१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o असोज १२ शुक्रबार o६:o८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

डेंगुले प्रकोपको रूप लिएपछि घरघर जान थाले चिकित्सक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार o६:o८:oo

तनहुँमा असारयता मात्र डेंगुबाट चारजनाको ज्यान गएको छ, दुई हजार २० मा संक्रमण पुष्टि 

डेंगुले प्रकोपको रूप लिएपछि तनहुँको व्यास नगरपालिकाको दमौली बजार क्षेत्रमा घरघरमा चिकित्सक पुग्न थालेका छन् । तनहुँमा असारयता मात्र डेंगुबाट चारजनाको ज्यान गएको छ, दुई हजार २० मा संक्रमण पुष्टि भएको छ । जसमध्ये व्यासमा मात्रै एक हजार सात सय ९५ संक्रमित छन् ।

शंकरबाबु अधिकारी, प्रमुख, स्वास्थ्य कार्यालय तनहुँ
दमौलीका घरमा भएका बिरामीको अवस्था बुझ्ने काम भएको छ, घरमै बसेका बिरामीको ज्वरो नाप्नेदेखि स्वास्थ्य अवस्था र खानपिनको जानकारी लिने काम भइरहेको छ ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले डेंगुले प्रकोपको रूप लिएपछि संघ र गण्डकी सरकारबाट चिकित्सकसहितको टोली दमौली आएको बताए । ‘बिहीबार दमौलीका घरमा भएका बिरामीको अवस्था बुझ्ने काम भएको छ, घरमै बसेका बिरामीको ज्वरो नाप्नेदेखि स्वास्थ्य अवस्था र खानपिनको जानकारी लिने काम भइरहेको छ,’ उनले भने । डेंगुका कारण जटिल भएका बिरामीलाई भने अस्पताल पठाउने गरिएको उनले बताए । डेंगुको संक्रमण बढेसँगै दमौली अस्पतालमा जनशक्ति अभाव भएपछि व्यास नगरपालिकाले यसअघि नै चिकित्सकको टोली खटाएको थियो भने अहिले संघ र प्रदेशबाट पनि टोली आएको हो । संघ र गण्डकी सरकारले पनि पाँच–पाँचजना चिकित्सक खटाएको हो ।

दमौली अस्पतालमा दैनिक ५–६ सयको संख्यामा उपचारका लागि बिरामी आउने गरेका छन् जसमध्ये अधिकांशमा डेगु पजिटिभ भेटिएको छ । डेंगुका बिरामीको चाप बढेकाले अस्पतालमा समस्या भएको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर परिवर्तन बरालले बताए । ‘अधिकांश बिरामी ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या लिएर आउने गरेका छन् । ज्वरोका विरामी बढी भएकाले परीक्षण गर्दा धेरैमा पजिटिभ भेटिएको छ, उनले भने, ‘सीमित जनशक्ति भएकाले समस्या भइरहेको हो ।’

‘खोज र नष्ट गर’ अभियान
व्यास नगरपालिकामा डेंगु बढ्दै गएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । लामखुट्टेको लार्भा खोजेर नष्ट गर्न दमौलीका स्थानीय, जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ । डेंगु नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गर्ने, घर वरपरका पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्यक्रम विद्यालयमा गएर पनि गरिएको छ ।