१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २४ बुधबार
  • Friday, 09 May, 2025
सोम सापकोटा, उपमहासचिव पदका उम्मेदवार 
मुना कुँवर काठमाडाैं
२o८o असोज २४ बुधबार १५:४२:oo
Read Time : > 2 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

भावनात्मक एकतासहित गैरआवासीय नेपाली संघ निर्माणका लागि मेरो उम्मेदवारी : सोम सापकोटा

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २४ बुधबार १५:४२:oo

उपमहासचिवमा तपाईंको उम्मेदवारी किन ? 

एनआरएनए सामूहिक नेतृत्वबाट सञ्चालित संस्था हो। त्यसैले कतिपय विषयमा व्यक्तिले चाहेअनुसार अगाडि बढ्न नसकेको मेरो अनुभव छ। एनआरएनएको २० वर्षको अवधिलाई हेर्दा विदेशमा बस्ने नेपालीको मात्र नभएर सिंगो राष्ट्रले नै अपेक्षा गर्ने हैसियतमा पुगेको छ। संगठनात्मक हिसाबले हेर्दा पनि संसारका ८६ देशमा एनआरएनएको संगठनात्मक सञ्जाल विस्तार भइसकेको छ।

संघको अभियानमा म सुरुवातदेखि नै सक्रिय छु। एनआरएनएका विभिन्न तहमा बसेर काम गर्ने सिलसिलामा म विभिन्न देश पुगेर त्यहाँका नेपालीको सुखदुःख बुझेको छु । प्रवासीको पीडा के हो भन्नेबारे अनुभूत मात्रै गरेको छैन, आफ्नो ठाउँबाट समाधानको पहलकदमी पनि लिएको छु। त्यसैले आगामी दिनमा संघलाई भावनात्मक एकतासहित गैरआवासीय नेपाली संघ निर्माण अभियानका लागि मेरो उम्मेदवारी हो।

आगामी निर्वाचनमा तपाईं विजय हुनुभयो भने तपाईंका कार्ययोजना के–के छन् ?

विदेशमा बस्ने नेपालीका साझा समस्याको पहिचान र दीर्घकालीन समाधान गर्न, वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीको अवस्था सुधार गर्न, विदेशमा बस्ने नेपालीको सामूहिक लगानीको प्रत्याभूति गर्न तथा नेपालको पर्यटन, कला, संस्कृतिका साथै पर्यटन प्रवर्द्धनात्मक काम गर्ने मेरो योजना छ। साथै वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक समस्यामा परेको अवस्थामा एनआरएनएको वैदेशिक रोजगार कोषमार्फत उनीहरूलाई सहयोग गर्ने व्यवस्था मिलाउनेछु। 

विभिन्न देशका जेलमा रहेका नेपालीलाई सहयोग गरेर स्वदेश फिर्ता गर्ने कार्यमा एनआरएनएलाई क्रियाशील बनाउनेछु। त्यस्तै, संस्थाको सुदृढीकरण गरी पूर्ण व्यवस्थित गर्न साथै, विश्वभरि छरिएर रहेका प्रवासी नेपालीलाई एउटै छानामुनि केन्द्रित गरी भाइचाराको सम्बन्ध विकास गर्दै प्रवास बस्ने नेपालीको साझा संगठन निर्माण गर्नेछु। गैरआवासीय नेपाली संघका केन्द्रीय कार्यालयलाई चुस्त बनाउनेछु। 

त्यस्तै, संघलाई संस्थागत र सशक्तीकरण गर्दै संस्थामा नयाँ पुस्ता र प्रविधिलाई एकै साथ अगाडि बढाउने दिशामा लागि पर्नेछु। संघलाई महिला, युवा, दोस्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै अभियानमा सबैलाई जोड्नेछु। सहभागिताको सुनिश्चितता गर्न पहल गर्नेछु तथा सचिवालयलाई थप व्यवस्थित मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाएर क्रियाशील बनाउन लागिपर्नेछु।  यसैगरी गोरखाहरूको समस्या समाधानमा पनि मेरो पहल निरन्तर रहनेछ।

यसअघि तपाईं संस्थाको प्रवक्ता हुनुहुन्थ्यो। आफ्नो जिम्मेवारी पूरा गर्दै संघका समस्यालाई कसरी नियाल्नुभयो ?

गत हामीले दुई वर्ष राम्रोसँग काम गर्न पाएनौँ। यो सर्वविदितै कुरा हो। यद्यपि, हामीले केही राम्रा कामहरू गर्‍याैँ। लामो समयदेखि अड्किएको एनआरएनएको नागरिकताको विषय, वैदेशिक रोजगारीमा गएकालाई आइपिओमा १० प्रतिशत कोटा तथा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्न सफल भयो। यो हाम्रा लागि ठूलो उपलब्धि हो। 

साथै मैले विभिन्न मुलुकमा गएर नेपालको पर्यटन प्रवर्द्धनका लागि धेरै कार्यक्रम गर्न पाएँ। यसरी हेर्दा संस्था आफैँमा भने समस्या छैन। तर, संस्थाभित्र विभिन्न विचारधाराका व्यक्तिहरू हुनुहुन्छ। सबैको आ–आफ्नै धारणा छ। संस्थाभित्र मतभिन्नता हुनु स्वाभाविक हो। यसैबीच पनि हामीले सकारात्मक कुरालाई खोज्न सक्नुपर्छ। समूहमा शक्ति हुन्छ। त्यसैले हामीले समूहमा बसेर काम गर्नुपर्छ । 

अन्त्यमा, तपाईंलाई किन भोट दिने ?

एनआरएनएमा मेरो यात्राको सुरुवात सन् २००६ मा पोर्चुगलबाट भएको हो। पहिलोपटक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यकारी सदस्य (सन २००६–२००७) तथा सन् २००८ देखि २०११ सम्म गैरआवासीय नेपाली संघ डेनमार्कको संस्थापक अध्यक्ष भएँ। 

त्यस्तै, सन् २०११ देखि २०१३ सम्म आइसिसीको सदस्य भएर काम गरेँ। सन् २०१३ देखि २०१५ सम्म आइसिसी युरोप क्षेत्रको उपसंयोजक भएँ। सन् २०१५–२०१७ सम्म आइसिसी सदस्य हुँदै सन् २०१७ देखि २०१९ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहकोषाध्यक्ष र २०१९ देखि २०२१ संघको सल्लाहकार भएर जिम्मेवारी पूरा गरेँ। 

यसैगरी हाल २०२१–२०२३ को मौजुदा कार्यसमितिमा प्रवक्ताको रूपमा संघमा क्रियाशील नै रहिरहेको छु। संस्थालाई मैले लामो समयदेखि नियाल्दै आएको छु। त्यसैले मेरो अनुभव र मैले अहिलेसम्म गरेको कामको मूल्यांकनका आधारमा पनि साथीहरूले मलाई भोट दिनुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु।