
काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको छात्रवृत्तिमा पढेका विद्यार्थीसँग विद्यालयहरूले शुल्क मागेको गुनासो आएको छ । कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका उनीहरूबाट विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क माग गरेको आरोप छ ।
विद्यार्थीबाट गुनासो आएपछि महानगरपालिकाले छानबिन तथा अनुगमन थालेको छ । शिक्षा विभागका शिक्षा अधिकृत नेत्रनारायण पौडेल, मेयर बालेन्द्र साह (बालेन)को सचिवालयबाट सस्मित पोखरेल र सहरी योजना आयोगबाट सहायकविज्ञ शैलेन्द्र झाको टोलीले मंगलबारबाट छानबिन र अनुगमन सुरु गरेको हो ।
छात्रवृत्तिमा अध्ययन गरिरहेकामध्ये १० वटा विद्यालयले शुल्क लिएको उजुरी आएको महानगरको भनाइ छ । सोमबार, मंगलबार र बुधबार तीन दिनमा अनुगमन टोलीले गोल्डेन गेट, ग्लोबल, सिफल सेकेन्डरी स्कुल (डियरवाक), काठमाडौं मोडेल कलेज, एभरेस्ट फ्लोरिडा, सिसिआरसी गरी ६ वटा विद्यालयको अनुगमन गरेको छ । यीमध्ये एभरेस्ट फ्लोरिडाबाहेक अरू विद्यालयले कुनै न कुनै शीर्षकमा शुल्क माग गरेको देखियो ।
छात्रवृत्तिका विद्यार्थीसँग मासिक नौ हजारसम्म लिएको फेला
मेयरको सचिवालय सदस्य पोखरेलका अनुसार विद्यालयले विभिन्न शीर्षकमा नौ हजार पाँच सयसम्म शुल्क मागेको देखिएको छ । ‘सिफल स्कुलले मासिक नौ हजार पाँच सय रुपैयाँसम्म माग गरेको देखियो,’ पोखरेलले भने । पोखरेलका अनुसार पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ताजस्ता शीर्षकमा शुल्क मागेको देखिन्छ । अनुगमनपछि विद्यालयहरूले छात्रवृत्ति कोटामा भर्ना भएका विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउने बताएका छन् ।
महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, ०७४ को परिच्छेद १० मा कुल विद्यार्थीको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेनदार, विपन्न, असहाय तथा गरिब, अपांग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार महानगरपालिकाले कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीबीच परीक्षा लिएर म्याचिङ लिस्टबाट नाम सिफारिस गरेको हो । यसरी सिफारिस गरिएका विद्यार्थीले कक्षा ११÷१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्दैन ।
शुल्क उठाउने विद्यालयलाई कारबाही गर्ने
छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीसँग शुल्क उठाउने विद्यालयहरूलाई कारबाही गर्ने महानगरपालिकाको तयारी छ । छात्रवृत्ति र शुल्कसँग सम्बन्धी गुनासो गर्नुपरे छानबिन तथा अनुगमन टोलीका अधिकारीहरूसँग (नेत्रनारायण पौडेल, ९८५११९९९४५, सस्मित पोखरेल, ९८४००७१५५५ र शैलेन्द्र झा ९८५११४६८९६)लाई फोन गर्न सकिने महानगरले जनाएको छ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अनलाइन प्रणालीबाट आवेदन माग गरेको थियो ।
यसबाट तीन हजार नौ सय १३ जना छात्र र दुई हजार एक सय चार छात्रा गरी ६ हजार १७ जनाले आवेदन दिएका थिए । २० साउनमा लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये तीन हजार चार सय छात्र र एक हजार सात सय ७२ छात्रा गरी पाँच हजार एक सय ७२ विद्यार्थी सहभागी थिए । २९ साउनमा दुई हजार तीन सय २२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ लिस्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको थियो ।