
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवानिवास धुम्बाराहीमा केहीबेरमा बैठक बस्दै छ ।
कोशी प्रदेशमा आगामी सरकार गठनबारे पार्टीका प्रदेश सांसदहरू विभाजित भएपछि देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
कोशीमा नयाँ सरकार गठनका लागि आह्वान भएको निर्धारित समयको अन्त्यतिर सत्तागठबन्धनको निर्णयविपरीत कांग्रेस सांसद केदार कार्कीले आफ्ना सात सांसदसहित एमालेका सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसमा तरंग उत्पन्न भएको छ ।
सत्तागठबन्धनको तर्फबाट भने कांग्रेसका अन्य सांसदले माओवादीका सांसद इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । पार्टीभित्र इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाको निर्देशनमा कार्कीले मुख्यमन्त्रीमा दाबी गरेको विषयले कांग्रेसभित्र नयाँ विवाद जन्माएको छ ।