
जन्तेढुंगा गाउँपालिका– ५ चिसापानीमा बजार अनुगमनमा गएको टोलीलाई व्यवसायीले गोदाम अनुगमन गर्न अवरोध गरेका छन्। दसैँ, तिहार नजिकिँदै गर्दा बजार अनुगमनका लागि इलाका प्रशासन कार्यालय खोटाङ बजारबाट पुगेको अनुगमन टोलीलाई व्यवसायीले गोदाम हेर्न अवरोध गरेका हुन्।
पहिलो व्यवसायीको गोदाम अनुगमन गरेपछि दोस्राे व्यवसायीको गोदाम अनुगमन गर्ने क्रममा व्यवसायीबाट अवरोध भएको इलाका प्रशासन कार्यालय खोटाङ बजारका प्रमुख मोहनबहादुर राईले बताए। इलाका प्रशासन कार्यालय प्रमुख राईका अनुसार अनुगमन टोलीले चिसापानी बजारका सबै खुद्रा पसल अनुगमन सकेपछि पुनः गोदाम अनुगमन गर्न खोज्दा व्यवसायीले अवरोध गरेका हुन्।
सुरुमा गोदाम नहेरी पसलबाहिर राखिएका सामान मात्र अनुगमन गरेको टोलीलाई साना खुद्रा व्यवसायीले गोदाम अनुगमन गर्न आग्रह गरेपछि अनुगमन टोलीले गोदाम हेर्न थालेका थिए। स्थानीय गोदामबाट खरिद गरेर पसलमा राखेको उपभोग्य वस्तुको म्याद नाघेको पाइएपछि र अनुगमन टोलीले जफत गरेपछि साना खुद्रा व्यवसायीले गोदाम अनुगमन गर्न आग्रह गरेका थिए।
‘अनुगमन गर्दा भारी मात्रामा म्याद नाघेको खाद्यवस्तु भेटियो । साना व्यवसायीले तिनै गोदामबाट सामान लगेर बिक्री गर्ने गरेका रहेछन्,’ अनुगमन टोलीका संयोजकसमेत रहेका कार्यालय प्रमुख राईले भने, ‘गोदामबाट ल्याएर पसलमा राखेको सामान म्याद नाघेको पाइएपछि गोदाम नै अनुगमन गर्नुपर्छ भन्ने माग उठ्यो । पहिलो गोदाम सकेर दोस्राे गोदाम हेर्न खोज्दा लफडा भयो।’
अनुगमन टोलीले चिसापानी बजारबाट म्याद नाघेका एक ट्याक्टर सामान बरामद गरेर नष्ट गरेको जनाइएको छ। सो क्रममा रु. एक लाख ६९ हजार तीन सय २० बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको जन्तेढुंगा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए।
आउँदै गरेको चाडपर्वको अवसरमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित सबै स्थानीय तहमा बजार तथा पसल अनुगमनलाई तीव्रता दिएको छ। इलाका प्रशासन कार्यालय रहेको स्थानीय तहमा इलाका प्रशासनको नेतृत्वमा तथा अन्य स्थानीय तहमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अनुगमन गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए।