१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Saturday, 06 July, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८o असोज ९ मंगलबार o६:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

झन्डै डेढ खर्बको निक्षेप थपियो, तर ब्याजदर घटाउन तयार छैनन् बैंकर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार o६:४६:oo

पछिल्लो एक महिनामा बैंकिङ प्रणालीमा करिब डेढ खर्ब निक्षेप थपिएको छ । निक्षेप बढ्दै गए पनि ब्याजदर घटाउने मनस्थितिमा भने बैंकरहरू छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार एक महिना चार दिनको अवधिमा बैंकिङ प्रणालीमा एक खर्ब ४३ अर्ब निक्षेप थपिएको छ । लगानीयोग्य पुँजी मापन गर्ने प्रमुख सूचक कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) ८२.४१ प्रतिशत पुगेको छ । तर, यस्तो सहज अवस्थामा पनि ब्याजदर घटाउने स्थिति नरहेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिए । 

विगतमा निक्षेप बढाउन ब्याजदर बढाउँदै आएका बैंकहरूले पछिल्लो समय निक्षेप खोसिने त्रासले ब्याजदर बढाइरहेको उनको भनाइ छ । उनले भने, ‘विगतमा निक्षेप आकर्षित गर्न सबै बैंकहरूले ब्याजदर बढाउनुपरेको अवस्था थियो । खासगरी संस्थागत निक्षेपमा खोसाखोसको प्रवृत्ति बढ्दो छ । यस्तो निक्षेप बढी ब्याजदर पाउने भएपछि एक बैंकबाट अर्काे बैंकमा सिफ्ट (स्थानान्तरण) भइहाल्छ । अब त निक्षेप अरू बैंकले खोस्लान् भन्ने त्रासले ब्याजदर बढाउने अवस्था आएको छ ।’

भदौ अन्तिम सातातिर सरकारले स्थानीय तहको सञ्चित कोषको मौज्दातमध्ये ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएसँगै निक्षेपमा वृद्धि भएको हो । सरकारको निर्णय कार्यान्वयनमा आउनेबित्तिकै करिब ६० अर्ब प्रणालीमा थपिएको थियो । मसान्तमा अझ बढी पैसा आउने भएकाले निक्षेप संकलन बढ्दो क्रममा छ । त्यस्तै, रेमिट्यान्समा भएको वृद्धिले पनि निक्षेप संकलनमा उत्साहप्रद सुधार आएको खालिङको भनाइ छ ।

ब्याजदरलाई स्थायित्व दिन केही समय भद्र सहमतिलाई निरन्तरता दिन आवश्यक परेको उनको भनाइ छ । बजारमा वास्तविक क्षेत्र (कृषि, उद्योग आदि) कमजोर भइरहेको अवस्थामा ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा गर्ने गतिविधि बैंकहरू आफ्नै लागि प्रत्युत्पादक हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनले भने, ‘रियल सेक्टर कमजोर भएको समयमा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा जुन भइरहेको छ, यसले भविष्यमा लगानी गर्न बैंकहरूलाई चुनौती थपिने देखिन्छ । यस्तो समयमा बैंकहरू आफैँ संयमित भएर ब्याजदरमा प्रतिस्पर्धा गर्नुपर्ने हो । चर्काे ब्याजदर भएपछि लगानी कसरी गर्न सकिन्छ ? त्यसबारे सोच्नुपर्छ ।’

चालू आर्थिक वर्षको सुरुवातदेखि भद्र सहमति तोडेर प्रतिस्पर्धामा उत्रिएका बैंकहरूले सोही आधारमा ब्याजदर निर्धारण गरिरहेका छन् । तर, साउन, भदौ र असोजको ब्याजदरलाई तुलना गर्ने हो भने बैंकहरू घटाउनभन्दा बढाउन उन्मुख भइरहेको देखिन्छ । साउनमा अधिकतम १०.९४ प्रतिशतसम्म व्यक्तिगत मुद्दतीमा ब्याजदर दिएका बैंकहरूले असोजसम्म आइपुग्दा अधिकतम ११ प्रतिशत नघाएका छन् । संस्थागत निक्षेपको ब्याजदर नै ९ प्रतिशत नाघिसकेको छ ।  
गत साउनमा सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिने सुविधामा निरन्तरता नदिँदा बैंकिङ प्रणालीबाट एक खर्ब ५९ अर्बबराबरको निक्षेप बाहिरिएको थियो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५७ खर्ब ७१ अर्ब कायम थियो । तर, साउन मसान्तसम्म आइपुग्दा यो ५६ खर्ब १२ अर्ब पुग्यो ।  

भदौको सुरुवातमै बैंकरहरूको दबाबमा निक्षेप गणना गर्न दिने सरकारले तयारी गरे पनि अर्थ मन्त्रालयमा आन्तरिक सहमति जुट्न नसक्दा कार्यान्वयनमा आउन सकेन । सरकारले स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरिसकेको छ । अर्थ मन्त्रालयले ब्याजदर घट्ने अपेक्षासहित यस्तो निर्णय गरेको थियो । तर, बैंकहरूले भने अपेक्षाअनुसार ब्याजदर घटाउने संकेत गरेका छैनन् ।

यो निर्णय कार्यान्वयनमा आएसँगै बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पूर्ववत् अवस्थामा फर्किसकेको छ । गत बिहीबारसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । साउन मसान्तयता बैंकिङ प्रणालीमा एक खर्ब ४३ अर्ब निक्षेप थपिएको हो ।

केन्द्रीय बैंकका अनुसार हाल वाणिज्य बैंकहरूको मात्रै निक्षेप संकलन ५० खर्ब ७५ अर्ब पुगेको छ । जुन साउन मसान्तसम्ममा ४९ खर्ब ३९ अर्ब थियो । अर्थात्, यसबीच वाणिज्य बैंकहरूको मात्रै निक्षेप संकलनमा एक खर्ब ३६ अर्बले वृद्धि भएको छ ।  

 ५४ अर्बको कर्जा प्रवाह
राष्ट्र बैंकका अनुसार १ भदौदेखि ४ असोजसम्ममा (एक महिना चार दिनमा) बैंक तथा वित्तीय संस्थाबाट ५४ अर्ब कर्जा प्रवाह भएको छ । साउनमा यस्तो कर्जा प्रवाह १६ अर्बले घटेको थियो । निक्षेप बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहसमेत बढाउन थालेका हुन् । 

केन्द्रीय बैंकका अनुसार गत साउन मसान्तसम्म ४८ खर्ब ६२ अर्ब रहेको कर्जा प्रवाह ४ असोजसम्म आइपुग्दा ४९ खर्ब १६ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको मात्रै कर्जा प्रवाह ४३ खर्ब ५० अर्ब पुगेको छ । साउन मसान्तसम्ममा यस्तो कर्जा प्रवाह ४२ खर्ब ९८ अर्ब पुगेको थियो । वाणिज्य बैंकहरूले यसबीच ५२ अर्बको कर्जा विस्तार गरेका हुन् । 

ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा प्रत्युत्पादक हुन्छ
गुणाकर भट्ट, प्रवक्ता, नेपाल राष्ट्र बैंक

केही बैंकहरूले तत्कालको लाभ हेरेर ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् । तर, यसरी ब्याजदर बढाउँदै लैजाने क्रम बैंकहरूका लागि आफैँ प्रत्युत्पादक हुन्छ । यसरी निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा गरेर भोलि महँगो ब्याजमा कर्जा लगानी कसरी गर्न सकिन्छ ? त्यसबारे पनि सोच्नुपर्छ ।

ad
ad
ad
ad