
सिद्धार्थ बैंकले आव ०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीका लागि प्रदान गरिने लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात् मात्र वितरण गरिने जनाइएको छ । बैंकले आव ०७९/८० मा तीन अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको र यो मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २६ करोड रुपैयाँ अर्थात् ९ दशमलव ११ प्रतिशतले बढी रहेको बैकको भनाइ छ । जसमध्ये वितरणयोग्य मुनाफा ६६ करोड रुपैयाँ कायम रहन आएको बैंकले जनाएको छ ।
बैंकले आव ०७९/८० को खुद मुनाफाबाट एक अर्ब ४६ करोड रुपैयाँ ऋणपत्रका लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गरेकाले वितरणयोग्य मुनाफामा संकुचन आएको उल्लेख गरेको छ । यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भएपश्चात् सेयरधनीलाई नै वितरण गरिने बैंकको भनाइ छ । विनियोजित रकमसमेत गणना गर्दा बैंकको वास्तविक वितरणयोग्य मुनाफा दुई अर्ब १२ करोड रुपैयाँ हुन आउने र प्रतिशतको हिसाबमा १५ दशमलव ०७ प्रतिशत रहेको बैंकले जनाएको छ ।