१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ३ बिहीबार १o:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तातोपानी नाकामा समस्याका चाङ

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:५७:oo

महिना दिनअघि मानव आवतजावतसहित पूर्ण रूपमा खुला तातोपानी नाकामा समस्याका चाङ छन् । एकातिर भौतिक पूर्वाधार र सडकको समस्या छ भने अर्कोतिर मानिसले सिर्जना गरेका दिनदिनको समस्या छन् । 

दैनिक ५०–६० जना चिनियाँ नेपाल प्रवेश गर्छन् । सीमावर्ती क्षेत्रका चार सय नेपाली सर्वसाधारण सामान किन्न चिनियाँ क्षेत्र पुग्छन् । मितेरीपुलनजिकै रहेको अध्यागमन कार्यालय कोदारीको आफ्नो भवन छैन । भूकम्पले भत्काएको खण्डहर कोठामा दैनिक काम सञ्चालन गरिएको छ । विद्युतीय ब्याकअपसम्म नहुँदा नेपाल घुम्न आउने चिनियाँ पर्यटकलाई भिसा इन्ट्री गर्दा घन्टाैँ कुर्नुपर्ने समस्या छ । विद्युत् नियमित नहुँदा यस्तो समस्या परेको हो । नेपाली अध्यागमनको हालत देखेर चिनियाँहरू अचम्मित छन् । 

भन्सार गेट व्यवस्थित छैन । चेकजाँचको तरिका पर्यटक हतोत्साही बनाउने खालको छ । सीमावर्ती स्थानीयलाई घरायसी सामान ल्याउन निकै कठिनाइ छ । भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्षसमेत रहेका स्थानीय फुनु शेर्पाका अनुसार नाका खुला भए पनि समस्याले घेरिएकाले नाकावासी दुःखी छन् । ‘ब्ल्यांकेट, खानेकुरा र घरायसी प्रयोजनका सामान्य सामग्री ल्याउँदा स्थानीयलाई सीमामा रोकेर दुःख दिइन्छ,’ उनले भने ।

चिनियाँहरूले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गर्ने गरेका छन् । नेपालबाट कुनै पनि सामग्री चीनपट्टि लान दिँदैनन् । सीमा क्षेत्रमा उत्पादित साग र अर्गानिक निगुरोसमेत चिनियाँ प्रहरीले पारि लान दिँदैनन् । उनीहरूको मात्रै सामान बिक्री गर्ने चिनियाँ रणनीतिले नेपालीलाई फाइदा छैन । ‘हामीले नेपालमा बनेको एक पोका चाउचाउ पनि पारि लान पाएका छैनौँ,’ नाकामा रहेको कैलाशमान सरोवर होटेलका सञ्चालक शेरबहादुर मगरले भने । 

नेपालपट्टि क्वारेन्टिन व्यवस्थित छैन । आयातीत वस्तु कुन गुणस्तरको हो चेकजाँच गर्ने कुनै उपकरण छैन ।बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडक जीर्ण छ । प्रधानमन्त्रीको चीन भ्रमणमा अरनिको राजमार्ग मर्मत र सुधार गर्ने सहमति भएको छ । तर, यसअघि चिनियाँ ठेकेदार कम्पनीले बनाएको सडक अहिले सबै बिग्रिसकेको छ । पहिलाजस्तै झारा टार्ने खालको निर्माण भयो भने कोदारी सडकको दूरावस्थामा सुधार आउनेछैन । 

४० फुटे चिनियाँ ट्रेलर गुड्दा जोखिम बढेकाले खासाबाट सुक्खा बन्दरगाह लार्चासम्म ट्रेलरले सामान ल्याउने र त्यहाँबाट पल्टी गरेर साबिक चलेका साना कन्टेनर भ्यानले राजधानीसम्म सामान ढुवानी गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

जीर्ण सडकमा ठूला ट्रेलर गुड्दा एकातिर दुर्घटना हुने जोखिम र अर्कोतिर सडक किनारका स्थानीयले घर थर्किएको भनेर विरोध जनाएकाले यस्तो निर्णय गरिएको न्यौपाने बताउँछन् । चिनियाँ ट्रान्सपोर्ट कम्पनीले तातोपानी भन्सारसम्म सामान ल्याएर फर्किँदा नेपाली पक्षलाई फाइदा पुग्छ । भन्सार यार्डमा काम गर्ने ६ सय मजदुरले लोड–अनलोड गर्ने काम पाउन पनि चिनियाँ ट्रेलरले भन्सारसम्म मात्रै ढुवानी गर्ने प्रणाली लागू गर्न आवश्यक रहेको ट्रान्सपोर्ट कम्पनीहरूको भनाइ छ । यद्यपि, पुनर्निर्माणपछि कन्टेनर भ्यान खासा जान पाउनुपर्ने नेपाली पक्षले बताएका छन् ।

नेपाली गाडी खासा गएमा चिनियाँ ट्रान्सपोर्ट कम्पनीले पनि काठमाडौंसम्म सामान ढुवानी गर्न पाउनुपर्ने अडान राखेका छन् । नेपाल–चीन अधिकारीले यदि नेपाली भ्यान खासा जाने र चिनियाँ टेलर सीधै काठमाडौं जाने प्रणाली लागू गरे भने सीमावर्ती क्षेत्रमा काम गर्ने ६ सय मजदुर कामविहीन हुन्छन् । चिनियाँ क्षेत्रमा आडो, तिब्बत सिल्क, मुसा र खासा नामका ट्रान्सपोर्ट कम्पनी छन् । नेपालपट्टि सिल्क, रेवाङ र नमस्ते रहेका छन् । भूकम्पअघि चलेका नेपाल कन्टेनर ढुवानी लिमिटेडमा आबद्ध कन्टेनर पनि सामान ओसार्न तातोपानी पुगेका छन् । 

तातोपानी भन्सारको गोदाम भाडामा लिएको ट्रान्स–सिल्क जेभीले व्यवस्थापन गर्न नसक्दा ढुवानी कम्पनीबीच वेलावेलामा विवाद उत्पन्न हुने गरेको छ । वैशाखमा चीनबाट ल्याएको सात लाख बोरा रासायनिक मल गोदाममा अलपत्र भण्डारण गरिएकोले दसैँलगायत चाडपर्वका लागि खासाबाट आएको सामानको व्यवस्थापनमा समस्या परेको भन्सार कार्यालयले जनाएको छ ।     
 

ad
ad