मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Saturday, 11 January, 2025
भानुरोशन राजभण्डारी
२o८o असोज १० बुधबार o६:४६:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिकित्सकमाथि हुने कुटपिटमा दोषी को ?

चिकित्सकले उपचार गर्दा अपनाउनुपर्ने सावधानी तथा बिरामी र निजका परिवारजनले अपनाउनुपर्ने संयमको सीमाका विषयमा छलफल गर्न ढिलो भइसक्यो

Read Time : > 4 मिनेट
भानुरोशन राजभण्डारी
नयाँ पत्रिका
२o८o असोज १० बुधबार o६:४६:oo

प्रसंग १ :  ढाड दुखेर हिँड्नै नसक्ने अवस्थामा पुगेका एकजना साथीलाई उपचारका क्रममा नेपालकै नाम चलेका न्युरो सर्जनद्वारा सञ्चालित अस्पतालमा लगेपश्चात् चिकित्सकले भन्नुभयो— तुरुन्तै भर्ना गर्नुस्, भोलि नै अप्रेसन गर्नुपर्छ । अप्रेसन नगर्दा पक्षघात हुनुका साथै ‘जे पनि’ हुन सक्छ । उनको भनाइबाट त्यति सन्तुष्ट हुन नसकेपछि एक–अर्का डक्टरकहाँ गएर सबै रिपोर्ट देखाएपछि उहाँले केही औषधि सेवन गर्न लगाउनुभयो र व्यायाम पनि गराउनुभयो । अहिले साथीको स्वास्थ्य अवस्था समान्य छ, कुनै अप्रेसन गर्नुपरेन ।

प्रसंग २ :  पोखराका मेरा एक आफन्तलाई ब्रेन ट्युमर भएपछि उपचारका लागि काठमाडौंस्थित नेपालकै नाम चलेको एक पुरानो निजी अस्पतालमा लगियो । अप्रेसन गर्र्नैपर्छ भनियो । अप्रेसन कक्षमा लानै लागेको अवस्थामा मात्र अप्रेसनको जोखिमबारे परिवारजनलाई बताइयो । अप्रेसनका लागि लानै लागेको समयमा के गर्ने, के भन्ने भनेर परिवारजन बडो द्विविधामा पर्नुभयो । त्यही जानकारी समयमै दिएको भए के फरक पथ्र्यो र ? 

प्रसंग ३ :  दाँतमा किरा लागेर उपचार गर्नुपर्दा जरैदेखि भर्नुपर्छ, यति पैसा लाग्छ भनेपछि सामान्यतः के बुझिन्छ ? पानीपोखरीस्थित एक दन्त अस्पतालमा यस्तै भयो । उपचारका लागि लाग्ने भनेको पैसा जरा भर्नका लागि मात्र हो रे ! दाँतको माथिल्लो तहसम्म भर्न थप शुल्क लाग्छ भनियो । गोंगबुस्थित एक दन्त अस्पतालमा जरैदेखि भरेको दाँतमा केही महिनापछि समस्या परी एक्स–रे गरी हेर्दा भर्नुपर्ने भागसम्म नपुगी भरेकाले समस्या आएको देखियो । 

यी त लेखक स्वयंले देखे–भोगेका घटना मात्र हुन् । अहिले समय–समयमा चिकित्सकले गरेको उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको, चिकित्सक कुटिएको, अस्पतालमा तोडफोड भएकोजस्ता समाचार आउनु सामान्यजस्तो भइसकेको छ । केही दिनअघि मात्र हेटौंडामा एकजना बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएको भनी मृतकका आफन्तद्वारा चिकित्सकमाथि कुटपिट भएको घटनाबारे समाचार प्रकाशमा आएपछि यस विषयले सर्वत्र चर्चा पायो । यही सोमबार मात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पनि यस्तै प्रकृतिको घटना दोहोरिएको छ । यहाँ पनि चिकित्सकमाथि हातपात र अस्पतालमा तोडफोडका घटना भएका छन् ।

आफ्नो पेसामा इमानदार भई बिरामीको सेवामा समर्पित हुनु चिकित्सकको धर्म हो भने बिरामीका आफन्तले पनि कहीँकतै उपचारमा लापरबाही भएर बिरामीको ज्यान तलमाथि परिहालेको अवस्थामा संयम गुमाएर कुटपिट र तोडफोडमा उत्रिनुभन्दा कानुनी उपचारको बाटोमा लाग्नु उचित हुन्छ
 

आखिर यस किसिमका दुःखद घटना किन भइरहेका छन् ? र, बारम्बार किन दोहोरिरहेका छन् ? यो विषयमा सरोकारवाला सबै पक्ष संवेदनशील हुनु जरुरी छ । चिकित्सकले उपचार गर्दा अपनाउनुपर्ने सावधानी र बिरामी तथा निजका परिवारजनले अपनाउनुपर्ने संयमको सीमाका विषयमा पनि छलफल हुनुपर्ने समय आइसकेको छ । एकजना डाक्टरले मिहिनेतले पढ्छ, परीक्षा पास गर्छ, सोही कर्ममा लागेर उसले अनेक अनुभव लिन्छ र त्यही ज्ञान, सीप र अनुभवले बिरामीको उपचार गर्छ । ज्ञान, विवेक र अनुभव, प्रविधिको कुनै सीमा नै हुँदैन । अहिले जनसंख्याको अनुपातमा सरकारी अस्पतालको संख्या निकै कम छ, चिकित्सक र स्वास्थ्य सेवामा आवश्यक पर्ने अन्य जनशक्तिको दरबन्दी पनि अत्यन्त न्यून छ । हालै मात्र कान्ति बाल अस्पतालमा समयमै उपचार नपाउँदा एक बालिकाले अनाहकमा ज्यान गुमाउनुप¥यो । 

अहिले काठमाडौंका वीर, त्रिवि शिक्षणलगायत अस्पतालमा बिरामीको अत्यधिक चाप छ । अप्रेसनका लागि महिनौँ कुर्नुपर्ने बाध्यता छ । आकस्मिक कक्षको अवस्था हेर्ने हो भने झनै बेहाल छ । एउटै बेडमा दुई–तीनजना बिरामी खुट्टा खुम्च्याएर कोचिइरहेका देखिन्छन् । त्रिवि शिक्षण अस्पतालमा त झन् बेड नपाएर ह्विल चेयरका साथै भुइँमै पनि बिरामी देखिनु सामान्यजस्तै भइसकेको छ । आकस्मिक कक्ष सानो र साँघुरो छ, शौचालय पनि जम्मा एउटा मात्र छ । आकस्मिक कक्षमा बिरामीको ताँती लागेको हुन्छ । डाक्टर र नर्सलाई भ्याई–नभ्याई छ । पर्याप्त जनशक्ति नभएर हो कि ? समयमै बिरामीले उपचार पाउनु आकाशको फल बन्दै गएको छ । 

सरकारी अस्पतालमा कार्यरत चिकित्सकले पर्याप्त समय दिएर बिरामीको स्वास्थ्य परीक्षण गर्न नसक्नुमा बिरामीको अत्यधिक चापलाई कारण बताउने गरेका छन् । तथापि पर्याप्त चिकित्सक भएको सरकारी अस्पतालमै पनि बिरामीलाई पर्याप्त समय दिइएको पाइँदैन । अस्पतालमा बिरामीको लाइन हुने नै भयो । त्यहीँमाथि छिटोभन्दा छिटो डाक्टरलाई भेट्न चाहने एमआर अर्थात् औषधि उत्पादन कम्पनीका प्रतिनिधिको अलग्गै लाइन हुन्छ ।

डक्टरलाई भेटेर आआफ्ना कम्पनीका औषधिको व्यापार प्रवद्र्धन गर्न उनीहरूले निकै दौडधुप गरिरहेको देखिन्छ । औषधि व्यवसायी र डाक्टरले पनि औषधि उत्पादक कम्पनीबाट कमिसन पाउँछन् भन्ने सुनिन्छ । जुन कम्पनीले बढी कमिसन दिन्छ, व्यापारीले तिनै कम्पनीका औषधि बेच्ने र चिकित्सकले पनि तिनै कम्पनीको औषधि सिफारिस गर्ने गरेको देखिन्छ । विदेश भम्रणको प्याकेज, घरेलु उपकरणका साथै नगद उपहारसमेत औषधि विक्रेताले दिने गरेको चर्चा सुनिन्छ । यसरी कमिसनको प्रभावमा सिफारिस गरिँदा औषधिकै गुणस्तरको प्रश्न पनि वेलावेलामा उठ्ने गरेको छ । के अहिले बजारमा पाइने र चिकित्सकले रिफर गर्ने सवै औषधि गुणस्तरयुक्त छन् त ? नियमनकारी निकायले खोजबिन गर्ने समय आएको छ । 

उपचार पद्धतिमा कुनै मापदण्ड तोकिएकोजस्तो लाग्दैन । सबै चिकित्सकको भरोसामा मात्र उपचार गराउनुपर्ने अवस्था छ । के गरे हुने हो र के गरे नहुने हो ? बिरामीलाई थाहा हुने कुरै हुँदैन । निजी अस्पताल र क्लिनिकमा गर्नै नपर्ने परीक्षण गर्न लगाइन्छ भन्ने ब्यापक जनगुनासो छ । अस्पताल व्यवस्थापनलाई खुसी राख्न सामान्य समस्याका बिरामीलाई पनि महँगो शुल्क लाग्ने परीक्षण गराउने गरिएको पनि गुनासो सुनिन्छ । यतिले नपुगेर महँगा कहलिएका अस्पतालका चिकित्सकले पनि निजी ल्याबतिर परीक्षणका लागि पठाउने र सोबापत निश्चित रकम कमिसनबापत असुल्ने गरेको पनि सुनिन्छ । 

प्रशिक्षार्थी चिकित्सकले गर्ने व्यवहारबाट पनि बिरामी थप पीडित हुने गरेको उदाहरण छ । एकजना आएर सबै विवरण सोध्छन्, बिरामीले सबै कुरा बेलिविस्तार लगाउँछन् अनि अर्का आउँछन्, तिनै प्रश्न दोहोर्‍याएर बिरामीलाई हैरान बनाउँछन् । नेपालकै जेठो मानिने वीर अस्पतालमा पनि अवस्था यस्तै छ । बहिरंग विभागमा प्रायः प्रशिक्षार्थी चिकित्सककै भिड हुन्छ । प्रशिक्षार्थी चिकित्सकले स्वास्थ्य परीक्षण नै गर्न नपाउने भन्ने त होइन, तर सिनियर डक्टरको निगरानीमा गर्ने व्यवस्था त मिलाउनुपर्ने हो । सिनियर डाक्टरको अनुपस्थितिमा प्रशिक्षार्थी चिकित्सकले गर्ने उपचारले जोखिम निम्त्याउन पनि सक्छ । 

सरकारी अस्पतालभन्दा निजी अस्पताल र क्लिनिकमा जाने बिरामीको संख्या कम छैन । संख्यात्मक रूपमा सरकारीभन्दा निजी अस्पतालको संख्या धेरै भएबाट पनि यस तथ्यको पुष्टि हुन्छ । एकै चिकित्सकले एउटै बिरामीलाई सरकारी अस्पतालमा गर्ने व्यवहार र निजी अस्पताल या क्लिनिकमा गर्ने व्यवहारमा आकाशपातालको अन्तर हुन्छ । सरकारी अस्पतालमा जागिर खाने, नाम मात्रको समय सरकारी अस्पतालमा दिने अनि भएभरको समय निजी अस्पताल र क्लिनिकमा खर्चने चिकित्सकको यो कस्तो पेसागत मर्यादा हो ? एक चिकित्सकका लागि बिरामी बिरामी नै हो, चाहे सरकारी अस्पतालमा होस् या निजीमा । तर, गरिने व्यवहारबीचको अन्तरले चिकित्सकको पेसागत मर्यादामा प्रश्न उठाउन सकिन्छ । यसले व्यावसायिक रूपमा निष्ठापूर्वक काम गर्ने चिकित्सकलाई पनि आघात पुर्‍याउन सक्छ । 

माथि पनि भनियो कुनै पनि चिकित्सकले गर्ने उपचारमा उसको ज्ञान, सीप, क्षमताका साथै उपलब्ध स्रोत–साधनले भूमिका खेल्छ । सबै क्षेत्रमा निजीकरणसँगै स्वास्थ्य क्षेत्रमा पनि निजी क्षेत्रको ठूलो लगानी छ । झट्ट हेर्दा यसले जनतालाई सेवा त दिएकै देखिन्छ, तर यसले पार्न सक्ने जोखिमप्रति भने त्यति ध्यान दिएको पाइँदैन । निजी अस्पतालमा काम गर्ने चिकित्सकमाथि व्यवसाय र आर्थिक आर्जनका विषयमा व्यवस्थापनको चर्को दबाब हुन्छ । त्यसै दबाबका कारण पनि चिकित्सकमाथि कुटपिट हुने र अस्पतालमा तोडफोड हुने घटनाहरू समय–समयमा दोहोरिरहेका हुन सक्छन् । अर्को अस्पतालमा रिफर पनि नगर्ने, डिस्चार्ज पनि नगरिदिने अनि कुनै अप्रिय घटना घटिहालेमा जिम्मेवारीबाट पन्छिनेजस्ता कारणले पनि बिरामीका आफन्तले संयम गुमाउँदा कुटपिट र तोडफोडका घटना भएका हुन सक्छन् ।  

 चिकित्सकहरू पनि देशका सम्पत्ति हुन् । ठूलो लगानी र कडा मिहिनेतले एउटा चिकित्सक उत्पादन भएको हुन्छ । चिकित्सकले धेरैभन्दा धेरै काम गर्नुको अर्थ धेरैभन्दा धेरै जनताले स्वास्थ्य सुविधा प्राप्त गर्नु हो । आफ्नो पेसामा इमानदार भई बिरामीको सेवामा समर्पित हुनु चिकित्सकको धर्म हो भने बिरामीका आफन्तले पनि कहीँकतै उपचारमा लापरबाही भएर बिरामीको ज्यान तलमाथि परिहालेको अवस्थामा संयम गुमाएर कुटपिट र तोडफोडमा उत्रिनुभन्दा कानुनी उपचारको बाटोमा लाग्नु उचित हुन्छ । परन्तु केही चिकित्सक पैसाकै लागि मरिहत्ते गरेर हिँड्ने, एक–आपसमा बढीभन्दा बढी कमाउने प्रतिस्पर्धामा लाग्ने तथा पेसाको सामान्य मर्यादा पनि पालना नगर्ने प्रवृत्तिले सर्वसाधारणको नजरमा चिकित्सा पेसा सेवामुखी कम पैसामुखी बढी हुँदै गएको देखिन्छ । यसतर्फ पनि सरोकारवाला पक्ष सचेत हुनुपर्ने देखिन्छ । 
(राजभण्डारी अधिवक्ता हुन्)