मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Tuesday, 17 December, 2024
कमल खत्री म्याग्दी
२o८o असोज १० बुधबार o८:३४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुस्ताङमा स्याउ टिप्न भ्याइनभ्याइ

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o असोज १० बुधबार o८:३४:oo

अघिल्लो वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतसम्म उत्पादन घट्यो

स्याउको राजधानी भनेर परिचित मुस्ताङमा यतिवेला स्याउ टिप्न भ्याइनभ्याइ छ । व्यापारीहरू बगैँचामै पुगेर स्याउ संकलन गरिरहेका छन् । स्याउ पाक्न सुरु भएको तथा चाडपर्वको सुरुवात भइसकेकाले बजारमा स्याउ पुर्‍याउन व्यापारीको घुइँचो लाग्न थालेको मार्फाका अगुवा स्याउ कृषक दीपक लालचनले बताए । उनका अनुसार, उच्च घनत्वमा आधारित स्याउका बोटमा फलेका स्याउ निर्यात गर्न थालिएको छ । 

हिमालपारिको जिल्ला मुस्ताङको स्याउ विशेष मानिन्छ । त्यसैले मुस्ताङी स्याउ म्याग्दी, बागलुङ, पर्वत, कास्की हुँदै देशका ठूला बजारसम्म पुग्न थालिसकेका छन् । मुस्ताङमा स्याउखेतीको क्षेत्रफल विस्तार भए पनि यस वर्ष उत्पादन भने घटेको अनुमान गरिएको छ । फूल खेल्ने समयमा भारी वर्षा भएकाले उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङका सूचना अधिकारी हरिप्रसाद न्यौपानेले जानकारी दिए । ‘थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादनका लागि मुख्य पकेट क्षेत्र हुन् । वर्षाले यसै क्षेत्रमा बढी असर पुर्‍याएको थियो । त्यसैले गत वर्षको तुलनामा ३० देखि ४० प्रतिशत उत्पादन घट्न सक्ने अनुमान छ,’ सूचना अधिकारी न्यौपानेले नयाँ पत्रिकासँग भने । थासाङ गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक जिल्लाका अन्य पाँचवटै स्थानीय तहमा स्याउखेती हुँदै आएको छ । 

मुस्ताङमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएकोमा पाँच सय ८० हेक्टरमा रहेका स्याउका बोटले मात्रै उत्पादन दिने गरेको छ । जसमध्ये ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार भएको हो ।