१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौ‌
२o८१ बैशाख २१ शुक्रबार १३:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

स्विट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:४८:oo

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्विट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले स्विट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। 

तीनवटै मुलुकसँग हवाई सम्झौताका लागि आवश्यक कागजी प्रक्रिया पूरा भइसकेकाले समय र स्थान तय गरेर सम्झौता गरिने उनको भनाइ छ।

सहसचिव लामिछानेले भने, ‘अहिले तीन मुलुक स्विट्जरल्यान्ड, रुवान्डा र इन्डोनेसियासँग नयाँ हवाई सम्झौता गर्ने प्रक्रियामा छौँ, हवाई सम्झौताको मस्यौदालाई छिट्टै मन्त्रिपरिषदबाट स्वीकृत गराएर सम्झौताका लागि समय र स्थान तय गरिनेछ।’
     
क्यानडाको मोन्ट्रियलमा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१औँ महासभाका अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको थियो। 

नेपाल र स्विट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयू भएको र अरू धेरै मुलुकसँग पनि एमओयू  पाइपलाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 
    
द्विपक्षीय हवाई सम्झौता अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण अंग पनि भएकाले यसलाई क्रमशः विस्तार गर्दै लाने सरकारको नीति छ। हवाई सम्झौता नेपालको गौरवसँग जोडिएको विषय पनि हो।
     
मन्त्रालयका सहसचिव लामिछानेले नेपालले विभिन्न मुलुकसँग गरेका सम्झौताका माध्यमबाट ती मुलुकबीच संरचनागत सम्बन्ध कायम हुने तथा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विश्वास व्यक्त गरे। 

आइकाओको मापदण्डअनुरूप दुई मुलुकबीचको हितमा रहेर द्विपक्षीय हवाई सम्झौता गरिन्छ। सहसचिव लामिछानेले कुवेत र युएईको पुरानो हवाई सम्झौता समीक्षा गर्न लागिएको पनि जानकारी दिए। 

नेपालले हाल ४० देश र युरोपेली संघ (इयू) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ। तीमध्ये २० भन्दा बढी गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ। सरकारले पछिल्लोपटक अस्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो।
     
सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने घोषणा गरेको छ । मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ। सरकारले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने नीति लिएको छ।
     
नेपालले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि छिट्टै हवाई सेवा सम्झौता गर्ने गरी तयारी गरेको छ। दुई मुलुकबीच हवाई सम्झौताको अन्तिम तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ। इन्डोनेसिया–नेपाल दुईतर्फी उडानका लागि मन्त्रालयले आधिकारिक जिएसए तोकिसकेको छ। 

इन्डोनेसियाको गरुडा एयरका लागि नेपालको सोसाइटी इन्टरनेसनल आधिकारिक जिएसए रहेको छ । आगामी वर्षदेखि गरुडा एयरको जिएसए व्यवस्थापन गरिने सोसाइटी ट्राभलका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्। यस्तै अफ्रिकी मुलुक रुवान्डासँग पनि नेपालले हवाई सम्झौतामार्फत दुई देशबीचको सम्पर्क विस्तार गर्न लागेको मन्त्रालयको भनाइ छ।

तीस एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालमा तीनवटा नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। 

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।
     
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर इन्डिया, इन्डिको एयर, एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स, भुटान एयरलाइन्स, विमान बंगलादेश र ड्रुक एयरले उडान गर्दै आएका छन्।
     
त्यस्तै, क्याथे प्यासिफिक,  भिस्तारा, जजिरा एयरवेज, कोरियन एयरलाइन्स, श्रीलंकन  एयरलाइन्स, टर्किस एयरलाइन्स, कतार एयरवेज, सिंगापुर एयरलाइन्स, एयर अरेबिया अबुदाबी, मलेसिया एयरलाइन्स, कुवेत एयरवेज, मालिन्दो एयर, सलाम एयर, थाई लाइन, थाई स्माइल एयरलाइन्सलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन्। रासस 

ad
ad