
पृथ्वी राजमार्गको मलेखु क्षेत्र अवरुद्ध
धादिङको गजुरी गाउँपालिका– २ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका– ६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत थिए ।
घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वी राजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रकचालक रौतहटको चन्द्रपुर नगरपालिका– २ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ । दुर्घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै शव उठाउन मानेका छैनन् । अहिले पृथ्वी राजमार्गको मलेखु क्षेत्र अवरुद्ध भएको छ ।