
दोलखाको पर्टकीय क्षेत्र सैलुङको पर्यटन प्रवद्र्धन गर्न स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ सुरु गरेको छ । बिहीबार धुलिखेलबाट दुई सयभन्दा बढीको टोलीले सैलुङको यात्रा सुरु गरेका छन् । धार्मिक पर्यटकीयस्थल सय थुम्काहरूको संगम सैलुङ फराकिलो हिमशृंखला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ हो । यसपटक सैलुङको प्रकृति र विशेषतालाई एक्स्प्लोर गर्न छनोट गरिएको स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले बताए । प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचारप्रसारका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
टोलीलाई रामेछापको दोरम्बामा स्थानीयले स्वागत गर्ने र स्थानीय परिकारको स्वाद लिई सैलुङतर्फ प्रस्थान गर्ने आयोजकको भनाइ छ । टोलीले ३५ मिनेट पैदलयात्रा गर्दै बिहीबार क्याम्पिङ टेन्टमा रात बिताउनेछ । चौँरीगोठ र त्यहाँको गोठाले जनजीवनसमेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ‘वाइल्ड स्टे विथ चौँरी’ राखिएको छ । कार्यक्रममा क्याप्टेन विजय लामा, निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्रीलगायतका कलाकार सहभागी छन् ।
कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने तीनदिने कार्यक्रममा लोकगायक प्रेमराजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिसागर, डा. रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बाँस्तोलालगायतको सहभागिता छ ।
कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारीसमेत सहभागी छन् । एड्भेन्चरमा नेपाल प्रहरीका एआइजी श्याम ज्ञवाली, आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादेसँगै चिकित्सक, विभिन्न दूतावासका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधिलगायत फरक–फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
‘साढे तीन दशकदेखि सैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत जानका लागि एकदम एक्साइटेड छु,’ क्याप्टेन लामाले भने । अध्यात्म र प्रकृतिसँग रमाउने एक्सन स्टार निखिल उप्रेतीले आफू भगवान् बुद्धले टेकेको भूमिमा जान निकै नै उत्साहित भएको बताए ।