नेपाली रंगमञ्चका उम्दा कलाकार हुन्, इंगिहोपो कोइच सुनुवार । दशकअघि गुरुकुलमा साथीसँग नाटक ‘सुइना कर्णाली’ हेरेपछि उनको नाटकप्रतिको दृष्टिकोण बदलियो । यो नाटक हेरेपछि नाटकप्रति थप मोह जाग्यो । बिस्तारै समय मिलाएर आफैँ पनि नाटक हेर्न जान थालेँ । दशकअघि कलाकार बनेर स्टेजमा कला प्रदर्शन गर्ने सोच हुर्किसकेको थियो । अहिले उनी रंगमञ्चको संसारमा रमाइरहेका छन् ।
मण्डला थिएटरमा मञ्चन भएको उनी निर्देशित पहिलो नाटक ‘दमिनी भीर’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । राजन मुकारुङद्वारा लिखित उपन्यासमा आधारित यो नाटक २२ भदौदेखि १० असोज (बुधबार) सम्म प्रदर्शन भएको थियो । पुस्तकलाई उनले समयसापेक्ष बनाएर मञ्चमा ल्याएका हुन् । उनलाई ‘दमिनी भीर’ले भने नाम मात्रै होइन, कामको पनि प्रशंसा दिलाएको छ । उनको डेब्यु निर्देशनबारे रंगमञ्चमा सकारात्मक चर्चा सुरु भएको छ । उपन्यासका पात्रलाई समयसापेक्ष बनाएर मञ्चमा ल्याएका छन् । उनी भन्छन्, ‘पुस्तकमा वर्गीय विभेद, जातीय विभेद, शोषण, उत्पीडन, वर्गसंघर्षलाई समेटिएको छ । त्यसैलाई हामीले नाटकमा उतारेका हौँ ।’
उनले यसअघि आफ्नो अभिनय कौशलबाट प्रशंसा पाइसकेका थिए । नाटक ‘जार’मा मुखियाको भूमिका, एनिमल फार्म, दयालु रूखजस्ता नाटकमा उनले आफ्नो अभिनय क्षमता देखाइसकेका छन् । नाटकमा फरक भूमिकाले कलामा निपूर्ण उनले दर्शकमाझ गहिरो छाप छोडिसकेका छन् ।
नाटकका हरेक कथामा फरक–फरक भूमिकामा देखिने उनले स्टेज डिजाइनमा आफ्नो कला देखाइसकेका छन् । कस्ट्युम डिजाइनमा कपडाको रङलाई कथासँग मिलाउन माहिर छन् । । नेपथ्यदेखि स्टेजसम्म, कलाकारितादेखि निर्देशनसम्म उनले आफूलाई प्रमाणित गरे ।
छोटो चलचित्र ‘सेनाको चेली’ निर्देशनसमेत गरेका उनले केही चलचित्रमा अभिनय पनि गरिसकेका छन् । तर, उनकोे मोह भने नाटकमै छ । भन्छन्, ‘दर्शकलाई प्रत्यक्ष अभिनय देखाउन पाउँदाको मज्जा नै बेग्लै छ ।’ यसबाहेक उनले विभिन्न स्कुलमा अभिनय सिकाउँदै आइरहेका छन् ।