१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सक कुटपिट गर्ने दुईजना कारागार चलान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५९:oo

तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुईजना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही रु एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । 

प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पेस हुँदा कास्की जिल्ला अदालतबाट उनीहरूलाई कारबाहीको फैसला गरिएको हो । कारागार चलान हुनेमा पोखरा महानगरपालिका–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैगरी, घटनामा संलग्न पोखरा–४ का सुजित मुल्मी, पोखरा–५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा–९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा–२० का मनीष थापा र पोखरा–११ प्रदीप गुरुङ जनही रु एक लाख धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उनका अनुसार अझै पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ। 

यही असोज ८ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको अस्पतालमा उपचारका क्रममा निधन भएपछि पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृतकका आफन्तले कुटपिट गरेका थिए । बिरामीको मृत्युपछि उपचारमा डाक्टरको लापर्बाहीको कारण बिरामीको मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए । 

अस्पताल तोडफोड गरेपछि कास्की प्रहरीले नौजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पोखराको मणिपालका अस्पतालको घटनालाई लिएर कास्कीसहित देशभरका चिकित्सकले आकस्मिकबाहेकको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए । सरकारले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीको प्रतिबद्धता जनाएपछि चिकित्सक काममा फर्किएका थिए।