मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Tuesday, 17 December, 2024
२o८o असोज १२ शुक्रबार १६:o५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गाउँमै रहरलाग्दो तरकारी खेती, विदेश जान बिर्सेका परान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार १६:o५:oo

गाउँ नै खाली गरेर रोजगारीका लागि युवा खाडी मुलुक पुग्ने गरेका छन्। तर, जुम्लाका एक युवाले भने तरकारी खेतीबाट राम्राे आम्दानी गर्दै आइरहेका छन्। 

स्थानीय स्तरमा उत्पादित तरकारीले बजार भाउ राम्रो पाउन थालेपछि उनले व्यावसायिक तरकारी खेतीको समेत विस्तार गरेका छन्।

तातोपानी गाउँपालिका– १ राँका गाउँका परान धरालाले परम्परागत खेती छाडेर तरकारी खेती गर्न थालेपछि राम्रो आम्दानी गर्न थालेका हुन्। 

मिहिनेत र जाँगर भए स्वदेशमै राम्रो आम्दानी गर्न सकिने भएकाले रोजगारकै लागि खाडी मुलुकको चर्काे घाम खान नपर्ने उनको अनुभव छ। उनले भने, ‘१२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको छु। आम्दानी पनि राम्रो छ। खाडी मुलुक जान मन लागेन।’

उनले सञ्चालन गरेको तरकारी खेती उदाहरणीय बनेको छ। दैनिक धेरै अवलोकनका लागि आउने गरेका छन्। गाउँमा धेरै खेतीयोग्य जमिन त्यसै बाँझो बसिरहेको समयमा उनले भने बाँझो जमिनको राम्रोसँग सदुपयोग गरेका छन्। 

सात लाख लगानी गरेर १५ रोपनी कृषियोग्य जमिनमा उनले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। सुरुमा सामान्य तरकारी खेती गर्दै आएका किसान धराला कोदो, मकैलगायतका अन्न उत्पादन हुने जमिनमा टमाटर, तितेकरेला, काँक्रा, भेडे खुर्सानी, अकबरे खुर्सानीलगायतका मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेका छन्। 

उनले १५ रोपनी जमिन भाडामा लिएर तरकारी खेती सञ्चालन गर्दै आएकाे बताए। तरकारी उत्पादन गर्न सिँचाइको अभाव रहे पनि उत्पादित तरकारीको बजार भने अभाव नरहेको उनले बताए। 

उनले उत्पादन गरेका तरकारी जुम्ला बजारमा बिक्री गर्ने गरेका छन्। बिहान उठेदेखि नै तरकारीबारीमा धरालादम्पती व्यस्त हुने गर्छन्। उनले दुईजनालाई रोजगारी पनि दिएका छन्। दैनिक चारजना तरकारी खेतीमा खटिने गरेको उनले बताए। 

तरकारी खेतीमा कृषि विकास कार्यालय जुम्लाले ३८ हजार रुपैयाँ सहयोग गरेको उनले बताए। भारतबाट याप्स जातको स्याउको बिरुवा ल्याएर जुम्लामा स्याउ खेती पनि गर्न थालेको उनले सुनाए। 

उनले यो स्याउ खेतीलाई अहिले ट्रायलको रूपमा लिएका छन्। भारतको हिमाचल प्रदेश र जुम्लाको हावापानीमा खासै फरक नभएकाले यो स्याउ खेती यहाँ पनि हुने विश्वास गरेका छन्।
  
उनले टमाटर प्रतिकेजी एक सय, तितेकरेला प्रतिकेजी एक सय ५० रुपैयाँ, काँक्रा प्रतिकेजी एक सय रुपैयाँमा बिक्री गर्दै आएका छन्। उनले भने, ‘काँक्रा १५ क्विन्टल बिक्री गरेर एक लाख ५० हजार आम्दानी गरेको छु। यस्तै, तितेकरेला तीन क्विन्टल र टमाटर २५ क्विन्टलजति बिक्री भयो।’ 

चारजनाको घरपरिवारका लागि हुने खर्च कटाएर बचत भएको पैसा तरकारी खेतीमै लगानी गर्दै आएका उनले यसैलाई निरन्तरता दिने योजना बनाएका छन्। 

तस्बिरहरू : मानदत्त रावल/नयाँ पत्रिका