मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १३ शनिबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १३ शनिबार o७:२६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हिसुब काठमाडौंको मार्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १३ शनिबार o७:२६:oo

साबिक विजेता काठमाडौं रेजर्स एफसीले मार्की खेलाडीका रूपमा युवा स्ट्राइकर हिसुब थपलियालाई अनुबन्ध गरेको छ । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि क्लबले नयाँ मार्की खेलाडी घोषणा गरेको हो । पहिलो संस्करण काठमाडौंको मार्कीमा गोलकिपर विकेश कुथु थिए । विकेशको स्थानमा काठमाडौंले युवा अट्याकरलाई भित्र्याएको हो । विकेश नयाँ टोली स्पोर्टिङ इलामसँग अनुबन्ध भएका छन् । 

हिसुबले सहिद स्मारका ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । यससँगै हिसुबको चर्चा चुलिएको थियो । हिसुबले भदौ २२ मा म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । त्यसयता दुई खेल खेलेका छन् । काठमाडौंले युवा खेलाडी हिसुबबाट ठूलो आशा गरेको व्यवस्थापक मधुसुदन उपाध्यायले बताए । ‘हिसुबमा केही गरौँ भन्ने जोस छ । ठूलो सम्भावना छ । त्यसैले पनि रोजेका हौँ,’ उपाध्यायले भने । 

८ मंसिरबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने फाइनल खेल पुस १४ मा हुने तालिका छ । आयोजक नेपाल स्पोर्टस् एन्ड एभेन्ट म्यानेजमेन्ट प्रालिले यसअघि १० टोली बनाउँदै दोस्रो संस्करण गर्ने बताएको थियो । तर, समयमै एनएसएल हुन सकेन । गत सिजन खेलेको विराटनगर सिटी एफसीले आयोजकसँग असन्तुष्टि जनाउँदै नाम फिर्ता लिएपछि यसपटक नौ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करण विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली स्पोर्टिङ इलाम एफसी, वीरगन्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् । 

पहिलो संस्करण खेलेका मार्की र कप्तानसहित ६० भन्दा बढी खेलाडी अस्ट्रेलियालगायत देशमा पलायन हुँदा सहभागी क्लबलाई खेलाडी छान्न हम्मे–हम्मे परेको छ । अनुभवी र चर्चित खेलाडी नै पलायन भएपछि यसपटक सबै क्लब युवा खेलाडीको भरमा छन् । अझ विदेशी खेलाडीमा धेरै क्लब निर्भर हुनेछन् । काठमाडौंले हिसुबलाई मार्की रोज्दा साबिक उपविजेता धनगढीले आशिष चौधरीलाई अनुबन्ध गरेको छ । १० टोली सहभागी एनएसएल हिसुब र आशिषका लागि पहिलो अनुभव हुनेछ ।