१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २५ बिहीबार o७:३६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पत्रकारलाई प्रविधिमा दक्षता बढाउन सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २५ बिहीबार o७:३६:oo

पत्रकारिताको स्वरूप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरूले सञ्चारकर्मीलाई सुझाव दिएका छन्। प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौंमा आयोजना गरेको तीनदिने तालिमको समापनका क्रममा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

काउन्सिलले पहिलो चरणमा बागमती प्रदेशका सबै जिल्लाका सहभागी पत्रकार महिलालाई तालिम दिएको हो । विषयविज्ञ वरिष्ठ पत्रकार युवराज घिमिरेले श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्वसँगै विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरीयता, सम्प्रेषण, प्रविधिको प्रयोग, अडियन्स र सेवाग्राहीको सुझावलाई विशेष ध्यान दिनुपर्ने बताए ।

मुलुकको राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक घटनाको यथार्थपरक सूचना जनतालाई दिनु पत्रकारको कर्म भएको भन्दै उनले जुनसुकै विषय पनि समाचार हुने, तर त्यसको उठान गर्ने तरिकाले अर्थ राख्ने बताए । समय र प्रविधिको विकाससँगै पत्रकारिता पेसालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने भन्दै घिमिरेले समयको मागसँगै छिटोछरितो र मल्टिमिडियायुक्त पत्रकारिता आजको आवश्यकता भएको बताए । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले पत्रकारिताको स्वरूप र परिभाषा फेरिएको भन्दै समयको मागअनुसारको पत्रकारिता वर्तमान युगको आवश्यकता भएको बताए । डिजिटल युग सुहाउँदो पद्धति तथा प्रवृत्ति अनुशरण गर्न सके मात्रै पत्रकारिता पेसामा टिक्न सकिने भन्दै उनले  काउन्सिलको तीनदिने तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिए । 

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको पर्याप्त ज्ञानविना अबको पत्रकारिता अघि बढ्न नसक्ने भन्दै काउन्सिलसहितका सरोकारवालाले प्रविधिमैत्री तालिम बढाउँदै लैजानुपर्ने बताए ।  हतारमा राम्रो काम गर्नुपर्ने पेसा भएकाले प्रविधिको सहायताले सघाउ पुग्ने उनकाे भनाइ थियो । ‘केही पत्रकारले आफूले जान्नुपर्ने कुरामा समेत ध्यान नदिएर अन्यत्र पेसा र सुविधामा बढी रुचि दिन्छौँ, यसले पनि समस्या ल्याउने गरेको छ,’ अध्यक्ष बस्नेतले भने । 

काउन्सिलका सदस्य एवं प्रशिक्षक दुर्गा भण्डारी पौडेलले पत्रकार आचारसंहिता, वर्तमान समयमा भएको पत्रकारिता तथा मिडिया कानुनको विषयमा प्रकाश पारिन् । मिडिया साक्षरता अहिलेको माग भएको उनको भनाइ थियो । तालिम समापनका क्रममा बोल्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले अब समाचारको कुनै डेटलाइन नहुने भन्दै जुनसुकै घटनाका समाचार तुरुन्तै प्रवाह गर्न पत्रकार तत्पर रहनुपर्ने बताए । उनले पत्रकारिताले परिष्कृत गर्न आगामी दिनमा पत्रकारलाई डिजिटल प्रविधिसँग खेल्न योग्य बनाउनुपर्ने बताए । 

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने आधार पत्रकारिता भएकाले पत्रकारले सत्यतथ्य र निष्पक्ष समाचार दिनुपर्ने बताए । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले पत्रकारितालाई समयानुकूल र प्रतिस्पर्धी बनाउन प्रविधिको ज्ञान र सीप आवश्यक हुने बताए । उनले मुलुकको जेठो प्रसारण संस्था रेडियो नेपालमा पनि रेडियो पत्रकारितालाई अब्बल बनाउन प्रविधिको उच्चतम प्रयोग थालिएको जानकारी दिए ।   

तालिमका क्रममा विषयगत विज्ञहरू नसना बज्राचार्य, अरुण कार्की, मात्रिका पौडेल, जनक नेपाल, विधान श्रेष्ठ, विमला तुम्खेबासहितले मोबाइल र डेटा पत्रकारिता, समाचारका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए ।