
तीन कीर्तिमान बनेको खेलमा श्रीलंकालाई एक सय दुई रनले हराउँदै दक्षिण अफ्रिकाले आइसिसी एकदिवसीय विश्वकपमा विजयी सुरुवात गरेको छ । दिल्लीमा कीर्तिमानी चार सय २८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा तीन सय २६ रन बनाएर अलआउट भएको थियो । श्रीलंकाको इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएका थिए । चारिथ असलंकाले ७९, कुशल मेन्डिसले ७६ र डासुन सनकाले ६८ रन बनाएका थिए । दक्षिण अफ्रिकाका जेरार्ड कोइटजीले सर्वाधिक तीन विकेट लिए ।
दक्षिण अफ्रिकाको तीन कीर्तिमान
तीन शतकको मद्दतमा दक्षिण अफ्रिकाले श्रीलंकालाई आइसिसी एकदिवसीय विश्वकपको इतिहासकै सबैभन्दा ठूलो चार सय २९ रनको कीर्तिमानी लक्ष्य दिएको थियो । यस खेलमा सर्वाधिक ठूलो स्कोर, एकै इनिङमा तीन खेलाडीको शतक र कम बलमा शतकको कीर्तिमान बनेका छन् ।
दिल्लीमा टस हारेर सुरुआती ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै चार सय २८ रन बनाएको थियो । विश्वकप इतिहासकै यो उच्च योगफल हो । यसअघि सन् २०१५ मा अस्ट्रेलियाले सिड्नीमा अफगानिस्तानविरुद्ध चार सय १७ रन बनाएको थियो । मध्यक्रमका एडेन मारक्रमले ५४ बलमा शतक बनाउने कीर्तिमान राखे । उनले १४ चौका र ३ छक्कासहित १ सय ६ रन बनाए । मारक्रमले विश्वकप इतिहासकै कम ४९ बलमा शतक पूरा गरेका हुन् । यअसघि सन् २०११ मा आयरल्यान्डका केभिन ओ ब्रायनले इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक हानेका थिए । ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक सन् २०१५ दक्षिण अफ्रिकाका एबिडी भिलियर्सले वेस्ट इन्डिजविरुद्ध ३१ बलमा प्रहार गरेका थिए ।
यसैगरी, विश्वकप इतिहासमा पहिलोपटक एकै खेलमा तीन शतक प्रहार भएका छन् । रास्सी भान डर डुसेन, क्विन्टन डी कक र मारक्रमले शतक बनाएका हुन् । डुसेनले एक सय १० बलमा एक सय ८ रन बनाएका थिए । ओपनर डी ककले ८४ बलमा एक सय रन बनाए । दोस्रो विकेटका लागि डुसेन र डी ककले दुई सय ४ रनको साझेदारी गरेका थिए । यसअघि सन् २०१५ तीन शृंखलामा तीन शतक प्रहार भएका थिए । तर, विश्वकपमा पहिलोपटक तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएका हुन् ।
बंगलादेशको विजयी सुरुवात
अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगलादेशले विश्वकपमा विजयी सुरुवात गरेको छ । एक सय ५७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ३४.४ ओभरमा चार विकेट गुमाउँदै भेट्टाएको थियो । बंगलादेशको जितमा दुई खेलाडीले अर्धशतक बनाएका छन् । नाज्मुल हसन सान्टोले सर्वाधिक ५९ रन बनाएका छन् । उनले ८३ बलमा ३ चौका र १ छक्का प्रहार गरेका छन् । मेहेदी हसन मिराजले ७३ बलमा ५ चौकासहित ५७ रनको योगदान गरेका थिए । कप्तान सकिब अल हसन १४ र लिटन दासले १३ रन बनाए ।
यसअघि धर्मशालामा टस हारेर सुरुआती ब्याटिङ गरेको अफगानिस्तानले ३७.२ ओभरमा मात्र एक सय ५६ रन बनाउन सक्यो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाएका थिए । यसैगरी, अजमतुल्लाह ओमरजाई र इब्राहिमले समान २२ रन बनाए । बंगलादेशका मेहेदी हसन मिराज र सकिब अल हसनले सर्वाधिक तीन विकेट लिएका थिए । ९ ओभरमा ३ मेडनसहित २५ रन खर्चिए । सकिबले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिएका थिए ।