मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Thursday, 09 January, 2025
२o८o असोज १९ शुक्रबार १३:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुगमनमा व्यापारीका प्रतिनिधि पनि रहने सहमतिपछि गोलबजार पुनः सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार १३:o२:oo

चाडपर्वको सँघारमा अनुगमनको नाममा व्यापारीहरूलाई दुःख दिएको भन्दै अनुगमन टोलीमाथि बुधबार गोलबजारमा भएको दुर्व्यवहारको विषयमा बिहीबार स्थानीय प्रशासनसँग छलफलसहित सहमति भएपछि शुक्रबारदेखि पुनः बजार खुला भएको छ।

जिल्ला प्रशासन कार्यालय सिराहामा प्रमुख जिल्ला अधिकारीसहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, जिल्ला उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ गोलबजारका प्रतिनिधिहरूबीच भएको छलफलमा अनुगमन टोलीमाथि भएको दुर्व्यवहारको घटनाप्रति व्यापारीहरूले दुःख व्यक्त गर्दै अब बजार अनुगमन गर्दा उद्योगी–व्यापारीका प्रतिनिधि र सञ्चारकर्मीहरूसहित अनुगमन गर्ने सहमति भएपछि शुक्रबारदेखि बजार खुला गरिएको हो।

आर्थिक मन्दीले व्यापारीहरू समस्यामा रहेकाले बजार अनुगमन गर्दा सबै पक्षलाई ध्यान दिइनुपर्नेलगायतका विषयमा छलफल र मौखिक सहमति भएको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष विजय साहले जानकारी दिए। अनुगमन टोलीले ज्यादती गरी व्यापारीहरूलाई आतंकित बनाएको भन्दै स्थानीय व्यापारीले बिहीबार दिनभर आफ्नो पसल–व्यवसाय बन्द राखेका थिए।

के भएको थियो गोलबजारमा ?
गोलबजार नगरपालिकाकी उपप्रमुख मान्ती साह, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका सुरेश रेग्मी, निरीक्षण अधिकृत लीलाकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादव, इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहितको संयुक्त टोलीले बुधबार गोलबजार क्षेत्रको अनुगमन गरेको थियो।

अनुगमनको क्रममा टोलीसँग व्यापारीहरूको भनाभन हुँदै विवाद चर्किएपछि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्र महतोमाथि दुर्व्यवहार भएको थियो। त्यसपछि आक्रोशित व्यापारीहरूले बजार पसल बन्द गरी साँझ करिब एक घन्टा पूर्व–पश्चिम सडक बन्द गर्दै भयरहित ढंगले व्यापार–व्यवसाय गर्न पाउनुपर्ने मागसहित २४ घन्टे अल्टिमेटम दिएका थिए।

गोलबजार उद्योग व्यापार संघले व्यापारीहरूसँग भएको विवादको विषयमा सहजीकरण गर्न खोज्दा अनुगमनमा खटिएका कर्मचारीहरूले उल्टै संघका प्रतिनिधि तथा व्यापारीहरूलाई कानुनी फन्दामा पार्ने धम्की दिएपछि स्थिति तनावपूर्ण बनेको गोलबजार उद्योग व्यापार संघको दाबी छ।