१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गत वर्षको दसैँमा सर्वसाधारणलाई नयाँ नोट बाँड्दै राष्ट्र बैंकका कर्मचारी ।फाइल फोटो
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:५१:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दक्षिणामा नयाँ नोट

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५१:oo

दसैँ–तिहारमा आफूभन्दा ठूलाबडाबाट आशीर्वादसँगै दक्षिणा लिने–दिने परम्परामा परिवर्तन आउन थालेको छ । नेपाल राष्ट्र बैंकले बर्सेनि दसैँलाई लक्षित गरी बजारमा नयाँ नोटको वितरण गर्दै आइरहेको छ । तर, पछिल्लो समय नयाँ नोटको माग बढ्न नसकेको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । 

नयाँ नोट मुद्रण गरी बजारमा पठाउने जिम्मेवारी बोकेको मुद्रा व्यवस्थापन विभागमा विगत केही वर्षयता नयाँ नोटको कोटा बढाउनुपर्ने माग नआएको कार्यकारी निर्देशक नरेश शाक्य बताउँछन् । उनी भन्छन्, ‘३–४ वर्षयता नयाँ नोट साट्नेको भिड देख्न पाइएको छैन । त्यस्तै, वितरण गर्ने कार्यालय तथा बैंकहरूले पनि नोटको माग नबढेको बताएका छन् । समग्रमा नोटको माग नै बढ्न नसकेको बुझेका छौँ ।’

यसपालि पनि अघिल्ला वर्षहरूजस्तै एकजनाले बढीमा १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट साट्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । परम्परागत रूपमा चाडपर्वमा (खासगरी दसैँमा) कमाइको रकमलाई नयाँ र सफा नोटमा सटही गर्ने चलन छ । त्यसमा पनि साना दरका नोट बढी प्रचलनमा आउने प्रमुख माध्यम नै दसैँ हो । तर, डिजिटल वालेटहरूको बढ्दो प्रयोगले नयाँ नोटको कारोबारलाई विस्थापित गर्दै लगेको छ । 

कोभिडले ल्याएको क्रान्ति
नेपालमा डिजिटल वालेटको प्रयोग सुरुवात सन् २००९ मा ई–सेवाले गरेको मानिन्छ । त्यसलगत्तै खल्ती, प्रभु, आइएमई पेलगायत थुप्रै डिजिटल पेमेन्ट प्लेटफर्म खुले । तर, यसको प्रयोगलाई बढोत्तरी गर्ने काम कोभिड–१९ ले गरेको हो । 
अर्थशास्त्रको सामान्य माग र आपूर्तिको सिद्धान्तको रूपमा डिजिटल वालेटको बढी प्रयोग यही समयमा भयो । सरकारले लामो समयसम्म घरबाहिर निस्कन नदिने नीति लिएपछि इन्टरनेट सेवामा आधारित व्यवसाय फस्टाउन थाल्यो । जसमा सबैभन्दा बढी डिजिटल भुक्तानीले बजार बढाउने अवसर पायो । 

कोभिडपछि सर्वसाधारणको आर्थिक लेनदेन गर्ने बानीमा परिवर्तन आएको छ । लामो समयसम्म कोभिड संक्रमणबाट बच्न मानिसहरू एक–आपसमा भौतिक दूरी कायम गर्ने बानीले उनीहरूको जीवनशैलीमा परिवर्तन ल्यायो । परिणामतः पछिल्ला दुई वर्षमा डिजिल माध्यमबाट आर्थिक लेनदेन फस्टाएको छ । होटेलमा खाना खान होस् वा थिएटरमा गएर फिल्म हेर्न, मोबाइल मात्रै लिएर जान्छन् । नुनदेखि सुनसम्मको भुक्तानी मोबाइलको एक क्लिकबाटै हुने भएकाले डिजिटल भुक्तानी आममानिसको दैनिकी बनेको छ । 

दैनिक जीवनमा डिजिटल भुक्तानीले वर्चस्व बढाउँदै गए पनि दसैँ सांस्कृतिक चाड भएकाले यो समयमा अपेक्षित रूपमा डिजिटल वालेटको प्रयोग बढ्न नसकेको डिजिटल भुक्तानी सेवाप्रदायक बताउँछन् । खल्ती पेका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘आममानिसको दैनिक जीवनमा डिजिटल भुक्तानी माध्यमले ठूलो क्रान्ति गरे पनि दसैँको समयमा भने नोटकै प्रचलन कम हुन सकेको छैन । हामीले विभिन्न स्किम ल्याउने गरेका छौँ । तर, मानिसले आफ्नो संस्कृतिलाई पछ्याइरहने भएकाले नोट लेनदेन तत्कालै हट्ने सम्भावना छैन ।’

राष्ट्र बैंकले नोट फोहोर नबनाउने र अबिर नलगाउनेजस्ता सूचना वेलाबखत जारी गरिरहने भएकाले चाडपर्वमा नोटको प्रयोगमा भने कमी आइरहेको खड्काको भनाइ छ । त्यस्तै, कोभिडपछि भौतिक नोटको प्रचलनमा कमी आउँदा पनि डिजिटल वालेटको प्रयोगमा भने वृद्धि भइरहेको छ । त्यस्तै, क्युआरको माध्यमबाट दक्षिणा लिने–दिने संस्कृतिको समेत विकास भइरहेको उनको भनाइ छ । अर्को भुक्तानी सेवाप्रदायक ई–सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले दसैँ–तिहारलाई डिजिटल कारोबार बढाउने अवसरको रूपमा लिने गरिएको बताउँछन् । उनी भन्छन्, ‘समग्रमा डिजिटल कारोबार बढिरहेकै छ । तर, दसैँ–तिहार भनेको डिजिटल कारोबार बढाउने अवसर हो ।’ 

दसैँमा केन्द्रीय बैंक आफैँले नयाँ नोट सटहीको प्रचार गरी वितरण गर्ने भएकाले नगद कारोबार घट्न नसकेको उनी बताउँछन् । यही माहोलमा डिजिटल वालेटले प्रोमोसनल (प्रवद्र्धनात्मक) तरिकाले बजार रणनीति बनाइरहेको उनको भनाइ छ । यही माहोलमा डिजिटल वालेटले प्रोमोसनल (प्रवद्र्धनात्मक) तरिकाले बजार रणनीति बनाइरहेका हुन्छन् । दक्षिणा मात्रै होइन, दसैँको वेलामा घुम्ने प्रचलन बढ्ने भएकाले वालेटमार्फत ट्राभल टिकट खरिद पनि बढी हुने गर्छ । त्यसबाहेक डिजिटल दक्षिणा र दसैँलक्षित क्याम्पियनहरू आयोजना हुने गरेको छ । 

बजारमा चल्तीका मुद्रा छाप्ने निकाय नेपाल राष्ट्र बैंकले पनि यसपालि दसैँमा नयाँ नोटको खासै प्रचार नगर्ने बताएको छ । नोट सटहीलाई पनि क्युआर कोडमार्फत सजिलो बनाउने प्रयत्न केन्द्रीय बैंकको छ । बजारमा अन्य समयको तुलनामा दसैँ, तिहार र छठमा बढी नोट माग हुने भएकाले यतिखेर केन्द्रीय बैंकले बढी नोट छापेर बजारमा पठाउने गरेको छ । खासगरी, ५, १०, ५० र १०० रुपैयाँसम्मका साना दरका नोट बढी आपूर्ति हुने गरेका छन् । 

मोबाइल बैंकिङले ओगट्दै  ई–वालेटको स्थान
राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनसम्ममा मोबाइल बैंकिङका प्रयोगकर्ता दुई करोड १६ लाख ९१ हजार चार सय १४ पुगेको छ । ०७९ साउनको तुलनामा ३० लाख ४७ हजार ६ सय ४० ले बढेका छन् । त्यतिवेलासम्म यो संख्या एक करोड ८६ लाख ४३ हजार आठ सय ३४ थियो । तर, देशमा वालेट युजरको संख्या भने एक करोड ९५ लाख ४० हजार तीन सय पाँच छ । ०७९ साउनसम्म यो संख्या एक करोड ४० लाख ९४ हजार ६ सय २२ थियो । यसबीच, वालेट युजर ५४ लाख ४५ हजार ६ सय ८३ ले बढेका छन् । 

वालेट प्रयोगकर्ताकै सरह सुविधा हुने र बैंकहरूले पनि मोबाइल बैंकिङको प्रयोग बढाउँदै लगेकाले यसको प्रयोग बढ्दो क्रममा छ । राष्ट्र बैंकका अनुसार देशभर हालसम्म १० वटा भुक्तानी प्रणाली सञ्चालक कम्पनी छन् भने २६ वटा भुक्तानी सेवाप्रदायक छन् ।

आइएमई डिजिटल सोलुसन लिमिटेड ‘आइएमई पे’, ई–सेवा प्राइभेट लिमिटेड ‘ई सेवा’, सेलकम प्राइभेट लिमिटेड ‘सेल पे’, सिजी पे नेपाल प्राइभेट लिमिटेड ‘सिजी पे’, खल्ती प्राइभेट लिमिटेड ‘खल्ती’लगायतका भुक्तानी सेवा प्रदायकहरूले डिजिटल वालेट सञ्चालन गरिरहेका छन् । 

ad
ad