
सुदूरपश्चिमको विकट हिमाली जिल्ला बाजुरामा उत्पादित स्याउले सदरमुकाम धनगढीमा बजार पाउन थालेको छ । धनगढी बसपार्कबाट बाजुरामा उत्पादित स्याउको बिक्री–वितरण सुरु भएपछि भारत र चीनबाट आयात हुने स्याउको बिक्रीमा समेत कमी आउन थालेको फलफूल व्यवसायीले जानकारी दिएका छन् ।
बाजुराको स्वामीकात्तिक खाँपर गाउँपालिका, कृषि ज्ञानकेन्द्र ४०–४० प्रतिशत र र फ्युचर स्याउ कृषक समूहले २० प्रतिशत ढुवानीमा अनुदान दिएकाले बजारीकरणका लागि धनगढी ल्याइएको हो । फ्युचर स्याउ कृषक समूहका अध्यक्ष धनबहादुर रोकायाले ढुवानी अनुदानले उत्पादित स्याउको बजारीकरणमा सहयोग पुगेको बताए । सडक सञ्जाल नहुँदा बाजुराका किसानले उत्पादन गरेको स्याउ बिक्रीमा समस्या भोग्दै आएका छन् । कर्णाली प्रदेशको दैलेख, सुर्खेत हुँदै लुम्बिनी प्रदेशको बाँके र बर्दिया भएर स्वामीकात्तिकमा उत्पादन भएको स्याउ कैलाली ल्याइपु¥याइएको स्याउ उत्पादक किसान कर्ण रोकायाले बताए ।
गाउँपालिकासम्म ढुवानीका लागि ट्रक गुड्ने बाटो नभएकाले कर्णाली प्रदेश भएर धनगढी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । स्तरीय ग्रामीण सडक नहुँदा दुर्गममा उत्पादित स्याउले बजार र उचित मूल्य पाउन सकेको छैन । कृषि ज्ञानकेन्द्रका अनुसार बाजुरामा करिब तीन सय ७० हेक्टरमा स्याउ खेती गरिएको छ । यस वर्ष बाजुरामा एक हजार एक सय ३७ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान केन्द्रले गरेको छ । त्यसमध्ये २० मेट्रिकटन स्याउ धनगढी पुगाउने लक्ष्य राखिएको छ ।
बाजुरामा उत्पादित ‘अर्गानिक’ स्याउको मूल्य प्रतिकिलो एक सय ३० रुपैयाँ तोकिएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बाजुरामा उत्पादित स्याउको बजारीकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । ‘प्रदेश सरकारले कृषिबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । त्यसैले कृषिउपजको बजारीकरणमा सहयोग गर्छौँ,’ उनले भने ।