१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o८:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बन्द हुने अवस्थामा द्रुत बस सेवा

पूर्वाधार निर्माण र ट्राफिक व्यवस्थापनमा समस्या भएको व्यवसायीको आरोप

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:१३:oo

करिब एक महिनाअघि (३ असोजमा) तामझामका साथ सुरु भएको द्रुत बस सेवा बन्द हुने अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कस्थित शान्तिवाटिकामा विशेष कार्यक्रम आयोजना गरी सेवा सुरु गरे पनि सडकसहितका पूर्वाधार व्यवस्थापनमा चासो नदिँदा बन्द हुने अवस्थामा पुगेको हो । 

द्रुत बस सेवामा आबद्ध व्यवसायीका अनुसार सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन कमजोर भएका कारण बस सञ्चालन गर्न नसक्ने अवस्था आएको हो । यातायात व्यवसायी र सरकारबीच २५ वटा बस द्रुत सेवाअन्तर्गत सञ्चालन गर्ने उल्लेख छ । तर, सरकारले आवश्यक पूर्वाधार व्यवस्थापन नगरिदिएको व्यवसायीहरूको भनाइ छ । सरकारले ३ असोजदेखि भक्तपुर सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गरेको थियो । तर, झन्झट धेरै भएको, डेडिकेटेड लेनमा गुडाउन नपाएको, ट्राफिकले सहजीकरण नगरेका कारण व्यवसायीले बस चलाउन छाडेका छन् । उनीहरूले पूर्वाधार र ट्राफिक व्यवस्थापन सहज भए मात्रै पुनः सेवा दिन तयार हुने माग यातायात व्यवस्था विभागसँग राखेका छन् । 

आवश्यक पूर्वाधारविना नै हतारमा सुरु गरेको दु्रत बस सेवाले यतिवेला पाइला–पाइलामा अवरोध व्यहोरिरहेको छ । जसका कारण अन्य बस र द्रुत बस गन्तव्यमा पुग्ने समय उस्तै–उस्तै छ । अन्य सवारीसाधन प्रयोगकर्ताले एम्बुलेन्सलाई बाटो छाडिदिए पनि दु्रत बसलाई छेक्ने गरेका छन् । ट्राफिकले पनि सहजीकरण नगरिदिएको व्यवसायीहरू नै बताउँछन् । यसअघि सरकारले सुरु गरेको रात्रिकालीन बस सेवा पनि पूर्वाधार र संरचना निर्माण गर्न नसकेर बन्द भएको थियो । तर, त्यही अवस्था दु्रत बस सेवामा पनि देखिन थालेको छ । सरकारले ट्राफिक व्यवस्थापन र सहज पूर्वाधार निर्माण नगरिदिए यस किसिमको बस सेवा दिन तयार नहुने अडान व्यवसायीको छ । 

निर्धारित समयमा कहिल्यै पुगेन द्रुत बस
उद्घाटनका दिन ट्राफिक व्यवस्था कडा पारेर शान्तिवाटिकादेखि सूर्यविनायकसम्म मन्त्री ज्वालासहितको टोली ४५ मिनेटमा पुगेको थियो । तर, त्यसयता भने अस्तव्यस्त ट्राफिक व्यवस्थापन र पूर्वाधारको कमीका कारण प्रभावकारी बन्न सकेन । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारी पक्षबाट पूर्वाधार र ट्राफिक व्यवस्थापनमा सहजीकरण नभएको बताए । ‘व्यवसायी यस प्रकारको बस सेवा सञ्चालन गर्न पछि हटेका होइनन्, तर सरकारले आवश्यक सहयोग गरिदिएन,’ उनले भने, ‘सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन नगरिदिने हो भने यस प्रकारको बस सेवा सञ्चालन गर्न सकिँदैन ।’ उनका अनुसार यसमा व्यवसायीको भन्दा पनि सरकारको कमजोरी छ ।

सरकारले दु्रत बस हिँड्ने रुटमा पूर्वाधार व्यवस्थित बनाउनुपर्छ । ‘सडकमा मोटरसाइकलको कुरूप हटाउन र सार्वजनिक यातायातमा आकर्षण बढाउन यस्तो किसिमको बस सेवा सञ्चालन गरिएको थियो,’ वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘तर, सरकारले पूर्वाधारलाई व्यवस्थित बनाएको छैन,’ उनले भने, ‘विदेशमा यस्तो किसिमको बसलाई छुट्टै किसिमको पूर्वाधार हुन्छ, हामीकहाँ पनि पूर्वाधार व्यवस्थित बनेन भने यो किसिमको बस सेवा सञ्चालन गर्न सकिँदैन ।’

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले व्यवसायीहरूलाई दु्रत बसको नियमअनुसार चल्न बाध्य नपारिएकाले चल्ने वा नचल्ने निर्णय व्यवसायीमै भएको बताए । ‘हामीले व्यवसायीलाई सहज हुने कुनै सुविधा दिएका छैनौँ, उहाँहरू यो नियमअनुसार चल्न बाध्यकारी हुनुपर्छ भन्ने पनि होइन,’ उनले भने, ‘एउटा प्रतिबद्धता र आग्रह हो, यसमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सहजीकरण पनि गरेको छ, सायद दसैँका वेला भएर बन्द भएको होला ।’ दु्रत बसको रुट र नियममा चल्ने बसलाई पनि रुट परमिट खुला भएकाले ती बस रिजर्भ, लोकललगायत रुटमा चल्न थालेका छन् । 

तर, दसैँपछि ती बसहरू द्रुत बसकै नियममा चल्ने प्रवक्ता पनेरूले जानकारी दिए । त्यसो त पछिल्लो समय दु्रत बस सेवाबारे पनि विभिन्न टीका–टिप्पणी आइरहेका छन् । सडकमा रङ लगाउन ठूलो रकम खर्च गरे पनि यस प्रकारको बस सेवा प्रभावकारी नबनेको आलोचना हुने गरेको छ । 

ad
ad