
एकपटक एक ग्राहक चित्र बिक्री कक्षमा पुगे । उनी बिक्री कक्षका चित्र एकएक गरी नियाल्दै थिए । अचानक उनका आँखा अनौठा चित्रमा पुगेर टक्क रोकिए । त्यहाँ एकसाथ दुई अलग–अलग चित्र राखिएका थिए । ती दुईमध्ये पहिलो चित्रको अनुहार नदेखिने गरी कपालले ढाकेको थियो भने खुट्टामा पखेटा थिए । दोस्रो चित्रको शिरको पछिल्लो भाग पूरै खुइलिएको थियो ।
दुई अनौठा चित्र देखाउँदै ग्राहकले व्यापारीसित सोधे– साहुजी, यो केको चित्र हो ? व्यापारीले जवाफ दिए– हजुर, यो अवसरको चित्र हो । ग्राहकले पुनः प्रश्न गरे– यो चित्रको अनुहार किन कपालले ढाकिएको छ ? व्यापारीले जवाफ दिए– किनकि, प्रायः जब अवसर आउँछ, तब मानिसले उसलाई चिन्दैनन् । ग्राहकले प्रश्न गरे– अनि यो खुट्टामा पखेटा किन छन् नि ? व्यापारीले जवाफ फर्काए– किनकि, अवसर आयो भने पनि यो तुरुन्तै भागिहाल्छ । यसको ठीक समयमा ठीक ढंगले उपयोग हुन सकेन भने यो तत्काल उडिहाल्छ ।
व्यापारीको जवाफ ध्यानपूर्वक सुनिरहेका ग्राहकले पुनः प्रश्न गरे– अनि, यो पछिल्तिरबाट तालु खुइलिँदै गएको चित्रचाहिँ केको हो नि ? व्यापारीले जवाफ दिए– यो पनि अवसरकै हो । तपाईं अवसरलाई अगाडिबाटै समात्न सफल हुनुभयो भने त त्यो तपाईंकै भइहाल्यो । कथम् त्यो फुत्किहाल्यो र केहीपछि तपाईंले त्यसलाई पक्रिने कोसिस गर्नुभयो भने उसको पछाडिबाट खुलिएको शिर भेट्नुहुनेछ, जुन तपाईंको हात पर्नासाथ चिप्लिएर टाढा पुग्नेछ । तपाईं त्यसलाई पक्रन असफल हुनुहुनेछ । व्यापारीको जवाफबाट ग्राहकले जीवनको एक अमूल्य रहस्यबोध गर्ने अवसर पाए ।