१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Sunday, 11 May, 2025
२o८o असोज ८ सोमबार १२:२१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

आयुर्वेद उपचार पद्धतिमा बढ्दो आकर्षण, तर छैन जनशक्ति र उपकरण 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १२:२१:oo

आयुर्वेद उपचार पद्धतितर्फ आकर्षण बढ्दै गए पनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधिको अभाव हुने गरेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले बताएका छन्। 

लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आइतबार बुटवलमा गरेको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा सहभागी आयुर्वेद क्षेत्रका स्वास्थ्यकर्मीहरूले आयुर्वेद उपचार पद्धतिमार्फत सेवा लिनेको संख्या बढ्दै गएको बताएका हुन्। 

लुम्बिनी आयुर्वेद चिकित्सालय तथा स्थानीय तहहरूमा रहेका नागरिक आयुर्वेद केन्द्र र आयुर्वेद औषधालयहरूमा सेवा प्रदान गर्दा आइपरेका समस्या तथा आगामी दिनमा सेवा प्रभावकारी गर्न आवश्यक स्रोत–साधनबारे सहभागीले कुरा राखेका थिए। 

लुम्बिनी आयुर्वेद चिकित्सालयमा कर्मचारीदेखि विभिन्न साधन–स्रोतको समस्याका कुरा उठाइएको कार्यक्रममा स्थानीय तहहरूमा रहेका केन्द्र तथा औषधालयका स्वास्थ्यकर्मीहरूले तालिमदेखि विभिन्न अवसरमा प्रदेश तथा संघसँग समन्वयको समेत अभाव खड्किएको गुनासो राखेका थिए। 

लुम्बिनी आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक गणेश सापकोटाले आयुर्वेद उपचार पद्धतिलाई अझ प्रभावकारी बनाउन गोष्ठीमा गहन छलफल भएको बताए। हाल दिइरहेका सेवादेखि हालको अवस्थाबारे सहभागीले कुरा राखेको भन्दै उनले आगामी दिनमा सेवा प्रभावकारी बनाउन आवश्यक स्रोत–साधनबारे पनि छलफल भएको बताए। 

कार्यक्रममा नागरिक आरोग्य कार्यक्रमबारे पनि गहन छलफल भएको थियो। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव जनार्दन उपाध्यायले आमनागरिकले आयोग्य केन्द्रमार्फत स्वस्थ जीवन शैलीबारे बुझ्नु रहेकाले यस कार्यक्रमको महत्व रहेको बताए।

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई सार्थक पार्न नागरिकको सशक्त सहभागितामार्फत शारीरिक तथा मानसिक रूमा स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्नु नागरिक आयोग्य कार्यक्रमको उद्देश्य रहेको उनले बताए। 

महानिर्देशक उपाध्यायले यस कार्यक्रमलाई पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाइएको धारणा राख्दै अर्थ मन्त्रालयसँग आवश्यक बजेट माग गरिएको बताए। स्थानीयको सहकार्यमा कार्यक्रम अगाडि बढाउँदा प्रभावकारी हुने धारणा उनले राखे। उनले सेवा विस्तारका लागि स्थानीयको चासो बढ्नुपर्ने भन्दै आवश्यक सहयोगका लागि आफू लागिपर्ने धारणासमेत राखे। 

कार्यक्रममा स्वास्थ्य मन्त्रालय लुम्बिनीका महाशाखा प्रमुख डाक्टर पुष्पराज पौडेलले प्रदेश सरकार अस्पतालको सेवा विस्तारमा सकारात्मक रहेको धारणा राखे। चिकित्सालयका प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले चिकित्सालयको प्रगति विवरण प्रस्तुत गर्दै कम जनशक्तिबीच पनि सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताए। उनले जनशक्तिको अभावदेखि अस्पतालमा आवश्यक साधनबारे समेत धारणा राखेका थिए। 

लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष शिव ज्ञवालीले सेवा प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनदेखि अन्य स्रोत–साधनको व्यवस्थापनका लागि समिति लागिपर्दै आएको धारणा राखेका थिए। 

रुपन्देहीमा गत आर्थिक वर्षमा आयुर्वेद उपचार पद्धतिमार्फत ७९ हजार ९६ जनाले सेवा लिएका छन्। सेवा लिनेमा महिलाको संख्या ४५ हजार आठ सय ६१ र पुरुषको संख्या ३३ हजार दुई सय ३५ छ। 

जनशक्तिदेखि एक्सरेसम्मका लागि मन्त्रीसमक्ष माग

समीक्षा गोष्ठी जारी रहेकै अवस्थामा चिकित्सालयको निरीक्षणमा आइपुगेका प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालसमक्ष चिकित्सालयले विभिन्न समस्या राखेको छ।

चिकित्सालयका डाक्टर प्रवेश श्रीवास्तवले अस्पतालमा सेवाग्राही बढ्दो रहेको, तर जनशक्ति कम रहेको बताए। हाल दरबन्दीका ६ सहित १८ जनाबाट सेवा प्रवाह गर्दै आएको भए पनि ३९ जना आवश्यक रहेको बताए।

प्रस्तावित दरबन्दी ३९ का अतिरिक्त चिकित्सालयलाई स्टाफ नर्स, एक्सरे तथा भिडियो एक्सरे सेवाका अतिरिक्त एबुलेन्स सेवाको पनि खाँचो रहेको बताए। सरकारबाट सहयोग भएमा अस्पताललाई ५० बेडमा विस्तार गर्ने योजना रहेको चिकित्सालयले जनाएको छ। 

मन्त्रीसमक्ष विकास समितिका अध्यक्ष शिव ज्ञवालीले कर्मचारी व्यवस्थापनका लागि फाइल मन्त्रालयमा पठाइसकिएको भन्दै मन्त्रीसमक्ष कर्मचारीको समस्याबारे कुरा राखेका थिए। 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव जनार्दन उपाध्यायले देशभरिकै नमुना अस्पतालका रूपमा लुम्बिनी आयुर्वेद चिकित्सालयलाई विकास गर्न सक्दो सहयोग गर्ने बताए। मन्त्री खनालले आयुर्वेद उपचारतर्फ आकर्षण बढ्दै गएको भन्दै स्तरीय सेवा दिन लागिपर्न निर्देशन दिए।