
१९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा उसुमा नेपाली दुई प्रमुख खेलाडी बाहिरिएका छन् । मंगलबार पुरुषतर्फ ताउलो इभेन्ट्समा दीपक हमाल आफ्नो समूहमा १५औँ स्थानमा रहेका छन् । उनले समग्रमा ९.५४ स्कोर गरेका थिए।
ताउलोमा दीपकले तीनपटक आफ्नो प्रस्तुति दिए। पहिलोमा ४.९०, दोस्रोमा २.६४ र तेस्रोमा उनले दुई अंक हात पारे । यस समूहमा इन्डोनेसियाका ह्यारिसले स्वर्ण पदक जिते । उनले मकाउका हाङ जुहानुलाई झिनो अन्तरले पछि पार्दै स्वर्ण जिते।
हाङले रजत जित्दा ९.७४ स्कोर गरे। तेस्रो स्थान (कांस्य) पदक दक्षिण कोरियाका योगमानले जिते । उनले ९.३६ अंक जोडे । दीपकले प्रतिस्पर्धा गरेको इभेन्टसमा २० खेलाडी थिए । पुछारमा ताजकिस्तानका भालिइभ रहे । उनले ७.३६ अंक बटुले । दीपकभन्दा एक स्थानमाथि थाइल्यान्ड र १६औँ स्थानमा भियतनामका खेलाडी रहे।
यसैगरी, १३औँ दक्षिण एसियाली खेलकुकी स्वर्ण पदक विजेता निमा घर्तीमगर आफ्नो समूह सेन्ट्रो ताउलोमा आठौँ स्थानमा रहिन्।
निमाले आठौँ स्थानमा रक्षा गर्दा ९.५३ अंक बटुलेकी थिइन् । उनले पहिलो चरणमा पाँच अंक, दोस्रो राउन्डमा २.६१ र तेस्रो राउन्डमा १.९५ अंक गरेकी थिइन् । निमाले प्रतिस्पर्धा गरेको इभेन्ट्समा चीनकी चेन हुइयिनले स्व्र्ण जित्दा सर्वाधिक ९.८० अंक बटुलेकी थिइन्।
रजत पदक विजेता मलेसियाकी चोइयोनले ९.७१ र कांस्य पदक विजेता उज्वेकिस्तानकी लासेभाले ९.७० स्कोर गरेकी थिइन्। राष्ट्रिय खेलकुद परिषद्ले सम्भावित पदक जित्ने खेलका रूपमा उसुलाई समेत राखेको थियो।
यसै आधारमा उसुका खेलाडी ‘हाइप्रोफेमेन्स’ प्रशिक्षण प्रदान गरेको थियो। तर, एसियाडमा आशा गरेका उसुका खेलाडीले नेपाललाई सोचेजस्ताे नतिजा दिलाउन सकेनन्। यद्यपि, अहिलेसम्म उसुले नेपाललाई एसियाडमा पदक दिलाएको छैन।