१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Sunday, 11 May, 2025
दमक– ३ मा रहेको हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारी संस्थाको दूध संकलन केन्द्र
२o८o असोज १४ आइतबार o६:२१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हम्सेदुम्से सहकारीले दूधको ४७ लाख नदिँदा मारमा गाईपालक किसान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार o६:२१:oo

झापाको दमक नगरपालिका– ३ ओमशान्ति टोलका चेतन विष्टले तीन वर्षअघि ६० लाख लगानी गरेर गाई फार्म खोले । साउदी अरबबाट घर फर्किएर चेतनले बैंकबाट ऋण लिएर गाईपालन सुरु गरेका थिए । 

दमक– ३ मै रहेको हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारीले दूध किनिदिने भएपछि हौसिएर गाईपालन गरेका उनी अहिले भने थाकेका छन् । तर, उनी गाईपालन छाडेर फेरि बिदेसिने योजनामा पुगेका छन् । ‘गाई पाल्यो, दूधको पैसा नै उठ्दैन,’ विष्टले भने, ‘हम्सेदुम्से सहकारीले जेठदेखि पैसा नै दिन छाड्यो, दूधको आठ लाख लिन बाँकी छ ।’ १६ वटा गाई पालेका विष्ट हम्सेदुम्से सहकारीलाई दैनिक दुई सय लिटरसम्म दूध दिँदै आएका थिएँ । ‘पैसा नभएपछि गाईलाई चापट, पराल र दाना खुवाउन सकिएको छैन । दूध पनि घटेर दैनिक सय लिटरमा झरेको छ,’ उनले भने । उनी विगतमा खर्च कटाएर मासिक एक लाख आम्दानी गर्दै आएका थिए । 

‘पराल, दाना, चापट र घाँस ल्याएको ठाउँबाट पैसा दैनिक फोन आउँछ, त्यही भएर गाई बेच्ने सोच बनाएको छु,’ उनले भने, ‘एक लाख ६० हजारमा किनेको गाई बेच्न खोज्दा ९० हजार दिन पनि मान्दैनन् । खाना नपाएर गाई दुब्लाएका छन् । त्यही भएर भाउ आएन ।’

सहकारीले दूधको नौ लाख भुक्तानी नदिँदा यस्तै विखलबन्दमा परेका छन्, दमक–३ का टंकबहादुर कार्की । तीन वर्षअघि ६२ लाखमा शान्ति कृषि फार्म खोलेका कार्की सहकारीले दूधको पैसा नदिँदा न त गाई पाल्न सक्ने अवस्थामा छन्, न त गाई फार्म बन्द गर्ने अवस्थामा । पहिले सहकारीले दूधको पैसा नियमित भुक्तानी गर्दा उनको आम्दानी राम्रै थियो । गाईको स्याहार गरेर, बैंकको किस्ता तिरेर पनि परिवार राम्रैसँग पाल्दै आएका थिए । तर, गत जेठयता हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारी संस्थाले पैसा नदिएपछि उनी अप्ठ्यारोमा परेका हुन् । 

दमक– ३ स्थित चेतन विष्टसँग गोठ बनाउने पैसा नभएपछि हिलोमा डुबेका गाई

पर्याप्त दाना, घाँस खुवाउन नसक्दा गाई बिरामी पर्न थालेको कार्की बताउँछन् । ‘गाईको स्याहार गर्ने पैसा छैन । बैंकको किस्ता कसरी तिर्ने ? केही हुन्छ भनेर गाईपालन सुरु गरेको सहकारीले पैसा नदिँदा समस्यामा परियो,’ उनले भने । 

दमक– ३ गोलाटारका नन्दकुमार थापाले गत फागुनमा ऋण लिएर दुईवटा गाई किनेका थिए । दूध बेचेर ऋणको किस्ता तिर्दै आएका थापाले गत जेठयता पैसा नपाएपछि ब्याजबाहेकको रकम तिर्न सकेका छैनन् । ‘नियमित पैसा दिँदा त घर चलाउन पुगेको थियो । पैसा दिन छाडेपछि गाईको चाकर गर्न सकिएन,’ उनी भन्छन्, ‘अहिले घाँस–दाना किन्ने पसलको पैसा तिर्न सकेको छैन ।’ 

हम्सेदुम्से सहकारीले दूधको पैसा किन तिरेन ?
हम्सेदुम्सेले सहकारीका सदस्य कृषकबाट संकलन गरेको दूध गत जेठसम्म निजी संस्थालाई दिँदै आएको थियो । तर, निजी संस्थाले दूध लिन छाडेपछि अहिले दुग्ध विकास संस्थानलाई दिन थालेको छ । विगतमा किसानबाट दैनिक १८ सय लिटर दूध संकलन हुँदै आएकामा अहिले दैनिक सात–आठ सय लिटर मात्र दूध संकलन भइरहेको सहकारीका अध्यक्ष गेहनाथ पोखरेलले बताए । दुग्ध विकास संस्थाले पैसा नियमित नदिएपछि किसानलाई भुक्तानी गर्न नसकिएको उनको दाबी छ । ‘संस्थानले अहिलेसम्म १८ लाख पैसा दिएको छ । करिब ५० लाख उठेको छैन,’ उनले भने, ‘हामीले किसानको पनि ४६–४७ लाख बक्यौता भुक्तानी गर्न बाँकी छ । वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेका छौँ । केही दिनदेखि वित्तीय संस्थाबाट ऋण तथा सापटी मागेर किसानको भुक्तानी गर्छौँ ।’