१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:१९:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल समस्यामा, तीन महिनामा सात चिकित्सकले छाडे अस्पताल

व्यवस्थापन समितिका अध्यक्ष र कार्यकारी निर्देशकको कार्यक्षमतामाथि प्रश्न

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१९:oo

- रेडियोलोजिस्ट डा. विजय अधिकारी सरुवा मिलाएर टेकु अस्पताल गएपछि भिडियो एक्स–रे सेवा ठप्प, बाहिरबाट बोलाइएका चिकित्सकले समय दिन नसक्दा रिपोर्ट तीन दिनमा
- एनेस्थेसियोलोजिस्ट डा. उपेन्द्रकृष्ण रेग्मी र डा. मनु भट्टराईले अस्पताल छाडेपछि शल्यक्रिया प्रभावित, भेरी अस्पताल नेपालगन्जमा कार्यरत एनेस्थेसियोलोजिस्ट डा. अभिशेष मोदुवाललाई अनकलमा बोलाएर सेवा दिइँदै
- प्याथोलोजिस्ट डा. सन्तोष महर्जन पनि बाहिरिए, नेपाली सेनामा कार्यरत प्याथोलोजिस्टले प्राविधिक सहयोग गरिरहेका छन्
- जनरल सर्जन डा. संगीता रानाभाट, स्त्रीरोग विशेषज्ञ डा. नम्रता भट्टराई, अंको इएनटी रोग विशेषज्ञ डा. ऋषिकेश ठाकुरले पनि अस्पताल छाडेका छन्

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा चिकित्सक टिक्न छाडेका छन् । कार्यरत चिकित्सकहरूले धमाधम अस्पताल छाडेपछि नियमित सेवा नै प्रभावित भएको छ । तीन महिनामा सातजना विशेषज्ञ चिकित्सकले अस्पताल छाडिसकेका छन् । 

तीन महिनामा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे), प्याथोलोजी, एनेस्थेसिया, महिला रोग, अंको इनटी, स्त्रीरोग विशेषज्ञलगायत सातजना विशेषज्ञ चिकित्सकले क्यान्सर अस्पताल छाडेपछि सेवा प्रभावित भएको अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईले स्वीकार गरे । उनले छात्रवृत्ति करार र अन्य करारका चिकित्सकले अस्पताल छाडेको जानकारी दिए । कतिपय छात्रवृत्ति करार चिकित्सक सेवा अवधि नै नपुगी बाहिरको अस्पतालमा गएको उनको भनाइ छ । ‘छात्रवृत्ति करारका चिकित्सकले कम्तीमा एक वर्ष काम गर्नुपर्ने हो, तर एक–दुईजना चिकित्सक सेवा अवधि पूरा नहुँदै बाहिरिनुभएको छ,’ उनले भने । 

अस्पतालमा कार्यरत केही चिकित्सकले भने अस्पताल विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशकका कारण चिकित्सक अस्पताल छाड्न बाध्य भएको दाबी गरे । ‘सेवा–सुविधा नदिने, काममा मात्र लगाउने, उल्टै अपमानजनक व्यवहार गर्ने गरेकाले चिकित्सकहरू यो अस्पताल छाडेर बाहिर जाने क्रम बढेको हो,’ एक चिकित्सकले भने । 

मन्त्रालयसँग थप जनशक्ति मागिराखेका छौँ, तर सुनुवाइ भएको छैन : डा. नीरज भट्टराई, कार्यकारी निर्देशक, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
पुराना चिकित्सक गए पनि नयाँ आउने क्रम जारी छ । थप स्टाफ नर्स पनि भर्ना गरेका छौँ । मन्त्रालयसँग थप जनशक्ति मागिराखेका छौँ, तर कुनै सुनुवाइ भएको छैन । थप चिकित्सकको व्यवस्था गर्न प्रयास निरन्तर जारी छ । दिनमा १५–१६ बिरामीको अल्ट्रासाउन्ड हुन्छ, तर रेडियोलोजिस्टले हेर्न भ्याउनुहुन्न । दक्ष जनशक्ति नभएकाले सिटिस्क्यान र बायोप्सी रिपोर्ट आउन ढिलाइ भएको हो ।

क्यान्सर अस्पतालले छोटो समयमा आवश्यक जनशक्ति व्यवस्था गरे पनि टिकाउन नसकेको ती चिकित्सकको भनाइ छ । ‘चिकित्सकहरू स्वतन्त्र रूपमा काम गर्न चाहन्छन्, तर त्यहाँका निर्देशकले चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि हैकमवादी चरित्र देखाउँदा अहिले यो परिणाम भोग्नुपरेको हो,’ उनले भने, ‘नसुध्रिए अझ धेरै चिकित्सकले अस्पताल छाड्ने अवस्था छ । यसमा सरोकारवाला निकायले वेलैमा ध्यान दिन जरुरी छ ।’ 

कसकसले छाडे अस्पताल ?
तीन महिनामा सातजना विशेषज्ञ चिकित्सकले अस्पताल छाडेका छन् । विगत १४ महिनादेखि त्यहाँ कार्यरत रेडियोलोजिस्ट डा. विजय अधिकारी करार अवधि नपुग्दै अस्पतालबाट बिदा लिएका छन् । तीन महिनामा अस्पताल छाड्ने उनी पहिलो चिकित्सक हुन् । उनी त्यहाँबाट सरुवा मिलाएर टेकु अस्पताल काठमाडौं गएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भिडियो एक्स–रे सेवा ठप्प भएको छ । उनी छात्रवृत्ति करारमा थिए । 

लामो समयदेखि कार्यरत प्थालोजिस्ट डा. सन्तोष महर्जन पनि क्यान्सर अस्पतालबाट बाहिरएका छन् । काम गर्ने वातावरण नभएपछि क्यान्सर अस्पतालबाट बिदा लिएको उनीनिकट चिकित्सकको भनाइ छ । गण्डकी अस्पताल पोखरा सरुवा भएर गएपछि क्यान्सर अस्पतालमा प्याथोलोजी विशेषज्ञ सेवा प्रभावित भएको छ । डा. महर्जनले अस्पताल छाडेपछि नेपाली सेनामा कार्यरत प्याथालोजिस्टले प्राविधिक सहयोग गरिरहेको कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए । 

एनेस्थेसिया र आइसियू हेर्ने दुईजना चिकित्सकले पनि क्यान्सर अस्पताल छाडेको अस्पताल प्रशासनको रेकर्डले देखाउँछ । एनेस्थेसियोलोजिस्ट डा. उपेन्द्रकृष्ण रेग्मी र अर्का एनेस्थेसियोलोजिस्ट डा. मनु भट्टराईले अस्पताल छाडेपछि शल्यक्रिया सेवा प्रभावित भएको छ । डा. रेग्मी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र डा. भट्टराई वीर अस्पताल गएका छन् । डा. भट्टराई पनि छात्रवृत्ति करारअन्तर्गत दुई वर्षका लागि अनुबन्धन भएकी थिइन् । 

एनेस्थेसियासम्बन्धी विशेषज्ञ चिकित्सक नभएपछि क्यान्सर अस्पतालमा अप्रेसन सेवा प्रभावित भएको छ । एक–एक गर्दै दुईजना एनेस्थेसियोलोजिस्टले क्यान्सर अस्पतालबाट बिदा लिएपछि भेरी अस्पताल नेपालगन्जमा कार्यरत एनेस्थेसियोलोजिस्ट डा. अभिशेष मोदुवाललाई अनकलमा बोलाउने गरिएको छ । 

त्यसैगरी, जनरल सर्जन डा. संगीता रानाभाट अस्पतालबाट बिदा लिएर कोशी अस्पताल विराटनगर गएकी छिन् । स्त्रीरोग विशेषज्ञ डा. नम्रता भट्टराई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी छिन् । त्यहाँ कार्यरत अंको इएनटी रोग विशेषज्ञ डा. ऋषिकेश ठाकुरले नेपालगन्जस्थित भेरी अस्पतालमा काज फिर्ता मिलाएका छन् । उनको काज फिर्ताको कागजात आइसकेकाले एक–दुई दिनभित्र भेरी अस्पतालमा हाजिरी हुने तयारीमा छन् । 

छात्रवृत्ति करारमा आउने चिकित्सकले एक वर्षसम्म सरकारले पठाएको अस्पतालमा काम गर्ने प्रावधान छ । नयाँ जनशक्ति तयार नभएकाले पुरानालाई रिप्लेस गर्न नसकेको कार्यकारी निर्देशक डा. भट्टराईले जिकिर गरे । 

उनले सातजना चिकित्सकले अस्पताल छाडे पनि दुईजना छात्रवृत्तिका चिकित्सक आएको बताए । उनले एमडिजिपी डा. खोम चौधरी र मूत्ररोग विशेषज्ञ डा. विपिन गुरागाईं अस्पतालमा आएको बताए । ‘पुराना चिकित्सक गए पनि नयाँ आउने क्रम पनि जारी छ । थप स्टाफ नर्स पनि भर्ना गरेका छौँ,’ उनले भने, ‘मन्त्रालयसँग थप जनशक्ति मागिराखेका छौँ, तर कुनै सुनुवाइ भएको छैन । थप चिकित्सकको व्यवस्था गर्न प्रयास निरन्तर जारी छ ।’ 

तीन दिनमा अल्ट्रासाउन्ड रिपोर्ट 
विशेषज्ञ चिकित्सकले अस्पताल छाडेपछि बिरामीहरू मर्कामा परेका छन् । विशेषज्ञता भएका चिकित्सक अभावमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) रिपोर्ट पाउन तीन दिन कुर्नुपर्ने बाध्यता छ । ‘डाक्टरहरू नहुँदा पछिल्लो समय उपचार पाउनै मुस्किल छ । भिडियो, प्याथालोजीलगायतका रिपोर्ट पाउन दुई–तीन दिन कुर्नुपर्छ,’ बिरामीका एक आफन्तले भने । 

अस्पतालका निर्देशक डा. भट्टराईले रेडियोलोजिस्ट नहुँदा अल्ट्रासाउन्ड रिपोर्ट आउन ढिलाइ भएको स्वीकार गरे । उनले बाहिरबाट बोलाएको चिकित्सकले समय दिन नसक्ने भएपछि रिपोर्ट आउन समय लाग्ने गरेको जिकिर गरे । ‘एक दिनमा १५–१६ जना बिरामीको अल्ट्रासाउन्ड हुन्छ, तर रेडियोलोजिस्टले हेर्न भ्याउनुहुन्न,’ उनले भने । बिरामीले सिटिस्क्यान, बायोप्सी रिपोर्ट पनि समयमा पाउन सकेका छैनन् । ‘दक्ष जनशक्ति नभएकाले सिटिस्क्यान र बायोप्सी रिपोर्ट आउन ढिलाइ भएको हो,’ डा. भट्टराईले भने । 
 

ad
ad