
तीर्थयात्राको समय थियो । पतिपत्नी नै यसको लाभ लिन चाहन्थे । दुवै धार्मिक प्रवृत्तिका थिए । उनीहरू जुन–जुन धामको दर्शनका लागि जान चाहन्थे, ती हजारौँ किलोमिटरको दूरीमा थिए । त्यसैले, उनीहरूले रेलको टिकट बुक गरे ।
जब उनीहरू तीर्थयात्रामा निस्कने तयारीमा थिए, त्यति नै वेला छिमेकीबाट सुने, अघिल्लो साँझ भएको रेलको भयानक दुर्घटनामा कैयौँ यात्रुको ज्यान गयो । उनीहरू दुवै डराए । तीर्थयात्राका लागि जोखिम उठाउन उनीहरू तयार भएनन् ।
पतिपत्नी दुवैले फेरि बसबाट यात्रा गर्ने तयारी गरे र सामान मिलाउन थाले । त्यतिखेरै टेलिभिजनबाट समाचार आयो– तीर्थयात्री लिएर गइरहेको बस दुर्घटना, कैयौँको मृत्यु । दुवैलाई समाचारले स्तब्ध बनायो । उनीहरूले फेरि भने– तीर्थयात्राका लागि यति धेरै जोखिम उठाउनु ठिक होइन ।
अन्त्यमा, उनीहरू दुवै पैदलै तीर्थयात्रामा निस्कने निर्णय गरेर घरबाट निस्किए । बाटामा एउटा भयानक दुर्घटना भएको थियो । एउटा ट्रकले किच्दा दुईजना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको उनीहरूले थाहा पाए । त्यो सुनेपछि दुवैले एकै स्वरमा भने– भगवान् ! हामी तीर्थयात्राका लागि यति ठूलो जोखिम लिन सक्दैनौँ, कृपया हामीलाई माफ गर्नुहोस् ।
दुवै घर फर्किए । भोलिपल्ट बिहानै घरमा पत्रिका आइपुग्यो । पतिले पत्रिका उठाए । पहिलो पानामा समाचार थियो– घरको छत खस्दा परिवारका दुई सदस्यको मृत्यु । अब दुवै पतिपत्नी समस्यामा परे । जोखिम छ भन्दै उनीहरू घर छाडेर कतै जान सक्ने अवस्था थिएन । त्यसैले, उनीहरूले बुझे– जिन्दगीमा जोखिम नलिनु नै सबैभन्दा ठूलो जोखिम रहेछ ।