
सोमबार सामान्य अंकले बढेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से १७.५६ अंकले घटेर एक हजार ९५८.७२ विन्दुमा कायम भएको छ। ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ प्रतिशतले घटेको छ।
आज ४४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा एक सय ८७ कम्पनीको मूल्य घटेको छ। नेप्सेका अनुसार ३९ लाख ६५ हजार कित्ता सेयर एक अर्ब १९ करोड ९१ लाख रुपैयाँबराबरमा कारोबार भएको छ। सोमबारको तुलनामा आज कारोबार रकममा समेत संकुचन आएको छ। सोमबार एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
आज नेप्सेका सबै समूहको सूचकमा समेत गिरावट आएको छ। विकास बैंक १.२२ प्रतिशत, वित्त १.२७ प्रतिशत, होटेल तथा पर्यटन १.२३ प्रतिशत, हाइड्रोपावर १.३८ प्रतिशत, व्यापार १.४७ प्रतिशत र अन्य समूहको सूचक १.०५ प्रतिशतले घटेको छ।
बजार घटे पनि समता घरेलु लघुवित्तको सेयर मूल्य ७.९१ प्रतिशत र घलेम्दी हाइड्रोपावर ७.८१ प्रतिशतले बढेको छ। आज सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.५४ प्रतिशतले घट्दा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को मूल्य ७.०८ प्रतिशतले घटेको छ।