१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Friday, 09 May, 2025
२७ करोडमा गत पुसमा किनिएको ‘लिन्याक’ मेसिन
२o८o असोज १६ मंगलबार o६:२५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नौ महिनाअघि २७ करोडमा किनिएको बिरामीको घाउ सेक्ने मेसिन प्रयोगमै ल्याइएन

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लापरबाही

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार o६:२५:oo

पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पतालले मेसिन थन्क्याएर घाउ सेक्नुपर्ने बिरामीलाई भरतपुर र भक्तपुर रेफर गर्दै आएको छ

पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने २७ करोडको ‘लिन्याक’ मेसिन नौ महिनादेखि थन्क्याएर राखेको छ । स्वास्थ्य मन्त्रालयको अनुदानमा गत वर्ष पुसमै ल्याइएको मेसिन अहिलेसम्म सञ्चालनमा नल्याएको हो । 

उक्त मेसिन थन्क्याउँदा घाउ सेक्नुपर्ने क्यान्सरका बिरामीलाई अस्पतालले भरतपुर र भक्तपुर रेफर गर्दै आएको छ । क्यान्सरको घाउको बाहिरी सेकाइमा प्रयोग हुने मेसिन सञ्चालनमा नआउँदा बिरामीलाई भरतपुर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा रेफर गरिँदै आएको अस्पतालका निर्देशक डा. नीरज भट्टराईले बताए । उनका अनुसार हरेक महिना घाउ सेकाउनुपर्ने २० बिरामीलाई अन्यत्र रेफर गरिँदै आएको छ । 

‘अप्रेसन गरेर सेकाइ गर्न नपर्ने बिरामीलाई यहीँ अप्रेसन गर्छाैँ । अप्रेसनलगत्तै सेकाइ गर्नुपर्ने देखियो भने भरतपुर र भक्तपुर क्यान्सर अस्पतालमा पठाउँछौँ,’ उनले भने । चिकित्सकहरूका अनुसार क्यान्सरका बिरामीको घाउ अप्रेसनअघि र पछि सेकाउनुपर्छ । 

लेक्टा कम्पनीको लिन्याक मेसिन नेपालस्थित मेडिसोलुसन प्रालिले आयात गरेको हो । कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ अस्पताल निर्देशक डा. भट्टराईले टेन्डरका वेला आयतकर्ताले बुझाएको एसएस कोडअनुसार मेसिन उपलब्ध नगरेपछि जडान नभएको बताए । ‘सम्झौतामा उल्लेख भएको देश र स्पेसिफिकेसन कोडमा फरक देखिएपछि मेसिन जडान गर्ने कुरै भएन,’ उनले भने ।  

भट्टराईका अनुसार मेसिन खरिदबापतको कुल २७ करोडमध्ये ६० प्रतिशत भुक्तानी भइसकेको छ । थप भुक्तानी रोकिएको छ । सम्झौता भएपछि १० प्रतिशत, भन्सारमा आएपछि ५० प्रतिशत, अस्पतालमा पुगेपछि २० प्रतिशत र मेसिन सञ्चालनमा आएपछि २० प्रतिशत रकम दिने सम्झौतामा उल्लेख छ ।  

सुशील कोइराला प्रखर अस्पतालमा किमो र अप्रेसनको सुविधा भने छ । यो अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले सेवा लिने गरेका छन् । 

स्वास्थ्य मन्त्रालयले पनि दिन सकेन निकास
लिन्याक मेसिनको एसएस कोड र आयात भएको देशको नाम फरक परेपछि क्यान्सर अस्पतालले छानबिनका लागि स्वास्थ्य मन्त्रालयसँग गुहार गरेको थियो । स्वास्थ्यको पाँचसदस्यीय छानबिन टोलीले पनि कुनै निकास दिन सकेन । मेसिनमा भएको एसएस कोड र आयातकर्ताले टेन्डरमा हालेको एसएस कोडको बारेमा छानबिन टोलीले कुनै निर्णय गर्न नसकेको निर्देशक डा. भट्टराईले बताए । 

स्वास्थ्यको टोलीले मेसिन जडान गर्न दिने, तर सञ्चालनमा आएपछि मात्र ४० प्रतिशत भुक्तानी दिनू भनी परिपत्र गरेको थियो । त्यही भएर आफूहरूले मेसिन सञ्चालनमा ल्याउन नसकेको उनको भनाइ छ । विज्ञटोलीले परीक्षण गरेर प्रमाणित गरेमा मात्र अस्पतालले सबै भुक्तानी दिने उनले बताए । 

विशिष्टीकृत क्यान्सर अस्पतालको ‘पगरी’, तर छैन एउटै दरबन्दी
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आठ वर्षअघि सरकारलाई हस्तान्तरण गरिए पनि हालसम्म दरबन्दी कायम हुन सकेको छैन । सरकारलाई हस्तान्तरण गरी हाल संघ सरकारमातहत रहेको यो अस्पतालमा एउटै पनि दरबन्दी कायम हुन नसक्दा उपचार सेवा प्रभावित भइरहेको छ ।  

हाल अस्पतालमा अस्थायी, करार र ज्यालादारीका गरी ११५ जना चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारी कार्यरत छन् । जसमध्ये १५ विशेषज्ञ चिकित्सक कार्यरत छन् । अस्पतालका निर्देशकसमेत काजमा खटाइने गरिएको छ ।

अस्पतालका निर्देशक डा. भट्टराईले भने, ‘चिकित्सक तथा अन्य कर्मचारीको दरबन्दी कायम नहुँदा सेवा प्रवाहमा जटिलता हुने गरेको छ, दरबन्दी अभावमा पनि स्तरीय उपचार सेवा दिने प्रयास गरिरहेका छौँ ।’ उनले दरबन्दी स्वीकृतिकै लागि अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धाइरहेको बताए ।

अस्पतालले कम्तीमा ४०९ चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी आवश्यक पर्ने भन्दै आन्तरिक संगठनात्मक तथा व्यवस्थापन (ओएनएम) सर्भे स्वीकृतिका लागि मन्त्रालयमा पठाएको लामो समय भए पनि हालसम्म स्वीकृत हुन नसकेको उनले गुनासो गरे ।

कम्तीमा २०० दरबन्दी स्वीकृति भएमा अस्पताल सञ्चालनमा केही सहजता हुने अस्पताल विकास समितिले जनाएको छ । विशिष्टीकृत अस्पताल भए पनि दरबन्दी स्वीकृत नहुँदा समस्या परिरहेको अस्पतालले जनाएको छ ।

खजुरावासीले ०६३ मा महायज्ञ सञ्चालन गरी क्यान्सर अस्पताल निर्माण सुरु गरेपछि नेपाल सरकारले भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको थियो ।  

आयातकर्ताले टेन्डर सम्झौतामा दिएको स्पेसिफिकेसन कोडभन्दा फरक मेसिन ल्याएपछि जडान नगरिएको हो : डा. नीरज भट्टराई, निर्देशक, सुशील कोइराला प्रखर अस्पताल
लेक्टा कम्पनीको लिन्याक मेसिन नेपालस्थित मेडिसोलुसन प्रालिले आयात गरेको हो । टेन्डरका वेला आयातकर्ताले बुझाएको एसएस कोडअनुसार मेसिन उपलब्ध नगरेपछि जडान नभएको बताए । सम्झौतामा उल्लेख भएको देश र स्पेसिफिकेसन कोडमा फरक देखिएपछि मेसिन जडान गर्ने कुरै भएन । मेसिन खरिदबापतको कुल २७ करोडमध्ये ६० प्रतिशत भुक्तानी भइसकेको छ । थप भुक्तानी रोकिएको छ । सम्झौता भएपछि १० प्रतिशत, भन्सारमा आएपछि ५० प्रतिशत, अस्पतालमा पुगेपछि २० प्रतिशत र मेसिन सञ्चालनमा आएपछि २० प्रतिशत रकम दिने सम्झौतामा उल्लेख छ ।  हामीले अप्रेसन गरेर सेकाइ गर्न नपर्ने बिरामीलाई यहीँ अप्रेसन गर्छौँ । अप्रेसनलगत्तै सेकाइ गर्नुपर्ने देखियो भने भरतपुर र भक्तपुर क्यान्सर अस्पतालमा पठाउँछौँ ।