अन्तर्राष्ट्रिय टी–२० मा नेपालको ऐतिहासिक प्रदर्शन, एउटै खेलमा १० विश्वकीर्तिमान

बिहिबार, ११ असोज, २०८०
डिजिटल संस्करण

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत बुधबार हाङझाउमा नेपाली क्रिकेट टोली मंगोलियासँग प्रतिस्पर्धामा उत्रिँदै गर्दा नतिजा लगभग अनुमानित नै थियो । तर, क्रिकेट पण्डितहरूले अनुमान गरेभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालले एकै खेलमा १० विश्व कीर्तिमान बनाएको छ । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको दुर्लभ कीर्तिमान बनाएका छन्, जुन आगामी दिनमा पनि ‘ब्रेक’ हुने सम्भावना अत्यन्त न्यून छ ।

मंगोलियाविरुद्धको खेलमा नेपालले सर्वाधिक योगफल, फराकिलो जित अन्तर, छिटो शतक र अर्धशतक, सर्वाधिक छक्का, स्ट्राइक रेट, सर्वाधिक रनरेट, तेस्रो विकेटका लागि उच्चतम साझेदारी तथा डेथ ओभर र अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउनेलगायतका विश्व कीर्तिमान बनाएको हो । अन्तर्राष्ट्रिय टी–२० मा मंगोलियाको यो डेब्यु खेल हो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै समेटियो । नेपालले एसियाडको नवप्रवेशी टोलीमाथि दुई सय ७३ रनको फराकिलो जित दर्ता गर्‍यो । अन्तर्राष्ट्रिय टी–२०मा यो जित अन्तर अहिलेसम्मकै कीर्तिमानी हो । यसअघि ३० अगस्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई दुई सय ५७ रनको अन्तरले हराएको थियो ।

जितलाई निरन्तरता दिने कोसिस गर्छौँ : रोहितकुमार पौडेल, कप्तान, नेपाल

मंगोलियाविरुद्ध हामीले पहिलो बलिङ गर्न खोजेका थियौँ । हामीले टस हार्‍यौँ र ब्याटिङ गर्न गयौँ । हामीलाई थाहा थियो– विकेट कन्डिसन निकै राम्रो थियो । ब्याटिङमा राम्रो गर्ने प्रयास थियो । यो विकेटमा तीन सय रन सहज लाग्यो । कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गरे । दुवै एग्रेसिभ रूपमा खेले । अहिले हाम्रो लक्ष्य पदकभन्दा पनि जितलाई निरन्तरता दिने हो । 

नेपालले मंगोलियाविरुद्ध बनाएको तीन सय १४ रनको योगफल पनि टी–२० फर्म्याटमा विपक्षी टोलीविरुद्ध बनेको अहिलेसम्मकै सर्वाधिक हो । यसअघि २३ फेब्रुअरी २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८/३ को रेकर्ड राखेको थियो । त्यस्तै, सन् २०१९ मै चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ को रेकर्ड  बनाएको थियो ।

यही खेलमा नेपालले सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड पनि बनाएको छ । नेपाली खेलाडीले आक्रामक ब्याटिङ गर्दै २६ छक्का र १४ चौका प्रहार गरे । यसअघि चेक रिपब्लिकको नाममा धेरै छक्काको रेकर्ड थियो । ३० अगस्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए । अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का प्रहार गरेको थियो । 

बायाँहाते ब्याट्सम्यान कुशल मल्लले कम बलमा शतक र दीपेन्द्रसिंह ऐरीले कम बलमै अर्धशतकीय इनिङ्सको विश्व कीर्तिमान पनि यही खेलबाट बनाए । कुशलले ३४ बलमा शतकीय इनिङ्स खेलेका थिए । उनले ५० बल सामना गरी १२ छक्का र आठ चौका प्रहार गरी एक सय ३७ रनको नटआउट योगदान दिए । यसअघि यो रेकर्ड संयुक्त रूपमा भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमसेखरको नाममा थियो । उनीहरूले समान ३५ बलमा शतक बनाएका थिए । 

त्यस्तै, दीपेन्द्रले ९ बलमै अर्धशतक बनाए । उनले १० बलमा आठ छक्काको सहयोगमा ५२ रनको योगदान गरे । यसअघि अन्तर्राष्ट्रिय टी–२० मा भारतका युवराज सिंहले इंग्ल्यान्डविरुद्ध १२ बलमा ५० रनको रेकर्ड राखेका थिए । अस्ट्रियाका मिर्जा अहसनले १३ बलमा ५० रन जोडेका थिए । 

दीपेन्द्रले टी–२० मा अहिलेसम्मकै उच्चतम स्ट्राइक रेटको रेकर्ड पनि राखेका छन् । उनले ५२०.०० स्ट्राइक रेटमा ब्याटिङ गरे । यसअघि वेस्ट इन्डिजका डवेन स्मिथले १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध ४१४.२८ को स्ट्राइकमा ब्याटिङ गरेका थिए । उनले सात बलमा २९ रन बनाएका थिए । 

नेपालले टी–२० मा सर्वाधिक रन रेटको रेकर्ड पनि राखेको छ । मंगोलियाविरुद्ध नेपालले प्रतिओभर रन रेट १५.७ मा ब्याटिङ गरेको थियो । यसअघि २३ फेब्रअरी ०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८/३ को योगफल जोड्दा १३.९ को रन रेटको रेकर्ड राखेको थियो । 

नेपाली ब्याट्सम्यानले मंगोलियाको कमजोर बलिङको भरपुर फाइदा उठाए । ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रन जोडे । भुर्तेलले २३ बलमा १९ रन र सेखले १७ बलमा १६ रन बनाए । त्यसपछि कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि एक सय ९३ रनको कीर्तिमानी साझेदारी गरे । रोहितले २७ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६१ रन बनाए । मंगोलियाले नेपाललाई २९ अतिरिक्त रन दिएको थियो ।

रोहित र कुशलबीचको साझेदारी टी–२० फम्यार्टमा कुनै पनि जोडीले तेस्रो विकेटका लागि गरेको उच्च साझेदारी पनि हो । यसअघि सन् २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले तेस्रो विकेटका लागि वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए । रोहित र कुशलको साझेदारी नेपाली टोलीका लागि कुनै पनि विकेटका लागि भएको अहिलेसम्मकै सर्वाधिक साझेदारी पनि हो ।

नेपालले अन्तर्राष्ट्रिय टी–२० खेलको डेथ ओभरमा सर्वाधिक रन बनाउने रेकर्ड पनि आफ्नो नाममा लेखाएको छ । नेपाली ब्याट्सम्यानले डेथ ओभरमा ८९ रन बटुलेका हुन् । यसअघि सन् २०१९ मा इंग्ल्यान्डले न्युजिल्यान्ड र नर्वेले जमर्नीविरुद्ध डेथ ओभरमा समान ७६ रन बनाएका थिए । 

त्यस्तै, नेपालले अन्तिम १० ओभरमा सर्वाधिक रनको रेकर्डसमेत बनायो । नेपाली ब्याट्सम्यानले अन्तिम १० ओभरमा एक सय ९२ रन बनाए । यसअघि टी–२० फम्यार्टमा आइपिएलअन्तर्गत बेंग्लोरले गुजरात लायन्सविरुद्ध एक सय ७२ रन बनाएको थियो । 

कीर्तिमानी जितपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले जितलाई निरन्तरता दिन लागिपर्ने बताए । ‘मंगोलियाविरुद्ध हामीले पहिलो बलिङ गर्न खोजेका थियौँ । टस हार्‍यौँ र ब्याटिङ गर्न गयौँ । हामीलाई थाहा थियो विकेट कन्डिसन निकै राम्रो थियो । ब्याटिङमा राम्रो गर्ने प्रयास थियो । यो विकेटमा तीन सय रन सहज लाग्यो,’ उनले भने, ‘कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गरे । दुवैले आक्रामक खेले । अहिले हाम्रो लक्ष्य पदकभन्दा पनि जितलाई निरन्तरता दिने हो ।’ 

समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेल माल्दिभ्ससँग खेल्नेछ । वरीयताको ८६औँ स्थानमा रहेको माल्दिभ्सलाई पराजित गरे नेपाल समूह विजेता बन्नेछ । क्वार्टरफाइनलमा टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सीधा स्थान बनाएका छन् । नेपालले सेमिफाइनल प्रवेशको खेलमा टेस्ट राष्ट्रमध्ये कुनै एक टोलीविरुद्ध खेल्नेछ ।

यी चारै राष्ट्रले एसियाडमा सिनियर खेलाडी पठाएका छैनन् । उनीहरूले आफ्ना खेलाडीलाई भारतमा हुने एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी गराउँदै छन् । भारतले इन्डियन प्रिमियर लिग खेलेका रुतुराज गायकवाडलाई कप्तान बनाएको छ । यसै सिजनमा कोलकाता नाइट राइडर्सका रिंकु सिंह पनि एसियाडमा भारतीय टोलीबाट खेल्नेछन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । मंगोलियाले वरीयता नै प्राप्त गरेको छैन । सन् २००७ मा मात्रै मंगोलिया क्रिकेट एसोसिएसनको स्थापना भएको थियो । सन् २०२१ मा आइसिसीको सदस्य बन्यो । मंगोलियाको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल नै नेपालविरुद्ध हो । 

शतक, अर्धशतकदेखि सर्वाधिक छक्कासम्मका यस्ता रेकर्ड

सर्वाधिक रनरेट : प्रतिओभर १५.७
मंगोलियाविरुद्ध नेपालले प्रतिओभर रनरेट १५.७ मा ब्याटिङ गरेको थियो । यसअघि २३ फेब्रुअरी ०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८/३ को योगफल जोड्दा १३.९ को रनरेट राखेको थियो ।

३४ बल मै शतक
कुशल मल्लले अन्तर्राष्ट्रिय टी–२० मा ३४ बलमै शतक बनाएर विश्वकीर्तिमान राखे । ५० बल सामना गरेका उनले १२ छक्का र आठ चौकाको मद्दतमा १३७ रनको अविजित पारी खेले । यसअघि यो रेकर्ड संयुक्त रूपमा भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेश विक्रमसेखरको नाममा थियो । उनीहरूले समान ३५ बलमा शतक बनाएका थिए । 

९ बलमै अर्धशतक
दीपेन्द्रसिंह ऐरीले पनि ९ बलमै अर्धशतक बनाएर विश्वकीर्तिमान राखे । उनले १० बलमा आठ छक्काको सहयोगमा ५२ रन बनाए । यसअघि भारतका युवराज सिंहले टी– २० मा इंग्ल्यान्डविरुद्ध १२ बलमा ५० रनको रेकर्ड राखेका थिए । 

३१४ रनको कीर्तिमानी योगफल 
विपक्षी टोलीविरुद्ध सर्वाधिक धेरै योगफलको कीर्तिमान पनि नेपालले बनाएको छ । २० ओभरमा ३१४ रनको योगफल अहिलेसम्म कुनै राष्ट्रले बनाएका थिएनन् । यसअघि २३ फेब्रुअरी २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८/३ को रेकर्ड राखेको थियो । 

२७३ रनको फराकिलो जित 
नेपालले मंगोलियालाई २७३ रनले हराउँदै अहिलेसम्मकै फराकिलो अन्तरको जित निकाल्यो । यसअघि ३० अगस्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।

२६ छक्काको कीर्तिमान
नेपालले सर्वाधिक छक्का प्रहारको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरुद्ध नेपाली खेलाडीले २६ छक्का हाने । यसअघि २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध, अफगानिस्तानले आयरल्यान्ड र वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का प्रहार गरेका थिए । 

तेस्रो विकेटको साझेदारी १९३ रन
कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि १९३ रनको कीर्तिमानी साझेदारी गरे । कुनै पनि जोडीले तेस्रो विकेटका लागि गरेको यो उच्च साझेदारी हो । यसअघि सन् २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले तेस्रो विकेटका लागि वेस्टइन्डिजविरुद्ध १८४ रनको साझेदारी गरेका थिए ।

५२०.०० को स्ट्राइक रेट
दीपेन्द्रले टी–२० मा अहिलेसम्मकै उच्चतम स्ट्राइक रेट राखेका छन् । उनले ५२०.०० स्ट्राइक रेटमा ब्याटिङ गरे । यसअघि वेस्टइन्डिजका डवेन स्मिथले १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध ४१४.२८ को स्ट्राइकमा ब्याटिङ गरेका थिए ।

डेथ ओभरमा ८९ रन
डेथ ओभरमा सर्वाधिक रन बनाउने रेकर्ड पनि नेपालले आफ्नो नाममा लेखाएको छ । डेथ ओभरमा नेपाली खेलाडीले ८९ रन बटुलेका हुन् । यसअघि सन् २०१९ मा इंग्ल्यान्डले न्युजिल्यान्ड र नर्वेले जर्मनीविरुद्ध डेथ ओभरमा समान ७६ रन बनाएका थिए । 

अन्तिम १० ओभरमा १९२ रनको कीर्तिमान  
नेपालले एकपछि अर्को विश्वकीर्तिमान राख्ने क्रममा अन्तिम १० ओभरमा समेत रेकर्ड बनायो । नेपाली ब्याट्सम्यानले अन्तिम १० ओभरमा १९२ रन बनाए । यसअघि टी–२० फर्म्याटमा आइपिएलअन्तर्गत बेंग्लोरले गुजरात लायन्सविरुद्ध १७२ रन बनाएको थियो । 

सुझावित समाचार