएसँगै नेपालले विद्युत् निर्यात गर्न सक्ने मौसम पनि सकिँदै छ । अब नेपाल विद्युत् प्राधिकरणले करिब दुई महिना मात्रै विद्युत् निर्यात गर्न सक्छ । तर, आवश्यक प्रक्रिया नटुंगिँदा यही सिजनमा नेपाल–बंगलादेश विद्युत् व्यापार सुरु गर्ने योजना अधुरै हुने देखिएको छ । 

प्राधिकरणले कात्तिक ०७८ देखि बर्खाको समयमा भारतीय खुला बजारमा प्रतिस्पर्धी मूल्यमा विद्युत् निर्यात गर्दै आएको छ । अहिले भारतमा ६ सय ३२ मेगावाट विद्युत् निर्यात भइरहेको छ । यो बर्खादेखि ४० मेगावाट बिजुली भारतीय प्रसारणलाइन प्रयोग गरेर बंगलादेशमा पुर्‍याउने योजना थियो । तर, नेपाल, भारत र बंगलादेशबीच प्रक्रिया नटुंगिँदा यो बर्खा बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना अधुरै हुने देखिएको हो । 

गत जेठ पहिलो साता बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक कमिटी (जेएससी)को पाँचौँ बैठकमा बंगलादेशले पहिलो चरणमा नेपालबाट ४० मेगावाट विद्युत् किन्ने सहमति भएको थियो । त्यसका लागि भारतलाई समेत सहभागी गराएर त्रिपक्षीय विद्युत् बिक्री सम्झौता (पिएसए–पिपिए) गर्ने सम्झदारी भएको थियो । भारतीय भूमि र प्रसारणलाइन प्रयोग गर्नुपर्ने हुँदा त्रिपक्षीय सम्झौता अपरिहार्य थियो ।

सोहीअनुसार नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बंगलादेशबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)बीच त्रिपक्षीय सम्झौता गरिने भनिएको थियो । सम्झौतापछि यही बर्खादेखि विद्युत् निर्यात गर्ने योजना थियो । तर, तीन निकायबीच अझै उक्त सम्झौता हुन सकेको छैन । साथै, हालसम्म कुन दरमा विद्युत् बिक्री गर्ने भनेर टुंगो पनि लागेको छैन । फलस्वरूप यो बर्खामा विद्युत् निर्यात गर्ने योजना करिब असफल हुने देखिएको प्राधिकरणको भनाइ छ । 

पिपिएको मस्यौदामा समेत नेपालसहित भारत र बंगलादेशले सहमति जनाइसकेका छन् । तर, त्यसमा अझै त्रिपक्षीय हस्ताक्षर भने भएको छैन । पछिल्लो समय स्वयं बंगलादेशले नै बेवास्ता गरेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । फलस्वरूप गप प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि यस सम्बन्धमा पछिल्लो समय कुनै काम नभएको बताए । ‘पिपिए दर बसेर नै तोक्ने योजना छ । यद्यपि, भारत र बंगलादेशले पिपिएको मस्यौदामा सहमति जनाएका छन् । तर, त्यसपछि यसबारे कुनै काम भएको छैन,’ उनले भने, ‘यसबारे हामीले पटक–पटक बंगलादेशलाई ताकेता पनि गरेका छौँ । तर, बंगलादेशले कुनै जवाफ पठाएको छैन, हामी मात्रै के गर्ने ? सायद, त्यहाँको आन्तरिक राजनीतिक कारणले यसमा ढिलाइ भएको होला ।’

बंगलादेशमा चाहेको अवस्थामा १० दिनमै पिएसए (पिपिए)मा हस्ताक्षर गर्न सकिने घिसिङ बताउँछन् । ‘हामी यसमा तयार नै छौँ । भारतले पनि सहयोग गर्ने भनिसकेको छ । तर, पछिल्लो समय स्वयं बंगलादेशले यसमा कुनै प्रतिक्रिया जनाएको छैन,’ उनले भने, ‘बंगलादेश तयार भएको अवस्थामा १० दिनमा पिपिए सम्झौता गर्न सकिन्छ ।’प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले पनि बंगलादेशबाट थप जानकारी नआएको बताए ।

फलस्वरूप यो सिजनमा बंगलादेशमा विद्युत् निर्यात हुने सम्भावना न्यून रहेको उनको भनाइ छ । ‘यो वर्ष विद्युत् निर्यात गर्न सकिने समय अब एक–दुई महिना मात्रै बाँकी छ । यो अवस्थामा हामी केवल आशा गर्न सक्छाैँ, तर गाह्रो छ,’ उनले बताए ।  बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ । उक्त आयोजनाको बिजुली आफ्नो प्रसारणलाइन हुँदै बंगलादेश लैजान भारतले स्वीकृति दिइसकेको छ । बंगलादेशमा पनि विद्युत् निर्यात गर्न निश्चित आयोजनालाई स्रोत देखाएर भारतबाट पूर्वस्वीकृति लिनुपर्ने भारतीय सर्त छ । सोहीअनुसार भारतबाट स्वीकृति लिँदासमेत थप काम हुन नसकेको प्राधिकरणको भनाइ छ । 

नेपाल र बंगलादेश एक–अर्कामा सीमा जोडिएका देश होइनन् । विद्युत् व्यापार गर्न दुई देशबीच डेडिकेटेड अन्तरदेशीय प्रसारणलाइन पनि छैन । त्यसैले तत्काललाई भारतीय प्रसारणलाइन हुँदै बंगलादेश विद्युत् पु¥याउने योजना छ । यसमा भारतले ह्विलिङ चार्जबापत केही रकम पाउनेछ । भारतमा प्रसारणलाइन प्रयोग गर्दा एक युनिट विद्युत्को ५० पैसा  (भारु) ह्विलिङ चार्ज तिर्नुपर्छ । तर, यसमा कति तिर्ने भनेर अझै खुलाइएको छैन । 

नेपालमा विद्युत्को स्रोत भनेको नै जलविद्युत् हो, जुन नदी प्रवाह (आरओआर)मा आधारित छ । हिउँदमा खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि कम हुन्छ । त्यसअनुसार हिउँदमा नेपालमा विद्युत् उत्पादन कम हुन्छ, स्वदेशी माग धान्न भारतबाट नै विद्युत् आयात गरिँदै आइएको छ । तर, बर्खामा खोलामा पानी बढी हुँदा पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यसवेला स्वदेशी मागभन्दा पनि बढी बिजुली उत्पादन हुन्छ । यो समयमा नेपालले विद्युत् निर्यात नै गर्न सक्छ । सामान्यतया जेठ–असारदेखि कात्तिक–मंसिरसम्म विद्युत् निर्यात गर्न सकिन्छ । त्यसअनुसार बंगलादेशसँग तत्काल प्रक्रिया पूरा गर्न सके यो सिजनमा एकै महिना भए पनि विद्युत् निर्यात गर्न सकिन्छ । यो सिजनमा विद्युत् निर्यात गर्न नसके अर्काे वर्ष पर्खिनुपर्छ । 

नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्ने भनेर २०१८ मा सहमति भएको थियो । सोहीअनुसार ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिसमेत गठन भएर हरेक वर्ष बैठक बस्दै आएको छ । सोही समितिमार्फत नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको अवधारणा अघि बढाइएको थियो । ०७९ भदौमा काठमाडौंमा सम्पन्न ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले कात्तिक ०७९ भित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने बताएको थियो । तर, भारतसँग समयमै समन्वयन नहुँदा त्यो सफल हुन सकेको थिएन ।

गत फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्मको विद्युत् बंगलादेश लैजान दिने सहमति गरेको थियो । त्यसपछि नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो । त्यसपछि गत जेठमा भएको नेपाल–बंगलादेश ऊर्जा बैठकमा यही बर्खामा विद्युत् व्यापार गर्ने योजना थियो । तर, त्यो पनि अधुरै हुने देखिएको छ ।

 बंगलादेशले किन किन्छ नेपाली बिजुली ?  
अहिले बंगलादेशले कोइला तथा डिजेल पावर प्लान्टबाट विद्युत् उत्पादन गर्दै आएको छ । तर, डिजेल र कोइलाको मूल्य अत्यधिक मात्रामा बढ्दा बंगलादेशको विद्युत् उत्पादन पनि स्वतः महँगो भएको छ । त्यसमाथि डिजेल तथा कोइला पावर प्लान्टका कारण बंगलादेशको वातावरण प्रदूषण पनि बढ्दो छ । त्यो अवस्थामा बंगलादेशलाई वातावरणीय प्रदूषण कम गर्नुपर्ने दबाब छ । तर, बंगलादेशसँग डिजेल तथा कोइला पावर प्लान्ट बन्द गर्न अन्य विकल्प छैन । न त्यहाँ सोलार राख्ने जमिन छ, न त नेपालको जस्तो स्वच्छ जलविद्युत् उत्पादन गर्ने सम्भावना छ । त्यसकारण बंगलादेशले बिजुली आयात गर्नुपर्ने बाध्यता छ ।   

अहिले बंगलादेशमा विद्युत्को माग २५ हजार मेगावाट हाराहारी छ । बंगलादेशले सन्् २०४० सम्म छिमेकी मुलुकबाट ९–१० हजार मेगावाट विद्युत् किन्ने भनिसकेको छ । त्यसमा अधिकांश विद्युत् नेपालबाट किन्ने हो । किनकि बंगलादेशले खोजेको स्वच्छ ऊर्जा हो, जुन नेपालमा पर्याप्त छ ।

उता भारतमा पनि अधिकांश विद्युत् कोइलाबाट उत्पादन गरिन्छ । त्यसमाथि भारतले पनि नेपालबाटै विद्युत् आयात गर्दै आएको छ । त्यो अवस्थामा बंगलादेश नेपाली बिजुलीका लागि ठूलो बजार हो । साथै, बंगलादेशलाई पनि नेपाली बिजुलीको अपरिहार्य छ । तर, पछिल्लो समय स्वयं बंगलादेशले नै यसलाई बेवास्ता गर्दै आएको छ ।