१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

७५ दिनपछि बल्ल उड्यो निगमको ग्राउन्डेड जहाज 

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४१:oo

व्यवस्थापनले समयमै भाडाको इन्जिन नल्याउँदा गुम्यो ७९ करोड

इन्जिनमा समस्या देखिएर ग्राउन्डेड भएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को न्यारोबडी जहाज साढे दुई महिनापछि बल्ल उडेको छ । इजरायलमा भाडाको इन्जिन जडान गरेर कलसाइन नम्बर ९एन–एकेएक्स जहाज शुक्रबार बिहान १० बजे काठमाडौंमा अवतरण गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । 

इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)मा भाडाको इन्जिन जडान गरेर इजरायलबाट बिहीबार राति उडेको जहाज दुबई हुँदै शुक्रबार बिहान काठमाडौंमा अवतरण गरेको हो । ‘एकेएक्सले शुक्रबारदेखि नै नियमित उडान थालेको छ,’ निगम प्रवक्ता पौडेलले भने, ‘दिउँसो २:१५ बजे जहाज यात्रु बोकेर थाइल्यान्डको बैंककतर्फ उडेको छ ।’ लामो समयदेखि जहाज ग्राउन्डेड हुँदा निगमको अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको थियो ।  

निगमले जहाजको इन्जिन मर्मत गर्न र भाडामा लिनका लागि आइएआईलाई एमआरओ नियुक्त गरेको छ । आइएआईले जहाजबाट बिग्रिएको इन्जिन झिकेर भाडाको इन्जिन फेर्नकै लागि १२ दिन लगाएको छ । इन्जिनको बोरोस्कोप गर्दा समस्या देखिएपछि १६ जुलाई (३१ असार) देखि एकेएक्स त्रिभुवन विमानस्थलमा ग्राउन्डेड थियो । जहाज थन्किएको ६४ दिनपछि बल्ल निगम व्यवस्थापनले एमआरओ छनोट गरी १७ सेप्टेम्बर (३१ भदौ)मा इन्जिन मर्मत र भाडाको इन्जिन फेरबदल गर्न जहाज इजरायल पठाएको थियो ।

निगमले पटक–पटक एउटै कम्पनीसँग इन्जिन भाडा तथा मर्मतका लागि सम्झौता गर्दै आएको छ । यसपटक आइएआई न्यारोबडी जहाजको इन्जिन लिजसहित मर्मत गर्न चार वर्षका लागि एमआरओ नियुक्त भएको छ । जहाज अढाई महिनासम्म ग्राउन्डेड हुँदा करिब ७९ करोड रुपैयाँ आम्दानी गुमेको छ । न्यारोबडी ग्राउन्डेड हुँदा निगमले दैनिक सरदर एक करोड पाँच लाख रुपैयाँ आम्दानी गुमाउँछ । यस्तै, निगमको अन्तर्राष्ट्रिय उडान पनि अस्तव्यस्त बन्यो । कतिपय सेड्युल फ्लाइट र कनेक्टिङ फ्लाइट छुट्दा निगमलाई थप आर्थिक भार थपिएको छ । न्यारोबडी जहाज ग्राउन्डेड हुँदा छोटो दूरीमा थोरै यात्रु बोक्न पनि वाइडबडी जहाज उडाउनुपरेको छ ।

इजरायलमै थन्कियो १२ दिन  
बिग्रिएको इन्जिन इजरायलमा झारेर आइएआईको भाडाको इन्जिन जडान गरी जहाज नियमित उडानमा फर्किने कार्यतालिका थियो । इजरायलमा इन्जिन फिट गरेर काठमाडौं फर्किन निगमले पाँच दिनको समय छुट्याएको थियो । तर, इन्जिन फिट गर्ने क्रममा हट एयर भल्ब राम्रोसँग टाइट नगर्दा थप समस्या निम्तिएपछि १२ दिनसम्म लागेको स्रोतको दाबी छ ।

निगम व्यवस्थापनले कमिसन लोभमा पटक–पटक एउटै कम्पनीलाई इन्जिन मर्मत तथा भाडामा लिन एआरओ नियुक्त गर्दै आएको छ । यसअघि ९एन–एकेडब्लु जहाजको इन्जिन मर्मत तथा भाडामा लिन पनि इजरायलकै आइएआई र एमटियूलाई छनोट गरिएको थियो । त्यतिवेला तीन महिनाका लागि भनेर ल्याइएको एमटियूको इन्जिन पाँच सय ४३ दिनसम्म राखिएको थियो । यस्तै, आइएआईले तीन महिनामा मर्मत गर्नुपर्ने इन्जिनलाई सात महिनासम्म झुलाएको थियो । 

इन्जिन मर्मतका लागि ३६ लाख अमेरिकी डलर लागत अनुमान गरिएकोमा आइएआईले ४२ लाख ५० हजार डलरको नक्कली बिल पठाएको स्रोत बताउँछ । पछि साढे दुई लाख डलर घटाएर बिल भर्पाई गरिएको थियो । अहिले पनि निगम व्यवस्थापनले अक्षम ठहर भइसकेको कम्पनी आइएआईलाई चार वर्षसम्म लिजसहित इन्जिन मर्मतका लागि एमआरओ नियुक्त गरेको छ भने आपसी समझदारीमा थप दुई वर्ष सहमति बढाउन सकिने उल्लेख छ । एउटै कम्पनीले इन्जिन मर्मत तथा भाडामा लगाउँदा स्वार्थ बाझिने हवाई क्षेत्रका विज्ञ बताउँछन् । 

जहाज मर्मतका लागि इजरायल जाँदा तीनजना एयरहोस्टेस दुबई तथा पाँचजना इन्जिनियर र चालक दलका सदस्यसहित नौजना इजरायल पुगेका छन् । जसको दैनिक भत्ता नै प्रतिव्यक्ति सरदर १४० अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ । इन्जिन फेरबदल गर्न ढिलाइ हुँदा १२ जना कर्मचारीलाई १२ दिनसम्म तारे होटेलमा राख्दा निगमलाई थप आर्थिक बोझ भएको छ । 

ad
ad