नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन लागि कञ्चनपुरमा केही पदमा सर्वसम्मत चयन भएका छन् भने कतै चुनाव नै स्थगित भएको छ।
२१ र २२ असोजमा हुने एमाले प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरिका पालिकामा सम्मेलन प्रतिनिधि छनाेट कार्यतालिकाअनुरूप कञ्चनपुरमा समेत कतै सर्वसम्मत, कतै चुनाव त कतै स्थगित भएको हो। बेलौरी, भीमदत्त, लालझाडी, शुक्लाफाँटा, पुनर्वास, कृष्णपुरमा प्रतिनिधि छनोट सर्वसम्मत भएको थियो।
बेलौरीमा पल्लवराज भट्ट, लालबहादुर शाही, करमशाय राना, बलदेवसिंह बुडाल, कौशिला खरेल, चित्रादेवी चौधरी, उपेन्द्र बहादुर शाही, भीमदत्त नगरमा प्रशान्त भट्ट, विष्णु कँडेल, हिरा चन्द, प्रमानन्द जोशी, महेश पन्त, शंकर जोशी, लक्ष्मी विक, नन्दा धामी, कमला भट्ट (जोशी), लालझाडीमा निर्मल राना, खेमराज ओझा, शुक्लाफाँटामा रणबहादुर महरा, लोकेन्द्र ऐरी, ईश्वरा कुँवर चयन भएका छन्।
यस्तै, पुनर्वासमा फैरु तामाङ, ताला लामा तामाङ, रमेश थापा, शारदा विष्ट र पूर्णा गुरुङ छनाेट भएका छन्। कृष्णपुरमा जिल्ला कावा अध्यक्ष लक्ष्मी बुढा, नगर अध्यक्ष गणेशसिंह ऐरी, प्रदेश सचिवालय सदस्य बचन सिंह, प्रदेश सदस्य सुरेन्द्र बमसहित मोहनसिंह रावल, धनशेरबहादुर सिह, भजन राना, दिलसरा खत्री, सुरेश विक, नन्द सुनार, धर्मा विक छनोट भएका छन्।
एमाले कञ्चनपुरका नेताहरूका अनुसार बेलडाँडीमा सहमति नभएपछि चुनावी प्रक्रियाबाट प्रदेश प्रतिनिधि छनाेट गरिएको छ। बेलडाँडीमा लालबहादुर रावत, अभिमान थापा, वसन्ती जोशी निर्वाचित भएका छन्।
रावतले एक सय ४८, थापाले एक सय ४६, जोशीले एक सय २० मत ल्याएका थिए। मोहन गिरी एक सय तीन, कमलादेवी कार्की ९५ पराजित भएका छन्। कुल तीन सय सय ७८ मध्ये दुई सय १८मत खसेका थिए।
जनमोर्चाबाट एमाले प्रवेश गरेका थापा निर्वाचित र माओवादीबाट एमाले प्रवेश गरेका गिरी पराजित भएका छन्। दलितबाट नरबहादुर विश्वकर्मा, भारमल सुनारसहित सर्वसम्मत भएका छन्। बेदकोटमा युवातर्फ नरेशसिंह मात्रै सर्वसम्मत चयन भएका छन्।
बेदकोटमा आवश्यकताभन्दा बढी आकांक्षी भएपछि विवाद हुँदा मंगलबार मात्रै प्रतिनिधि चयन हुनेछ। एमाले बेदकोटका नगर अध्यक्ष हरिश भाटले आकांक्षी बढी भएपछि सहमतीय आधारमा प्रतिनिधि चयन हुन नसकेपछि स्थगित गरिएकाे बताए।
दोधाराचाँदनीमा दुईपटक प्रयास गर्दा पनि सर्वसम्मत नभएको नेताहरूले बताएका छन्। एमाले सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनमा कञ्चनपुरबाट नेतृत्वका लागि हालसम्म एमाले सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्य तथा युवा संघका पूर्वअध्यक्ष बचन सिंह मात्रै देखिएका छन्।
नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले पार्टीको नीति, निर्देशनअनुरूप सकभर सबै पालिकामा सर्वसम्मत चयन गराइने बताए। कहीँकतै त्यस्तै परिस्थिति आए मात्रै चुनावी प्रक्रियाबाट अघि बढाइने उनकाे भनाइ छ। स्थगित भएका पालिकामा आजै टुंगो लाग्ने सचिव भट्टले बताए।