मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज १० बुधबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १० बुधबार १३:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘धर्नामा रहेका ‘ई:’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन’ 

राष्ट्रिय मानव अधिकार आयोगकाे गम्भीर ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १० बुधबार १३:५९:oo

राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न ध्यानाकर्षण गराएको छ। 

साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत आठ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

आयोगले धर्नामा रहेका व्यक्ति ‘ईः’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवनरक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीको पहिचान गरी उनीहरूलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। 

बुधबार विज्ञप्ति जारी गर्दै धर्नामा रहेका अभियान्ता ‘ईः’को दुवै खुट्टा अस्वाभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको उल्लेख गर्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न निर्देशन दिएको छ। 

मंगलबार आयोगले स्थलगत अनुगमन गरेको थियो। आयोगसमक्ष अनुगमनका क्रममा महानगरपालिकाबाट यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासो प्रदर्शनकारीले गरेका थिए। आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ। 

‘निज ‘ईः’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेसा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ । संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ।’