
भारतीय बजारबाट सिराहाका विभिन्न नाका भएर अवैध रूपमा तस्करी भइरहँदा उपल्लो निकायले नै सक्रियता बढाएको छ।
भारतीय बजारबाट लत्ताकपडा, स्पेयर पार्टस् जस्ता सामान भन्सार कर्मचारी, स्थानीय स्तरमा रहेको नेपाल प्रहरी, सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भइरहँदा राजस्व अनुसन्धान कार्यालय इटहरीले आफ्नो सक्रियता बढाएको छ।
राजस्व अनुसन्धानको टोलीले भन्सार छलेर भारतबाट तस्करी गरी भण्डारण गरिएको लत्ताकपडा सिराहाको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको बगैँचाबाट बरामद गरिएको छ।
सुराकीको आधारमा पुगेका राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले शनिबार बिहान माडर भन्सार कार्यालयनजिकै रहेको सो सामुदायिक विद्यालयको बगैँचाबाट करिब ५० लाख रुपैयाँभन्दा बढीको लत्ताकपडा बरामद गरेको छ।
तस्करहरूले सिराहाको सीमावर्ती बुधौरा गाउँमा रहेको चन्द्रनारायण यादव आधारभूत विद्यालयपरिसरमा रहेको बगैँचामा लुकाएर राखेको लत्ताकपडा राजस्वको टोलीले बरामद गरेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले बताएका छन्।
प्रमुख आचार्य नेतृत्वको सशस्त्र प्रहरीले सो लत्ताकपडा बरामद गरेको हो। बरामद गरिएको लत्ताकपडामा सर्टिङ–सुटिङका कपडा, सारी, तयारी पोसाकलगायतका सामान रहेको प्रमुख आचार्यले बताए।
भारतको जयनगरबाट चाडपर्वलक्षित गरी तस्करी फस्टाएको छ। सिराहामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको कर्मचारीको सेटिङमा तस्करी फस्टाएसँगै राजस्व कार्यालयले छापा मारेकाे हाे ।
चाडपर्वको वेला सेटिङमा तस्करी झन् बढ्ने भएकाले पनि माथिल्लो निकायबाटै सिराहामा निगरानी राख्ने काम सुरु भएको छ। भन्सार कर्मचारी, स्थानीय स्तरदेखि जिल्ला तहका प्रहरी अधिकृतसँगको महिनावारी रकम बुझाउने सेटिङमा केही महिनायता तस्करी फस्टाएको छ।
सिराहाको ठाँडी भन्सारबाट प्याज बोकेको ट्रकमा तस्करीका कपडा भए पनि भन्सार पास गरी चितवनतर्फ जान दिइएको थियो। सो ट्रकलाई सुराकीका आधारमा मकवानपुरको हेटौँडामा चेकचाँज गर्ने क्रममा डेढ करोडभन्दा बढीको सर्टिङ–सुटिङका कपडा, सारी, तयारी पोसाक राखिएको फेला परेको थियो। अगाडितिर प्याज र पछाडितिर लत्ताकपडा राखेर तस्करी गरिएकाे थियो।